बिहार निर्वाचन : राहुल गान्धीको आरोप- दिल्लीमा मतदान गर्ने केही भाजपा नेताले बिहारमा पनि भोट हाले

काठमाडौं । बिहारमा जारी विधान सभाको दोस्रो चरणको चुनाव अघि कांग्रेस नेता राहुल गान्धीले बिहारको बांका र भागलपुरका चुनावी सभाहरूलाई सम्बोधन गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) माथि आलोचना गर्दै राहुलले दिल्लीमा मतदान गर्ने केही भाजपा नेताहरूले बिहार चुनावको पहिलो चरणमा पनि मतदान गरेको आरोप लगाएका छन् ।

‘मलाई हिजो थाहा भयो, दिल्लीमा मतदान गर्ने भाजपा नेताहरूले बिहार चुनावको पहिलो चरणमा पनि मतदान गरेका छन् ।’ लोकसभाका विपक्षी नेता गान्धीले भागलपुरको र्‍यालीमा भने,’केही भाजपा नेताहरू छन् जो उत्तर प्रदेशमा बस्छन्, यूपीमा मतदान गर्छन्, र चुनावको समयमा उही मानिसहरूले हरियाणामा मतदान गर्छन् ।’

आम आदमी पार्टीले बिहीबार राज्यसभा सांसद राकेश सिन्हा र दिल्ली भाजपाका पूर्वाञ्चल मोर्चाका अध्यक्ष सन्तोष ओझा लगायतका भाजपा नेताहरूले फेब्रुअरीमा दिल्लीमा मतदान गरेका थिए र नोभेम्बर ६ मा बिहारमा पनि मतदान गरेको दाबी गरेपछि यो कुरा आएको हो । सिन्हा र ओझा दुवैले दावी अस्वीकार गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

बांकास्थित एक चुनावी सभालाई सम्बोधन गर्दै राहुलले नोभेम्बर ५ मा पत्रकार सम्मेलनको क्रममा कांग्रेसले हरियाणामा ‘भोट चोरी’ सम्बन्धी ‘प्रमाण’ पेश गरेको पनि बताए । उनले थपे, ‘निर्वाचन आयोगले यी आरोपहरूलाई अस्वीकार गर्न सक्दैन ।’

बिहारका चुनावी सभामा राहुलले पहिले लगाइएका ‘मत चोरी’ का आरोपहरू पुन: दोहोर्‍याएका छन् । हरियाणाका २ करोड मतदाताहरू मध्ये २९ लाख मतदाताहरू नक्कली रहेको उनको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *