‘जेरी अन टप’ : फरक-फरक कथा 

यो प्रेमको कथा हो

भावनाको कथा हो

जिम्मेवारी र कर्तव्यको कथा हो

हार र जितको कथा हो

र सबैभन्दा फरक त माया र प्रेम छुट्याउन प्रेरित गर्ने प्रेरणादायी कथा हो ।

कहीँ प्रेमालाप, कहीँ हाँसो, कहीँ बहादुरी त कतै जिम्मेवारीका वार्तालापले मन बहकिन्छ, प्रफुल्ल हुन्छ । नानीहरूदेखि वृद्ध वृद्धासम्मले सङ्गै हेर्न मिल्ने फिल्म `जेरी अन टप´ हेरिसकेपछि मलाई पनि लागिराछ, `कास म पनि शेर्पाको छोरी भइदिएको भए…. । र यो पनि आँट आइरा´छ कि, `यो वाक्क दिक्कको दैनिकीबाट रिलिफ हुन झोलिझम्टी टिपेर माउन्ट एभरेस्टको यात्रामा लागौँ । तर फिल्मको हिरो जेरी जस्तो कसैसँग जित्न हैन, कसैलाई हराउन पनि हैन ।

बस मनको कुण्ठा पखाल्न,  प्रकृतिको मजा लुट्न र आफूभित्रको विवेकसहितको बहादुरी तौलन । फिल्मको सुरुवातीको जेरी भन्दा त जाँगर र डेडिकेसन पनि अलि बढी नै छ । स्वास्थ्यले साथ दिए बचपनमा मेवाको रुखको टुप्पोमा पुगेर मच्चिने मान्छे सगरमाथामाको चुचुरोमा पुग्न कसो नसकिएला र ! हो यस्तै हिम्मत र जोस पलाएको छ ।

फिल्मका मुख्य पात्र श्रीया, पेमा र जेरीको त्रिकोणात्मक प्रेमले चाहिँ कसैसँगको निकटता प्रेम हो कि आकर्षक, समयमै छुट्याउन सक्नु पर्छ भन्ने महसुस गरायो । नत्र भने  जेरीको प्रेममा विलीन श्रीयाले आफ्नै प्रेमी जेरीले परस्त्रीसँग चुम्बन गर्दै गरेको दृश्य आफ्नै आँखाले देखेपछि भएको पीडा, छटपटी र उकुसमुकुस व्यहोर्नुपर्ने हुन्छ ।

`कोही मायामा यति धेरै अन्धो पनि नहोस् कि, उसको सपना पूरा गर्न आफ्नो सपना बेचोस्´ फिल्मका प्रमुख पात्र जेरीका मामाले श्रीयालाई सान्त्वना दिँदै भनेको यो लाइनले प्रेम गर्नेहरूको हृदय छुन सक्छ । माया मात्रै गर्नेहरूको लागि जीवनमा कोही आउन सक्छ, जान सक्छ मतलब नहुँदो हो । तर जसलाई प्रेम गरिन्छ, उसको खुसीका लागि, उसका सपनालाई जीवित राख्नका लागि एउटा सच्चा प्रेमीले कुनै कसर बाँकी राख्दैन भन्ने कुरा श्रीयाले चुपचाप प्रमाणित गर्छिन् ।  उनले आफ्नो एप नै बेचेर जेरीलाई माउन्ट एभरेस्ट चढ्ने पैसाको जोहो गर्छिन् । र आफ्ना सपनालाई तिलाञ्जली दिएर प्रेमीको खुसीमा लय मिलाउँछिन्  ।

एउटा गाइड पेमासँगको निकटताले पग्लिएको जेरीबाट कहिलेकाहीँ मित्रतालाई प्रेम बुझ्दा पनि सम्बन्धहरूमा समस्या हुँदो रहेछ भन्ने प्रमाणित हुन्छ । यद्यपि जेरीका मामा भए पनि निकटका दोस्त मामाले `आफूले माया गर्ने मान्छे हैन, आफूलाई माया गर्ने चाहिन्छ । र तिम्रा लागि श्रीया नै उपयुक्त मान्छे हो´ भन्दै जेरीलाई श्रीयाको प्रेम बुझाइदिन्छन् । मामाको त्यो भूमिका कसैसँगको सम्बन्धको महत्त्व बुझ्न नसकेका मान्छेहरूलाई आफ्नो सम्बन्ध महसुस गराउने खालको छ ।

जेरी अब अरु कसैलाई मन पराउन थालिसकेको थाहा पाएपछि माफी माग्न बोलाइएको ठाउँमा उनकी पहिलो प्रेमिका श्रीयाले गहभरी आँसु पार्दै `म कहाँ चुके जेरी, मैले के गल्ती गरेँ ?´ भन्दै गरेको वार्तालापले प्रेममा असफलहरुका आँखा रसाइदिन्छन् । आफू सही हुँदाहुँदै पनि कसैको सच्चा प्रेम बन्न नसकेकाहरूलाई फेरि एक पटक भावुक बन्न बाध्य बनाउँछ, यो संवादले । आफ्नो प्राथमिकतामा भएको व्यक्तिको पहिलो प्राथमिकतामा आफू नपर्दाको पीडा श्रीयाले बताइरहँदा हल स्तब्ध हुन्छ ।

उद्देश्य होस् कि सपना, जिम्मेवारी होस् कि कर्तव्य यदी त्यसको गाइड प्रेमी छ भने जुनसुकै अवस्थामा पनि पूरा हुन्छ भन्ने उदाहरण पेमा हुन् । पेमा गाइड नहुँदी हुन्, जेरीलाई मनैदेखी माया गर्ने प्रेमिका नहुँदी हुन् त के जेरीले माउन्ट एभरेस्टमा पुन सक्थे होलान् ? त्यसको जवाफ पाउन तपाईँ आफै हलमा पुग्न पर्छ ।

जेरी एभरेस्टको उकालोतिर लाग्छन् । यता श्रीया जेरीको मामासङ्ग बर्बरी आँसु झार्दै जेरीको खुसीको लागि सम्बन्धको डोरी चुँडाल्नु परे पनि तयार छु भन्दै पोखिन्छिन् । उता यात्रामा रहेको टोलीको सगरमाथाको चुचुरोमा पुर्‍याउने डोरी चुँडिन्छ र हिम पहिरोले निकै तल पुर्‍याइदिन्छ । त्यो कठिन परिस्थितिमा पनि आफूलाई जोखिममा राख्दै गाइड पेमाले मजासँग परिस्थिति काबुभन्दा बाहिर जान दिन्नन् । त्यही बेला जेरीले आफ्नो बुबालाई सम्झन्छ । छोरालाई जीवन सिकाउन हरेक प्रतिस्पर्धामा हराउने बुबाको अनुहार सम्झेर भन्छ, `म त केही गर्न नसक्ने रहेछु बुबा ।´ तर उसले आफूमा आत्मबल भर्छ र टीम सबै ओरालो लाग्दा पनि चुचुरोमा नचढी नझर्ने कमिट्मेन्ट गर्छ । अन्ततः जेरीले सगरमाथाको चुचुरो चुम्छ, `आई एम टप अफ द वर्ल्ड´ भन्दै चिच्याउँछ ।

माया साथमा हुँदा संसार जित्न सकिने रहेछ भन्ने उदाहरण पनि हो यो फिल्म । यदि पेमाले कठोर शब्दमा जेरीलाई  प्रेमिल तरिकाले हिर्काउँथिनन् र सगरमाथा चुम्ने सपनाको हत्या नगर्न उकास्थिनन् भने जेरीले हैन, जेरीको अल्छीले चाहिँ पक्कै जित्थ्यो । र अन्ततः यो प्रतिस्पर्धामा पनि जेरी फेरि फेल हुन्थे ।

फिल्मको मर्माहत दृश्य चाहिँ फर्किँदै गर्दा पेमाको नाजुक स्वास्थ्य अवस्था हो । एउटा फेलर, अल्छी, अटेरी केटोलाई सफल आरोही बनाउन सफल गाइड पेमाको अवस्थाले दर्शकलाई स्तब्ध बनाउँछ । उनी ओर्लन सक्छिन् कि सक्दिनन्, जेरी उनलाई छोडेर जालान् कि सङ्गै लैजालान्, उनी बाँच्छिन् कि बाच्दिनन् भन्ने कुतूहल हुन्छ । अक्सिजन अभावमा गल्दै गएकी पेमा फर्केर आउने सम्भावना नभएको भन्दै आधार शिविरबाट `तिमी जसरी पनि बाचेर आऊ´भन्दै बारम्बार कल गर्ने श्रीयाको कुरा जेरी मान्दैनन् ।

आफ्नो प्रेरणा पेमालाई पनि सफल तरिकाले गाइड गर्दै तल ओराल्ने जेरीका अनेक प्रयास असफल हुन्छन् ।

पेमाले `तिमी मेरो जीवनको महत्त्वपूर्ण मान्छे हो । यो राख´ भन्दै १५ वर्ष अघि हिमालमै ज्यान गुमाएका आफ्ना बुबाले दिएको लकेट जेरीको हातमा थमाउँदै `मलाई दुई मिनेट रेस्ट गर्न देऊ है´ भन्छिन् । र जेरीको अङ्गालोमा जीवनको अन्तिम सास फेर्छिन् । जेरीलाई जीवनले फेरि धोका दिन्छ । उनी पेमालाई त्यहीँ छोडेर तल झर्न विवश हुन्छन् ।

बुबालाई हराउन सगरमाथा पुगेको जेरी काठमाडौं विमानस्थलमा पुग्दा परिवारसहित एयरपोर्ट पुगेका जेरीका बुबा प्रश्नसँगै खुसी व्यक्त गर्छन्, `तँलाई थाहा छ, एउटा बाउ कति बेला सबैभन्दा धेरै खुसी हुन्छ, आफ्नो छोरासँग हारेर । आज म तँसँग एकदम धेरै खुसी छु´ भन्दै आफूलाई हराउने  छोरालाई अङ्गालोमा बेर्छन् ।

जेरीले आफूलाई प्रेम गर्ने श्रीयासँग विवाह गर्छन् कि गर्दैनन् र आफूले प्रेम गरेकी गाइड पेमाको निधनपछि के गर्छन् ? यी प्रश्नको उत्तर पाउन चाहिँ तपाईँहरू पनि फिल्म हल पुग्नुस् है ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *