
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर–११ स्थित हिरासतमा एक युवकको मृत्यु भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
शुक्रवार बिहान हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन र प्रतिवेदन पेस गर्नका लागि प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार समिति गठन गरिएको हो ।
समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत हितप्रसाद पौडेल, सदस्यमा वीरेन्द्रनगर–११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका प्रतिनिधि यमितराज ढकाल, राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशका सचिव मालती बिक तथा मृतकका तर्फबाट गीता सुनार रहेका छन् ।
प्रशासनका अनुसार समितिलाई घटनाको वस्तुगत अध्ययन, साक्षात्कार र प्रमाण सङ्कलन गरी सत्यतथ्य प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । उक्त मृत्यु प्रकरणले स्थानीयस्तरमा चासो उत्पन्न गरेको छ । प्रशासनले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply