
सुर्खेत। कर्णाली प्रदेशका दुर्गम भेगहरूमा सङ्घीयताको अनुभूति अझै अपूर्ण छ। नागरिकको दैनिक जीवनमा आधारभूत पूर्वाधारको कमी र राज्यको पहुँच अभावकै कारण अनेकौँ चुनौतीहरू व्याप्त छन्। बाटो, बिजुली, खानेपानीदेखि शिक्षा र स्वास्थ्यसम्मका आधारभूत सेवामा देखिएको कमीले यहाँका जनतामा निराशा थपिरहेको छ।
यस्तै समस्याले गाँजिएको क्षेत्र कालिकोटको महाबै गाउँपालिका हो। यहाँका जनताले अझैसम्म सहज यातायात, स्थायी बिजुली आपूर्ति र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। यिनै चुनौतीका बीचमा निर्वाचित स्थानीय सरकार कसरी काम गरिरहेको छ भन्ने विषयमा गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहसँगको कुराकानी नेपाल टकमा –
—महाबै गाउँपालिकाले चालु आर्थिक वर्षमा प्राथमिकतामा के–के योजना अघि सारेको छ?
विशेषगरी हामीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ। गाउँपालिकामा स्वास्थ्य सेवा अत्यन्तै कमजोर थियो। गाउँ स्वास्थ्य क्लिनिकदेखि अस्पतालसम्म सुधार ल्याउन विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्यौँ। त्यसैगरी शिक्षामा पनि स्थानीय पाठ्यक्रम निर्माणदेखि लिएर बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्मका विद्यालयमा सुधारका काम अघि बढाएका छौँ।
हामीले पालिका स्तरमै कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरेर नयाँ प्रणाली लागू गर्यौँ, जसको परिणामस्वरूप यसपालि एसईईमा ९७.६६ प्रतिशत नतिजा ल्याउन सफल भयौँ। कृषिमा पनि इको इमान नेपाल र अन्य संस्थासँग साझेदारी गरेर बाली संरक्षण, घरबारी–करेसा कार्यक्रम र विद्यालयस्तरीय करेसाबारीलाई अगाडि बढाएका छौँ। यी सबै कामले गाउँपालिकामा उल्लेखनीय सुधार भएको महसुस गरेका छौँ।
—सुरु भएका तर अधुरा योजनाहरू अहिले कहाँ पुगेका छन्?
योजनाको निर्माण प्रक्रियामा केही सुधार भए पनि सडक क्षेत्रमा भने ठूलो प्रगति गर्न सकेका छैनौँ। पान्तरी पक्की पुल समयमै बन्न नसक्दा महाबै गाउँपालिका कर्णाली राजमार्ग र सदरमुकामसँग जोडिन सकेको छैन। निर्माण कम्पनीले जिम्मेवारी समयमा पूरा नगर्दा दर्जनौँ पुलहरू जस्तै यो पुल पनि अधुरो छ।
यद्यपि सेराबाडा–बादनघाट हुँदै गाउँपालिकाको केन्द्रसम्म जोडिने ६ किलोमिटरको सडक आयोजनाको डिजाइन तयार भइसकेको छ, करिब ५६ करोड रुपैयाँको लागतमा विश्व बैंकको ऋण–अनुदानमार्फत बन्ने तयारीमा छ। प्रदेश सरकारको प्राथमिकतामा परेकाले निकट भविष्यमा यसले गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्नेछ।
त्यस्तै, दैलेख सदरमुकाम हुँदै महाबु लेक–डिल्लीकोट–पालुङ्गासम्म जोड्ने सडक केन्द्रीय सडक विभाग अन्तर्गतको सङ्घीय आयोजना हो, तर यसको प्रगति भने निकै सुस्त छ। समग्रमा भन्नुपर्दा, सडक र पुल क्षेत्रका ढिलाइले जनताले अपेक्षा गरेअनुसार सुविधा पाउन सकेका छैनन्।
—महाबैमा खानेपानीको अवस्था कस्तो छ ? हालका प्रमुख योजना के–के छन्?
अघिल्लो आर्थिक वर्षमा कर्णाली जल परियोजनामार्फत पाँचवटा खानेपानी आयोजना सम्पन्न गर्यौँ, जसले सयौँ घरधुरीलाई ‘एक घर–एक धारा’ सुविधा दियो। हाल स्थानीय सरकारकै लगानीमा थप पाँचवटा आयोजना निर्माणाधीन छन्। यी सम्पन्न भएपछि गाउँपालिकाका धेरै वडामा स्वच्छ खानेपानीको समस्या समाधान हुने विश्वास छ।
त्यसैगरी विद्यालय पूर्वाधार निर्माण, गोरेटो र पीसीसी बाटो, साना खोलामा काठे पुल जस्ता काम पनि गरेका छौँ। शिक्षामा स्थानीय पाठ्यपुस्तक निर्माणदेखि लिएर छात्रवृत्ति कार्यक्रमसम्मका काम अघि बढाएका छौँ। विपन्न तथा टुहुरा बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गरी अहिले १३ जना विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको छ।
—स्वास्थ्य चौकी र औषधि आपूर्तिको अवस्था कस्तो छ?
स्वास्थ्य संस्थाहरूमा औषधि आपूर्तिमा समस्या हुन दिएका छैनौँ। केही संस्थामा ओदा फाउन्डेसनसँग साझेदारी गरेर, केहीमा गाउँपालिकाकै लगानीमा औषधि पुऱ्याइएको छ। एम्बुलेन्स सञ्चालन भएपछि बिरामीलाई सहजता मिलेको छ।
—युवा जनशक्तिको पलायन रोक्न के योजना बनाइएको छ?
