डोनाल्ड ट्रम्पको दाबी- भारतले रुसबाट तेल खरिद गर्न बन्द गरिसक्यो

काठमाडौं । भारत र रुसबीचको तेल व्यापार धेरै हदसम्म रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । भारतले रुससँग गर्दै आएको तेल खरिद धेरै हदसम्म रोकिएको ह्वाइटहाउसमा पत्रकारहरुसँगको अन्तर्क्रियामा ट्रम्पको दाबी थियो ।

ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा मिडिया अन्तर्क्रियाको क्रममा अर्को वर्ष भारत भ्रमण गर्न सक्ने संकेत पनि दिएका छन् । ‘भारतसँगको व्यापार वार्ता राम्रो भइरहेको छ, उनले (मोदीले) रूसबाट तेल किन्न लगभग बन्द गरेका छन् । उनी मेरा साथी हुन् र हामी कुराकानी गर्छौं, उनी चाहान्छन् म भारत जाऊँ । हामी समस्याको समाधान गर्छौं । म जान्छु । ट्रम्पले भने।

भारत-रूस ऊर्जा सम्बन्धको भविष्यको बारेमा ट्रम्पको पछिल्लो दाबी नयाँ दिल्ली र वाशिंगटन बीच चलिरहेको व्यापार वार्ताको पृष्ठभूमिमा आएको छ र रूसी तेल त्यो छलफलको केन्द्रबिन्दु  रहेको छ ।

ट्रम्पले भारतीय आयातमा ५०% कर लगाएका थिए । जुन अगस्टदेखि लागू भएको थियो । त्यसबेलादेखि भारतप्रति ट्रम्पको लगावमा परिवर्तन आएको छ, तर उनी भारतले रूसी तेल व्यापार रोक्नुपर्ने मागमा अडिग छन्।

भारतले रूससँगको ऊर्जा सम्झौतालाई उद्धृत गर्दै आधा भन्सार शुल्क लगाइएको थियो । ट्रम्पले लगाएको उच्च ट्यारिफलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने रूपमा हेरिएको थियो ।

युक्रेन युद्धलाई लिएर अमेरिकाले पहिलो पटक मस्कोमाथि प्रतिबन्ध लगाएपछि भारत रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ। २०२५ को पहिलो नौ महिनामा, भारतले प्रतिदिन १.७ मिलियन ब्यारेल आयात गरेको रिपोर्ट छ । जुन कुल कच्चा तेल आयातको ३४% हो।

भारतले चाँडै नै रूससँगको तेल व्यापार बन्द गर्ने भन्दै मोदीले ट्रम्पलाई ‘आश्वस्त’गराएको ट्रम्पको दाबी थियो । ‘भारतले तेल किनिरहेकोमा म खुसी थिइनँ । र उनले (मोदीले) आज मलाई आश्वासन दिए कि उनीहरूले रूसबाट तेल किन्ने छैनन् । त्यो ठूलो कदम हो,’ ट्रम्पले पहिलो पटक अक्टोबरमा भनेका थिए, त्यसपछि धेरै पटक यो दाबी दोहोर्‍याए ।

यद्यपि भारतले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै ट्रम्प र मोदी बीचको कुनै पनि फोन कलको बारेमा जानकारी नभएको बताएको थियो । प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच कुराकानी वा टेलिफोन कल भएको थियो कि भन्ने प्रश्नमा दुई नेताहरू बीच भएको कुनै पनि कुराकानीको बारेमा जानकारी नभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए ।

यद्यपि डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले परिवर्तनको संकेत गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ । ट्रम्पले अब भारतले ‘धेरै हदसम्म’ तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन् । ट्रम्पको यो टिप्पणी युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई दबाब दिन दुई रूसी तेल फर्महरू, रोसनेफ्ट र लुकोइलमाथि अमेरिकाले लगाएको प्रतिबन्धपछि आएको हो।

भारतले अमेरिकी प्रतिबन्धहरूको प्रभावको जाँच गरिरहेको बताएको थियो र भनेको थियो, ‘हाम्रा निर्णयहरूले स्वाभाविक रूपमा विश्वव्यापी बजारको परिवर्तनशील गतिशीलतालाई विचार गर्नेछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *