
काठमाडौँ । यतिबेला सिने नगरीभित्र ‘भ्यानिटी भ्यान’ को चर्चा छ । एक नायिकाले सरकारसित महिला चलचित्रकर्मीका लागि भ्यानिटी भ्यानको माग गरेपछि उनी ट्रोल र आलोचनाको शिकार बनिरहेकी छन् ।
हालै चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डीसीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट नेपाली चलचित्र उद्योगका समस्या, अवसर र सुधारका उपायबारे छलफल गर्न केही कलाकारलाई निमन्त्रणा गरेका थिए, जहाँ अभिनेत्री निती शाह पनि उपस्थित थिइन् । छलफलमा उपस्थित उनी एक्ली महिला कलाकार थिइन् ।
सञ्चारमन्त्रीको अगाडि उपस्थित सबैले विभिन्न समस्या राखिरहँदा नितीले पनि यो क्षेत्रमा महिला कलाकारले छायांकनका क्रममा भोग्ने कठिनाइबारे बोलिन् । उनले महिला कलाकारलाई लुगा फेर्नेदेखि शौचालयका कुराहरुमा गाह्रो हुने संवेदनशील विषय उजागर गरिन् । सम्भव भए सरकारका तर्फबाट भ्यानिटी भ्यान ल्याउन वा आधारभूत सुविधाका लागि सहयोग गर्न उनको सुझाव थियो ।
यही विषय समाचार बनेर आउँदा नीतिले नचाहिँदो अत्यधिक नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्यो । अरु त अरु, एक चर्चित महिला कलाकारले नै नीतिको उछितो काढ्न खोजिन् । उनी हुन् गायिका ज्योती मगर ।
मगरले सामाजिक सञ्जालमा लेखिन्, ‘आम नेपालीले सिटामोल र आम नेपालीका बालबालिकाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हिरोइनलाई सुसु गर्न सजिलो हुने भ्यानिटी भ्यान चाहिएको छ ।’
उनको यो स्टाटसपछि भ्यानिटी भ्यान प्रकरणले थप चर्चा पायो । सामाजिक सञ्जालमा अहिले पनि यस विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कतिले ज्योती मगरको व्यङ्ग्यलाई समर्थन गरिरहेका छन् कतिले निती शाहको कुरा जायज मानिरहेका छन् ।
एकाएक आएको यो विवादले छक्क परेकी छिन् निती । यति कुरा बोल्दा यस्तो बबण्डर होला भन्ने उनलाई कल्पनै थिएन ।
उनी भन्छिन्, ‘खासमा त्यस्तो ठूलो कुरा केही थिएन । मैले त हाम्रो मन्त्रीज्यूको अगाडि मेरो सानो अनुभव मात्र शेयर गरेकी थिएँ । त्यही क्रममा मिल्छ वा व्यवस्था गर्न सकिन्छ भने केही गरौँ भनेर कुरा मात्र उठाएकी थिएँ । तर यत्रो ठूलो विवाद भयो ।’
विकट ठाउँमा छायांकन गर्न जाँदा महिला कलाकारहरुलाई समस्या हुने भएका कारण आफूले सो विषय उठाएको नितीको भनाइ छ ।
आफ्नो भनाइमा ज्योतीले दिएको प्रतिक्रियाबारे निती भन्छिन्, ‘उहाँलाई म केही भन्दिनँ । उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको हो । त्यो उहाँको अधिकारको कुरा हो ।’
अहिले नितीले उठाएको भ्यानिटी भ्यानको विषयलाई लिएर सामाजिक सञ्जालमा उनको खुबै ट्रोल भइरहेको छ । उनको तस्बिरहरु जोडेर ‘मिम्स’ बनिरहेका छन् ।
