आक्रामक सिआईबी: दरबारमार्गपछि गोकर्णमा नजर, प्रमाण पुगे आजै पक्राउको तयारी

काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको जमिन अनियमित तवरले लिज (भाडा) मा दिइएको आरोपमा शनिबार पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) उक्त प्रकरणसहित अन्य अनियमिततामाथि गहिरो अनुसन्धानमा जुटेको छ ।

शनिबार पक्राउ परेका पूर्वसहसचिव कार्कीलाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका निम्ति लगिने भएको छ । उक्त जमिनको लिज प्रकरणको निर्णय प्रक्रियासँग सम्बन्धित अन्य व्यक्ति माथि सोधपुछ र अनुसन्धानको कार्य आजैबाट शुरू हुने सिआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले बताए ।

त्यसबाहेक अनियमित तवरले अन्य सरकारी जमिन लिजमा दिइएकोबारे विगतमै प्राप्त उजुरी एवं जाहेरीलाई तामेलीमा राखिएको पाइएको कारण ती प्रकरणमाथि पनि अनुसन्धान चलिरहेको उनले बताए । त्यसमध्ये गोकर्ण भिलेज रिसोर्ट सञ्चालनका निम्ति अनियमित ढंगले गरिएको सम्झौताका विषय सिआईबीले गम्भीर अनुसन्धान गरिरहेको उनले बताए ।

‘कुरा आइरहेको छ, प्रमाण पुग्यो भने आजै मानिस पक्राउ गर्छौं’, उनले भने । यद्यपि दरबारमार्ग जग्गा प्रकरणसँग सम्बन्धित प्रमाण संकलन तथा अन्य निर्णयकर्ता पहिचानको काम भने आजैदेखि शुरू हुने उनले बताए ।  सिआईबीमा दर्ज भएका र विभिन्न कारणले रोकिएका अनुसन्धानका कामलाई तीव्रता दिइएको उनले बताए । ‘पहिला के, कति कारण भएन, थाहा छैन, तर अब सम्पूर्ण अनुसन्धानलाई हामी फर्स्यौट गर्दै लैजान्छौं’, डा. केसीले भने ।

डा. केसीले एसएसपी दर्जमा हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूवाती अनुसन्धान गरेका थिए । त्यसबेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए । उक्त अनुसन्धानका क्रममा उच्चपदस्थ व्यक्ति कारवाहीको दायरामा आउने भएपछि उनको सरुवा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *