
यो शीर्षक देख्दा सुरुमै कतिपयको मन झसङ्ग हुन पनि सक्छ । कतिपयमा थप कौतुहलता पनि ल्याउला । कतिपयको मन फुरुङ्ग पनि होला ।
म सुरुमै भन्न चाहन्छु, नेपाली कांग्रेस पार्टीमा जीवन समर्पण गरी लामो समयदेखि नेतृत्वमा रहेका शेरबहादुर देउवाको पक्ष या विपक्षमा धार खडा गर्न यो लेख लेखिएको होइन । त्यसरी लेख्नका लागि रुचिका पात्र उहाँसँग नभएका होइनन् । यहाँ मैले शब्द खर्च गरिरहनु पर्दैन ।
तर, जेनजी आन्दोलनपछि आजको अवस्था, खास गरी कांग्रेसभित्रको वर्तमान अवस्थामा देउवाको उपस्थिति र सक्रियता किन आवश्यकता छ भन्ने कुरा चाहिँ लेख्नै पर्ने भयो । पार्टी सभापति अब म हुन्न भनेर उहाँले आज भनेको होइन, जेन्जी आन्दोलन पहिले नै अबको महाधिवेशनपछि पार्टीको नेतृत्वमा बस्दिन, हस्तान्तरण गर्छु भनेर घोषणा गरेको कसैले बिर्सनु हुन्न ।
ठूला दलका शीर्ष नेताको म्युजिकल चेयर र नेतृत्व नछाड्ने प्रवृत्तिप्रतिको वितृष्णा भदौ २३ गतेको जेन्जी आन्दोलनको एउटा कारण थियो । देउवा घुनमा पिसिएका मात्र हुन् । नेतृत्व त्याग्ने घोषणा गरिसकेका देउवा र उहाँको परिवारलाई नै सुनियोजित तवरले बढी आक्रमण गरियो । त्यसको कारण, परिणाम र अबको निकासबारे पार्टीभित्र गम्भीर बहस हुनुपर्नेमा उल्टै बदख्वाइँ हुनु दु:खद हो ।
सभापति देउवा बाहेक एकथरी समकालीन नेतृत्व र अर्काथरी नेविसंघबाट पार्टीको केन्द्रीय तहमा पुगेका नेताहरू भएकाले एक आपसमा विश्वासको वातावरण नबनेको देखिन्छ। पुरानो पुस्तालाई विस्थापन गर्न खोजेको बुझाइ सिनियर टोलीमा छ भने नयाँलाई रोक्न अनेक गरिएको ठम्याइ युवाहरूलाई परेको पाइन्छ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विपी स्मृति भवनमा अहिले कार्य समिति बैठकको नाममा तमासा देखाइएको छ । विपी स्मृति भवनमा अन्तहीनरूपमा बसिरहेको कांग्रेस बैठकले देशलाई र पार्टीलाई निकास दिन सकेन,बतासे महाधिवेशनका प्रस्तावले नेतृत्व संकट देखाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै देउवाबिनाको कांग्रेस लिडरसिप क्राइसिसमा गइसकेको छ ।
नेपालमा क्रान्तिको आ आफ्नो विशेषता रहिआएको छ। नेपाल एकीकरणदेखि जेन-जीआन्दोलनसम्म सरसर्ती हेर्दा जनजागरण अभूतपूर्व र उदाहरणीय भएको पाइन्छ । आन्दोलनमा कहिले राजा त कहिले नागरिक अग्र पङ्क्तिमा रहिआएको पाइन्छ।
यसपटकको जेन्जी आन्दोलनको जग र प्रवृत्ति अलि फरक थियो । आन्दोलनभित्र जनआक्रोश लुकेको थियो । लामो समयदेखि विकास र प्रगतिको अपेक्षा गरेको नयाँ पुस्ताको उपस्थिति र अगुवाइ थियो। तीव्र गतिमा विकास, गरिबी निवारण, निःशुल्क उपचार, उच्च शिक्षा अनि रोजगारीको आशामा बसेको यो पुस्ताले मौलाउँदो भ्रष्टाचार र विभेदको अनुभूति गरिरहेको थियो।
०००
नेतृत्व र नागरिकबीचको विभेद यति बढिसकेको थियो कि राजतन्त्रदेखि जुन दल आए पनि सुखानुभूति भएको थिएन । अवसर जति सत्ताधारीका लागि, दु:ख जति भुइँमान्छेका छोराछोरीलाई भन्ने जस्तो व्यवहार उनीहरूलाई लाग्थ्यो। सक्ने जति अमेरिका, बेलायत, जापान, युरोप, अस्ट्रेलिया नसक्ने भारतको दिल्ली, बम्बई अनि काला पहाड जानु नै किस्मतमा लेखेको ठान्थ्यो नयाँ पुस्ताले ।
प्रजातन्त्र पुनर्स्थापना पश्चात् यो ३०, ३५ वर्षमा दल , राजा र माओवादीका नौरङ्गी शासन नव युवा पुस्ताले देखे, सुने । व्यवस्था परिवर्तनपछि पनि अवस्था जस्ताको तस्तै हुँदा उनीहरूको मन भइरङ्गिएको चाल हामीले त पाएका थियौँ तर शासन सत्तावालाले नपाएको पक्कै हो ।
झन् ठूलो दलको आड भरोसा पाएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाउने त कुरै भएन। निकै सुझबुझ राख्ने भनी दरिएका ओली पनि ५ या ७ जनाको सीमित घेराबाट माथि उठ्न सकेनन् । एमालेमाथि चौतर्फी आक्रमण हुँदा त्यति बेला घेराबन्दी गर्ने प्रमुख भूमिका पाएकाहरू अहिले गुण्डुतिर खासै देखिन्नन् ।
एउटा महाधिवेशन ४ वटा मिति । यो रमिता बन्द गर्न पनि देउवा चाँडै स्वदेश फर्केर विशेष पहलकदमी गर्नु जरुरी देखिन्छ । यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसलाई त निकास दिने नै छ । कांग्रेसले के निकास दिन्छ भनेर नियालिरहेको राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिलाई समेत नेपाल लोकतान्त्रिक पद्धतिबाट विचलित नहुने विश्वस्त तुल्याउनेछ ।
देउवाको दह्रो साथ पाएका ओली सत्ता नढल्ने ग्यारेन्टी भएपछि जोसुकैले घेरुन्, जस्तो सुकै ब्रिफिङ गरुन्, खोतल्नतिर लागेनन् । यता कांग्रेस सभापति देउवा भने ओलीले वचन पुरा गर्छन् भने हलचल नगरी ढुक्कले बसेको पक्कै हो । त्यसो हुँदा जनताको आशा र सरकारको काम गराइमा तादाम्यता मिल्यो मिलेन भन्ने नखोजिएकै हो ।
बरु, नुवाकोट, काभ्रे, धादिङ नजिकका जिल्लामा हुने कार्यक्रममा जान नेताहरूले हेलिकप्टर प्रयोग गरेको देखेका जेन-जीले आमा र दिदी सुत्केरी हुन नसकेर छटपटिएको बेला डोको र स्ट्रेचरमा बोकेर बिच बाटोमै मृत्यु भएको पनि सम्झे होलान् भदौ २३ गते दिउँसो सम्म।
त्यसपछि आन्दोलनमा सधैँ लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा हान्ने सुरक्षा निकाय एकै पटक गोली प्रहारमा ओर्लियो । कसले दियो आदेश कसैलाई थाह छैन। मास्क लगाएर को आए? आफ्नो देश माग्दै को आए ? अनि जोसँग जे माग्ने हो, सडकबाट त्यही मागे । १९ जना बच्चा सहिद भए, सबैलाई रुवाएर गए ।
जेन्जीको आवरणमा को को सहभागी भएका रहेछन् भन्ने पनि दिन प्रतिदिन खुल्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाएर फाल्ने स्वदेशी तथा विदेशी शक्ति, राजतन्त्र चाहने , गणतन्त्र नचाहने, सत्ता नभए बाच्नै नसक्ने माओवादी, बैंकको ब्याज तिर्न नचाहने, उद्योग कलकारखाना र व्यवसाय गरेको देखि नसहनेहरूदेखि पार्टीका मुख्य पदमा पुग्न आशक्ति राख्ने सम्मको सम्मिश्रण देखिन्छ।
०००
भ्रस्टाचारविरुद्ध, नेपो किड र सामाजिक सञ्जाल प्रतिबन्धसहितको माग लिएर देशभरि भएको प्रदर्शन हिसांत्मक नहुने बताइएको थियो । तर, २३ भाद्रमा भएको गोलाबारीले २४ गते को दिनलाई हिसांत्मक बनाइदिएको थियो।
राष्ट्रिय महत्वका संरचना, निजी निवास, सरकारी भवन र उद्योग कलकारखानाहरू जलेर खरानी भए । यी सब के का लागि ? के नयाँ पुस्ताको उद्देश्य यही थियो ?
थिएन, किनकि ती आन्दोलनमा हाम्रो छोराछोरीहरू पनि त्यहीँ थिए। प्रधानमन्त्री ओली हटे, देश शून्यमा पुग्यो । देशकै पुरानो र लोकतान्त्रिक पार्टी सभापति देउवा परिवारसहित कुटिए पिटिएको समाचार चारैतिर फैलियो। नेपाली सेनाको संयोजनमा राष्ट्रपति रामचन्द्र पौडेलले जे जसरी भए पनि स्थिति सम्हालेको देखिन्छ।
अब कांग्रेस र यस पार्टीका नेताहरूतिरै लागौँ ।
पार्टीको तर्फबाट रक्ताम्मे भएका सभापतिको सोधखोज त भएन नै, सहानूभुति, स्वास्थ्य लाभको कामना र घटनाको विरोध समेत कतै भएन। आखिर किन ? के पार्टीमा सचिवालय, कार्य सम्पादन र सिंगो केन्द्रीय समिति थिएन र ? पार्टीको नेतृत्व
आक्रमणमा पर्दा बचाउनु, उपचार गराउनु, विरोध गर्नु त कता हो कता उल्टै असफल नेतृत्व भन्दै राजीनामा माग्न हतारिएको देखियो । समग्र पार्टी र कार्यकर्ताको भावनाविपरीत विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चालियो।
जेनजी देखाएर नेतृत्व परिवर्तनको माग गरियो। नियमित महाधिवेशनको तयारीमा रहेका सभापति देउवा सो घटनापछि प्राथमिक उपचार लगतै सभापतिको पद त्याग गरेका छन् । नयाँ पुस्ताले पार्टीमा स्थान पाउन् भन्ने उद्देश्यले उप सभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिई महाधिवेशन सम्पन्न गर्नु भनेका छन्। यसलाई पनि सकारात्मक नदेख्ने र नेतृत्व छाड्न नखोजेको व्याख्या समेत हुनु लाजमर्दो हो ।
०००
आन्दोलनका ती दुई दिन त सबै एक से एक क्रान्तिकारी। जो भेट्यो ऊ बाहेक जान्ने सुन्ने कोही पनि छैन। त्यसमाथि नेपाली कांग्रेसका नेता र कार्यकर्ता त झनै सिपालु।
जेनजीले बल्ल बुझे हाम्रो पार्टीको समस्याको मूल चूरो भनेर चिया चर्चामा जुटे । सभापति दम्पती कुटिएर सुरक्षा फौजको घेरासहित उपचारका लागि सेनाको अस्पतालमा भर्ना गरिए।
देशमा त्यो दिन देखि आजसम्म एउटै भाष्य निर्माण गर्ने काममा सेनामेना खटाइएको छ, हाल उपचारका लागि सिंगापुरमा रहेका सभापति देउवाले देश बिगारे, उनी पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति नभएको भए देश कहाँ पुग्थ्यो कहाँ । जस्तो कि पूर्व पश्चिम रेल , पानी जहाज , खाडी मुलुक जानै पर्दैन थियो , उहिले नै अमेरिका बेलायत यही हुने थियो।
जे-जे नहुनुपर्ने थियो सभापति देउवा भएरै भएको हो जस्तो व्यवहार प्रचार गरियो तर त्यसको लागि खटाउनेहरूले के बिर्सिए भने देउवा आफ्नो पार्टीका सभापति हुन् । महाधिवेशन गर्ने म्यान्डेट सहित कार्यवाहक सभापति उपसभापति खड्कालाई बुझाएर औषधोपचारका लागि सिंगापुर गएका देउवा नहुँदा केके भयो त ?
समयमा बैठक सकियो कि ? महाधिवेशनको मिति तोकियो कि ? पार्टी र देश ट्र्याकमा आयो ? के के भयो भनेर कसैले न केही शब्द लेखे या पार्टी कार्यक्रममा बोलियो ?
कांग्रेसको बैठक सबैले हेरिरहेका छन्। किन सकिँदैन त बैठक ? किनकि पार्टीमा मूल नेतृत्वको अभाव देखियो। सभापति देउवा बाहेक एकथरी समकालीन नेतृत्व र अर्काथरी नेविसंघबाट पार्टीको केन्द्रीय तहमा पुगेका नेताहरू भएकाले एक आपसमा विश्वासको वातावरण नबनेको देखिन्छ। पुरानो पुस्तालाई विस्थापन गर्न खोजेको बुझाइ सिनियर टोलीमा छ भने नयाँलाई रोक्न अनेक गरिएको ठम्याइ युवाहरूलाई परेको पाइन्छ।
जे होस् काठमाडौंमा चलेको यो रमिताको बाछिटा त गाउँतिर पनि पुगेको छ। धान काट्दै र दाइँ हाल्ने समयमा छलफल पनि सँगै चलेको छ कांग्रेसजनमा ।
न महाधिवेशन, न विशेष महाधिवेशन, न चुनावको तयारी केही पनि नयाँपन वा खबर दिन नसक्नेबाट के आशा गर्नु ? दसैँ, तिहार र छठका सन्देश यिनै हुन् बाँके र बर्दिया जस्ता नयाँ मुलुकको देहातमा । हस्ताक्षर गराउन र रोक्न दुवै थरी गाँउ गाँउमा पुगेका छन् । उनीहरूको कुरा कसैले सुन्दैनन् तैपनि दौड चलेको छ।
सुरक्षा निकाय एकै पटक गोली प्रहारमा ओर्लियो । कसले दियो आदेश कसैलाई थाह छैन। मास्क लगाएर को आए? आफ्नो देश माग्दै को आए ? अनि जोसँग जे माग्ने हो, सडकबाट त्यही मागे । १९ जना बच्चा सहिद भए, सबैलाई रुवाएर गए ।
पार्टीको १५ औ महाधिवेशनको चटारो छाडेर औषधी उपचार गर्न सभापति देउवा विदेश हिँडेको पनि केही कार्यकर्ताले रुचाएका रहेनछन् । बरु चाँडै आएर महाधिवेशन गराएर पार्टीलाई एकजुट बनाएर छोड्नु पर्ने आवाज उठिरहेको छ। नयाँ नेतृत्वमा देउवाले चाहेकोले मात्र जित्ने कुरा सबै कांग्रेसजनलाई थाहै छ ।
मानौँ, पूर्णबहादुर खड्कालाई नै सभापति बनाएर नेतृत्व हस्तान्तरण गर्ने हो भने खाँचो देउवाकै हुन्छ । देउवाको चाहनाबाहिरको नेतृत्व फेरी पनि कार्यकर्ताहरूले कल्पना गरेको देखिएन ।
एउटा महाधिवेशन ४ वटा मिति । यो रमिता बन्द गर्न पनि देउवा चाँडै स्वदेश फर्केर विशेष पहलकदमी गर्नु जरुरी देखिन्छ । यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसलाई त निकास दिने नै छ । कांग्रेसले के निकास दिन्छ भनेर नियालिरहेको राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिलाई समेत नेपाल लोकतान्त्रिक पद्धतिबाट विचलित नहुने विश्वस्त तुल्याउनेछ ।
देउवा आफैँ कुनै पदमा नबसे पनि उनको यो भूमिकाले जेन्जीको आन्दोलन लगत्तै स्वत:स्फुर्त नेतृत्व परिवर्तन हुनेछ । देउवाले चालेको कदमले व्यक्तिगत रूपमा प्रशंसा त पाउनु नै हुनेछ । साथै फेरि एक पटक देशले विकास र शान्तिको मार्ग पहिल्याउनेछ । जुन नेपालीजनले सदा सदा सम्झिने छन्।
(सिग्देल नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष एवं अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) का एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य हुन्)

Leave a Reply