हामीले युवालाई गाउँमै राख्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ। मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १०० दिनको रोजगारी उपलब्ध भएको छ। त्यसबाहेक युवालाई सिलाई–कटाई, डकर्मी–सिकर्मी, ड्राइभिङ जस्ता तालिम दिएर स्वरोजगारतर्फ प्रोत्साहित गरेका छौँ।
कृषि विकास बैंकसँग साझेदारी गरी धितोबिनाको ऋणको तयारी भइरहेको छ। यसले युवालाई आफ्नो गाउँमै रोजगारी सिर्जना गर्न सहज बनाउनेछ।
—कृषि, पशुपालन र पर्यटनमा रोजगारी सिर्जना गर्ने प्रयास कस्तो छ?
कृषिमा पकेट क्षेत्र बनाएर तरकारी, फलफूल उत्पादनलाई बढाइएको छ। पशुपालनमा भेडा, बाख्रा, गाईभैँसी, कुखुरापालन प्रोत्साहित गरिएको छ। रोग नियन्त्रण र तालिममार्फत किसानलाई सहयोग गरिएको छ।
पर्यटनमा महाबुधाम मुख्य सम्भावना बोकेको क्षेत्र हो। तर सडक अवरोधका कारण त्यहाँ पुग्न कठिन छ। सडक विभाग र अन्य स्थानीय तहसँग सहकार्य गरी सडक सञ्जाल विस्तारमा जोड दिइरहेका छौँ। सडक सुविधा पुगेपछि पर्यटन प्रवद्र्धनमा ठूलो सम्भावना देखिन्छ।
—महाबुधाम कुन जिल्ला अन्तर्गत पर्छ? किन विवाद भइरहन्छ?
भौगोलिक र प्रशासनिक हिसाबले महाबुधाम कालिकोट जिल्लाको महाबै गाउँपालिकाभित्रै पर्छ। तर धार्मिक र सांस्कृतिक हिसाबले भने त्यो सबैको आस्था र विश्वासको केन्द्र भएकाले सबैलाई पूजा–अर्चना गर्ने समान अधिकार छ।
—पाटन र महाबुधाम संरक्षण र प्रवद्र्धनका लागि के योजना छ?
पहिलो प्राथमिकता भनेकै सडक सञ्जाल सुधार हो। सडक स्तरोन्नति नगरेसम्म ट्रेकिङमार्फत मात्र पर्याप्त प्रगति सम्भव छैन। त्यसैले हामीले दैलेख सदरमुकामबाट जोडिने सडकलाई प्राथमिकतामा राखेका छौँ।
—दलित र विपन्न समुदायका लागि के कार्यक्रमहरू छन्?
महिलाको आयआर्जन कार्यक्रम, दलित र विपन्न समुदायका लागि सीप विकास कार्यक्रम, जनयुद्धपीडित परिवारका लागि जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ। यसले समुदायमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वास बढाएको छ।
—अपाङ्ग व्यक्तिहरूका लागि के पहल भएको छ?
अपाङ्गमैत्री कार्यक्रम सञ्चालन गरेका छौँ। विभिन्न जनचेतनामूलक कार्यक्रम, रोजगारी सिर्जना कार्यक्रम र छात्रवृत्ति वितरणमार्फत उनीहरूलाई सहयोग गरेका छौँ।
—योजना छनोट र बजेटमा नागरिक सहभागिता कस्तो छ?
योजना बस्तीस्तरमै छनोट हुन्छ। यसरी आएका योजना वडादेखि गाउँपालिकासम्म आइपुग्छन्। यसले जनतालाई ‘मैले सिफारिस गरेको योजना’ भन्ने अनुभूति दिलाएको छ। सबैलाई पूर्ण रूपमा समेट्न नसके पनि धेरैजसो जनताको सक्रिय सहभागिता छ।
—गुनासो व्यवस्थापन प्रणाली कस्तो छ?
सार्वजनिक सुनुवाइमार्फत गुनासो सुन्ने प्रचलन छ। अब प्रत्येक वडामा गुनासो सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ।
—आगामी दुई वर्षमा महाबैलाई कस्तो बनाउन लक्ष्य राख्नु भएको छ?
सबैभन्दा पहिले सदरमुकाम र कर्णाली राजमार्गसँग जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेका छौँ। यसबाहेक शिक्षा, कृषि, रोजगारी र स्वास्थ्य क्षेत्रमा सुधार निरन्तर जारी राख्नेछौँ।
—जनप्रतिनिधिका रूपमा तपाईँका उपलब्धि र चुनौती के–के छन्?
उपलब्धिको हिसाबले जनताले प्रत्यक्ष सेवा पाएका छन्। वृद्ध नागरिकलाई नवीकरण शिविरमै सेवा दिने, सुत्केरी महिला, बिरामीलाई सहयोग पुऱ्याउने जस्ता कामले जनतामा सकारात्मक सन्देश पुगेको छ। चुनौती भनेको जनताको अत्यधिक अपेक्षा हो। सबै चाहना पूरा गर्न नसकिँदा कठिनाइ महसुस हुन्छ।
—अन्तमा केही भन्नुहुन्छ कि?
विकास भनेको क्रमिक प्रक्रिया हो। सडक सञ्जाल, शिक्षा र स्वास्थ्य बीमा जस्ता कामलाई चरणबद्ध ढङ्गले अघि बढाउँदै छौँ। अघिल्लो अवस्थासँग तुलना गर्दा आजको महाबै गाउँपालिकामा उल्लेखनीय सुधार भएको छ भन्ने जनताले नै महसुस गरेका छन्।

Leave a Reply