
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले २५ दिनमै राजीनामा दिनु परेपछि विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक असन्तुष्टिले सरकार ढलेको प्रतिक्रिया दिएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारमा सहभागी दलहरुबीच देखिएको विवाद मिल्न नसक्दा सरकार ढलेको बताए । उनले आफूहरु सरकारले विश्वासको मत पाउँछ भन्नेमा विश्वस्त रहेको तर सरकार ढलेको बताए । उनले भने, ‘आफ्नै कारणले ढलेको हो, संसदीय प्रक्रिया अवलम्बन गर्नु पर्छ, जुन दल भए पनि हारजित स्वभाविक हो । आफ्नो बन्दा संघीयताको रक्षा हुने र हट्दा संघीयता जाने कुरा उचित होइन ।’ उनले आफूहरु पनि सरकारमा सहभागी भएको तर विपक्षमा बस्ने अवस्था आउँदा विपक्षमा बसेको बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रजातान्त्रिक पदति अवलम्बन गरेको पार्टी भएको बताउँदै सरकारमा सहभागी दलहरु नै अन्तद्र्वन्द्वमा फसेका कारण यस्तो अवस्था आएको बताए । उनले आफूहरु सरकारको विपक्षमा बस्ने निर्णय गरेको र यो स्वाभाविक रहेको बताए ।

Leave a Reply