यसबारे नितीले भनिन्, ‘म खासमा बोल्दिन थिएँ । म हरेक कुरामा बोल्ने मान्छे पनि हैन । मलाई कुनै प्रेसर पनि छैन । तर जुन हिसाबले अहिले मेरो तस्बिरहरु प्रयोग गरेर ट्रोल गरिरहनुभएको छ र ममाथि जुन प्रकारका प्रश्नहरु उठाइरहनुभएको छ, त्यो देखेपछि चाहिँ म स्पष्टीकरण दिन बाध्य भएँ ।’
‘किन मन्त्रीको अगाडि त्यो कुरा उठाएको, भन्नुहुन्छ । हामी त्यहाँ गएकै कलाकारहरुको समस्या राख्न र यो क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने कुरामा सल्लाह गर्न हो । सबैले क्यामरा, ड्रोनदेखि लिएर आ–आफ्नो कुरा राख्दा मैले पनि महिला कलाकारले भोग्ने समस्या राखेको हो । जहाँ जे कुरा गर्न बोलाएको हो, त्यहाँ त्यही कुरा गर्ने होइन र ?’ नितीले जोडिन् ।
एउटा हेडलाइनको भरमा आफू ट्रोल भएको नितीको गुनासो छ ।
‘भिडियो हेर्नुभएको भए कुरा प्रष्ट हुन्थ्यो । तर हेडलाइनको भरमा ट्रोल गर्न थाल्नुभयो । मैले भ्यान जसरी पनि चाहिन्छ भनेको पनि थिइनँ । सम्भव भए केही गर्न सकिन्छ कि भनेको हो,’ उनले भनिन्, ‘म त्यति अबुझ पनि छैन । एउटा भ्यानिटी भ्यानमा कति खर्च हुन्छ भन्ने मलाई थाहा छ । न त मैले सरकारले सबै गर्नुपर्छ भनेकी थिएँ । मिलेर केही गर्न सकिन्छ कि भन्ने भनाइ राख्दा, कुरालाई बङ्ग्याएर कहाँ पुर्याइदिनुभयो ।’
आफूलाई ट्रोल गर्ने प्राय पुरुषहरु भएको उनको बुझाइ छ ।
‘मेरो तस्बिरहरु जता पनि जोडेर, जे पायो त्यही लेखिरहनु भएको छ । म हेरिरहेकी छु, मलाई ट्रोल गर्ने प्राय पुरुषहरु हुनुहुन्छ । उहाँहरुले हाम्रो व्यथा बुझ्नुहुन्न,’ नितीले सुनाइन् ।
छायांकनका लागि दुर्गम स्थानमा जाँदा महिलाहरुलाई महिनावारीको बेलादेखि लिएर सामान्य कपडा परिवर्तन गर्न समेत गाह्रो हुने नितीको अनुभव छ ।
उनी भन्छिन्, ‘मैले मेरो लागि मात्र नभएर, सबै महिला कलाकारदेखि पर्दा पछाडि काम गर्नुहुने अन्य महिलाहरुलाई मध्यनजर गरेर भनेकी थिएँ । गाडीको पछाडि वा अन्य कपडाले छेक्न लगाएर पिसाब गर्नुपर्ने अवस्था आउँछ । भ्यान पनि चाहिएन । त्यस्तो ठाउँमा जाँदा प्रोडक्सन हाउसले साधारण टेन्ट भए पनि व्यवस्था गरेर लानुपर्छ भनेकी थिएँ ।’
भ्यानिटी भ्यानमात्र हो त अहिले महिलाको मूल आवश्यकता ? भन्ने धेरैको प्रश्नको जवाफ दिँदै निती भन्छिन्, ‘समस्या छन् अरु पनि । तर अरु कुराहरुमा सुधार हुँदैछ नि । महिलाहरुले पाउने पारिश्रमिकमा सुधार भएको छ । एक्स्पोजर राम्रो भएको छ । धेरै ठाउँमा महिलालाई प्राथमिकता दिइएको छ । त्यही भएर यो कुरा उठाएकी थिएँ । सकिन्छ भने सरकारले व्यवस्था गरेर भाडामा दिऊँ, नत्र ट्याक्स फ्री गरौं वा केही सकिँदैन भने प्रोडक्सन हाउसले टेन्टको व्यवस्था गरौँ भनेको हो ।’
‘एउटा सामान्य टेन्ट लिएर जान पनि प्रोडक्सन हाउस हिच्किचाउँछन् । टेन्ट नै लगे पनि हामी महिलाहरुलाई धेरै सजिलो हुन्थ्यो । यति त भनेको हो मैले । यो त आधारभूत विषय नै हो,’ नितीले भनिन् ।

Leave a Reply