
काठमाडौं । काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य शुरू भएको छ ।
शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको सुरूवात गरे । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ ।
६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए । लाखौं सेवाग्रही लाइसेन्स नपाएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य हुने खरेलले विश्वस्त पारे । यसअघिको लाइसेन्सको लागत ३ सय रूपैया पर्नेमा अब केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रूपैयामात्रै लाग्ने उनले जानकारी दिए ।
उनले भने, ‘वर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ ।”
केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भन्दै खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।’
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरू गरिएको उनले सुनाए । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब लगानी भएको छ ।

Leave a Reply