झापामा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्ने थप तीन जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या सात पुग्यो

विराटनगर । जेनजी आन्दोलनका क्रममा व्यक्ति र प्रहरीको सम्पत्ति तोडफोड, आगजनी र प्रहरी पोसाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिर्तामोड–५ का २० वर्षीय राजन चौधरी र १६ वर्षीय आयुष धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूले इलाका प्रहरी कार्यालयमा कार्यरत मीनबहादुर सुनुवारको निजी मोटरसाइकल तोडफोड गरेका थिए । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

त्यस्तै, दमकमा पनि एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले २० वर्षीय साजन लाबुहाङलाई पक्राउ गरेको छ ।

उनीमाथि भदौ २४ गतेको जेनेजी आन्दोलनका क्रममा प्रहरी पोसाक निकालेर दुरुपयोग गरेको आरोप छ । उनलाई पनि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरीले बिर्तामोडबाट जेनेजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयमा ढुंगामुढा, आगजनी र कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–६ बस्ने २२ वर्षीय पदम राई, उनकी २४ वर्षीय पत्नी पूजा मगर, बिर्तामोड–५ का २६ वर्षीय नवराज राई तथा अर्का एक व्यक्ति छन् । अनुसन्धान जारी रहेकाले चौथो व्यक्तिको नाम हाल सार्वजनिक गरिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *