‘ब्रेन गेन’ का लागि प्रवासीलाई रणनीतिक साझेदार, ‘नहुष’ बन्दैछ सरकार

नेपाल आज बहुआयामिक चुनौती र अवसरको दोभानमा उभिएको छ । भौगोलिक सान्दर्भिकता, प्राकृतिक स्रोत–साधन र सांस्कृतिक विविधताले मुलुकलाई विशेष बनाउँछ ।  तर, राजनीतिक अस्थिरता, आर्थिक सङ्‍कट, सामाजिक असमानता र मूल्य–सङ्‍कटले प्रगतिलाई अवरुद्ध बनाएको छ । विशेषतः विदेशमा बस्ने नेपालीका लागि यो अवस्था केवल समाचार वा सोको विषयमात्र होइन, आफ्नै पहिचान र भविष्यसँग जोडिएको प्रश्न हो ।

संविधान (२०१५) जारी भएपछि स्थायित्वको आशा गरिएको भए पनि पछिल्ला वर्षमा अस्थिर सरकार, दलभित्रको गुटबन्दी, र राजनीतिक नेतृत्वप्रतिको विश्वासको ह्रासले मुलुकलाई कमजोर बनाइरहेको छ । अन्तर्राष्ट्रिय लोकतन्त्र संस्थान (आईडीईए २०२३) ले नेपाललाई ‘मध्यमस्तरको लोकतन्त्र’ को श्रेणीमा राखेको छ, जसको प्रमुख चुनौती भनेकै पारदर्शिता र जवाफदेहिताको कमी हो ।

विश्व बैङ्‍कका अनुसार, नेपालमा रेमिट्यान्स सकल घरेलु उत्पादन (जीडीपी) को करिब २३ प्रतिशत रहेको छ, जुन दक्षिण एशियामै उच्च हो। यद्यपि, कृषि आधुनिकीकरण, औद्योगिक विस्तार र पर्यटन व्यवस्थापन कमजोर रहँदा रोजगार सिर्जना न्यून छ। यसले युवालाई ठूलो सङ्‍ख्यामा वैदेशिक रोजगारतर्फ धकेलिरहेको छ। प्रवासी नेपालीको प्रमुख प्रश्न यथावत् छ– रेमिट्यान्सलाई दीगो विकासमा किन परिणत गर्न सकिँदैन ? शिक्षा र स्वास्थ्यमा असमान पहुँच, ग्रामीण–शहरी विभाजन, भ्रष्टाचार र मूल्य–सङ्‍कटले सामाजिक संरचना असन्तुलित बनाएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास प्रतिवेदनले नेपाललाई ‘मध्यम मानव विकास सूचकाङ्‍क’ मा राखे पनि असमानता र अवसरको पहुँचमा ठूलो खाडल देखाएको छ।

गैरन्यायिक इन्साफको संघारमा ईलिटहरुको  संस्था एनआरएन

जेन–जेड आन्दोलन र यसको प्रभाव

पछिल्ला वर्षमा नेपालको सामाजिक–राजनीतिक परिदृश्यमा जेन–जेड पुस्ता (१९९७–२०१२ बीच जन्मिएका) विशेष गरी शहरी क्षेत्रका विद्यार्थी, युवा पेशेवर र प्रवासी नेपाली सन्तानको सक्रियता उल्लेखनीय देखिएको छ। सामाजिक सञ्जालमा शुरु भएको ‘इनफ इज इनफ’ अभियानदेखि लिएर सडक प्रदर्शनसम्म, जेन–जेड पुस्ताले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक चेतना फैलाइरहेका छन् । पुराना दलहरूले अब युवाकोआवाजलाई बेवास्ता गर्न नसक्ने अवस्था बनेको छ ।

फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्मले युवा आन्दोलनलाई भौगोलिक सीमाभन्दा पर पुर्‍याएको छ। जेन–जेडले पुरानो राजनीतिक संस्कृतिलाई अस्वीकार गर्दै इमानदार, पारदर्शी र नीतिप्रधान नेतृत्वको माग गरेको छ ।  प्रवासमा रहेका युवाले आफ्ना अनुभव, सीप र विचारलाई नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष जोड्दै ‘ग्लोवल नेपाली आइडेन्टिटी’ निर्माणमा योगदान दिन थालेका छन् । जेन–जेड आन्दोलनले नेपाली समाजलाई स्थायित्व भन्दा बढी उत्तरदायित्वको सवालमा केन्द्रित गराएकोजस्तो देखिन्छ ।

आन्दोलनमा घूसपैठ, एजेण्डामा अलमल

लोकोक्ति छ, कुनै मान्छेको कण्ठमा ठूलै गलगाँड थियो र कुनै औषधिमूलो र उपायले पनि ठीक नहुँदा निकै हैरान थियो । एकपटक गाउँका अरू मान्छेसँग नून लिन मधेश झर्‍यो ।टोलीको पहिलो बास एउटा ओडारमा पर्‍यो । त्यो ओडार भूतको अड्डा रहेछ । राति खानपिन गरेर सबै निदाइसकेपछि त्यताको भूतले पारिपट्टिको ओडारको भूतराजालाई सोध्यो, ‘महाराज, आज नून बोक्ने ढाक्रेहरू यता बास बसेका छन् । एउटा गाँडे–गल्फुले पनि छ, के गरौँ  ?’

राजाले आदेश दियो– कसैलाई केही नगर, बरु त्यसको गाँड झिकिदे । बिहान हेर्दा त्यत्रो गलगाँड अचानक गायब भएको देखेर सबै छक्क परे । निको हुनेवाला त झन् खुसीले नाच्यो । खबर तुरुन्तै उनीहरूको गाउँसम्म पुग्यो । त्यस ओडारमा बास बसेमा गलगाँड छुमन्तर हुने सुनेर गाउँको अर्को गल्फुले पनि ढाकर (डोको) बोकेर नून लिन गयो र त्यसै ओडारमा बास बस्यो । आज पनि मध्यरातमा यताको भूतले पारिको भूतराजालाई सोध्यो, ‘महाराज, आज फेरि अर्को गाँडे–गाँडा बास बस्न आयो, के गरौँ  ?’ उताको भूतले भन्यो, ‘भयो, त्यसलाई पनि केही नगर । बरु, हिजो झिकेको गाँड आज यसैलाई थपिदे ।’ हेर, दुर्भाग्य । बिहान उठेर छाम्दा बिचराको गलामा दुवैतर्फ २ वटा गलगाँड झुण्डिरहेका थिए । ‘झिकिदे गाँड भन्दा थपिदे गाँड’ भएपछि के लाग्छ  ?

भदौको तेस्रो साता युवाहरुको आन्दोलनको भावलाई पटक्कै कम आँकेको हैन । तर, आन्दोलनले नेतृत्वन पाउँदा, घूसपैठ रोक्न नसक्दा, उद्देश्य स्पष्ट नहुँदा, गन्तव्य तय नहुँदा बीचमा केही ‘पपुलर’ हरूले तर मार्दैछन् । आन्दोलनको मूल ध्येयबाट ‘डिरेल’ भएर न त चुनाव, न स्थिर सरकार नै रहने अवस्थामा ‘थपिदे गाँड’ मा देश जाँदैछ।

शास्त्रीको निर्णय-बालेनको झोक, एनआरएनको दाबी-पठानको गफ

अहङ्कार यसरी ढल्छ

वृत्रासुरवधको ब्रह्म हत्याले इन्द्र डराएर स्वर्गको सिंहासन छाडी अज्ञात स्थानमा लुक्न जाँदा स्वर्ग अन्धकार भयो । अनि, देवताहरूले पृथ्वीबाट नहुष नामको राजालाई अमर हुने आशीर्वाद दिई स्वर्गको अधिपति बनाएर इन्द्रासनमा बसाले । तर, अमरावतीको राजपाट मिल्दा साथ नहुषमा अहङ्कार र शक्तिको अभिमान चुलिन थाल्यो । हुँदाहुँदा शक्तिको उन्मादमा चूर ऊ यति अन्धो, अन्यायी र विवेकहीन बन्न थाल्यो कि, के भन्दैछु र के गर्दैछुु भन्नेसम्म पनि उसले भेउ पाउन छोड्यो र हाकाहाकी एकपछि अर्को अपराधमा प्रवृत्त हुन थाल्यो ।

ऊ यतिसम्म अविवेकी भयो कि इन्द्रकी पत्नी देवीशचीमाथि नै कुदृष्टि राख्नेसम्मको धृष्टतामा उत्रियो । एकदिन उसले मर्यादाको हद नै तोडेर ब्रह्माण्डको रहस्य बुझेका महातपस्वी सप्तर्षीहरूलाई आफ्नो पालकी बोकाएर इन्द्रायणी देवीशचीलाई भेट्न जाने निर्णय गर्‍यो । शचीसँग मिलनको निम्ति उसको मन निकै अधीर हुनाले सप्तर्षीलाई छिटोछिटो दौडिन भन्दै क्रोध र अपमानजनक शब्दले गाली गर्दै थियो ।

जब रिसमा अन्धो नहुषले महान ऋषि अगस्त्यको शीरमा लात्ति प्रहार गर्दै सर्प, सर्प, अर्थात्, ‘छिटो हिँड्’ भन्दै चिच्यायो, त्रिदेवले समेत आदर गर्ने ऋषि अगस्त्यको मुखबाट क्रोध होइन, वेदनाको श्राप निस्कियो, ‘पद र शक्तिको नशाले अन्धो भएको मूर्ख नहुष, तेरो सर्प योनीमा पतन होस् ।’ एकैपलमा देवराज नहुष स्वर्गको वैभवबाट ढुन्मुनिएर एउटा बडेमाको अजिङ्गर (सर्प) बनी धर्तीमा पछारिन आयो । शक्तिको शिखरसँग पतनको खाडल कति नजिक हुन्छ, उसले त्यतिबेलै देख्यो।

नहुषको यो घोर पतनको कथा सबैलाई एक शाश्वत पाठ हो । जब मानिस मानवीय मूल्य भुलेर दानवीय व्यवहारमा उत्रिन थाल्छ, तब पतन नै उसको अनिवार्य नियति बन्छ । जतिसुकै उच्च किन नहोस्, न्याय, सदाचार र मानवीय मूल्यबिना सिंहासन क्षणभरमै एउटा सपना बन्न पुग्छ । अहिले नै निष्कर्ष निकाल्नु शायदै छिटो होला । तर, ३० औँ बालबालिकाको रगतले पोतिएको वर्तमान सरकारको सिंहासन त्यति दरिलो र लक्षप्रति कर्मशील देखिँदैन । प्रधानमन्त्री र गृहमन्त्री बदलाको भावनाबाट निशानामा कसैलाई पार्न व्यस्त देखिन्छन् । पर्दा पछाडिका ‘खेलाडी’ आफ्नो उद्देश्य पूरा गराउन यसै सरकारलाई अस्थिर बनाउन उद्दत छन् ।

‘सेलिब्रेटी मन्त्रीहरू’ चुनाव केन्द्रितभन्दा आफूलाई आगामी निर्वाचनमा कसरी सहज हुन्छ भन्नेतर्फ बढी केन्द्रित छन्, जसले त्यहाँ पुर्‍यायो, उनीहरूको मागतर्फ ध्यान हैन, अन्तै कतै सोच्दै गरेको स्वयं प्रधानमन्त्रीको अभिव्यक्तिबाट बुझ्न धेरै गाह्रो पर्दैन । विशेष परिस्थितिमा बनेको अन्तरिम सरकारको सोच, शैली, कार्यकुशलता हेर्दा माथि उल्लेख गरिएको ‘नहुष’ को कथाजस्तो नहोस् भन्ने शुभेक्षा धेरैको पाइन्छ।

शाहरुख खानको डङ्कीभित्र एनआरएनको विम्ब

 

प्रवासीको भूमिका

प्रवासी नेपाली केवल आर्थिक आधारमात्र होइनन्, ज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवका धनी हुन् । तर, नेपालमा लगानीमैत्री वातावरणको अभाव र नीतिगत अनिश्चितताले उनीहरूको सीप र स्रोतलाई देशको विकासमा रूपान्तरण गर्न सकिएको छैन । प्रवासी नेपालीलाई रणनीतिक साझेदारको रूपमा सम्बोधन नगरेसम्म ‘ब्रेन गेन’ सम्भव छैन । नेपालको समस्या गहिरा छन्, तर सम्भावना अझै गहिरा छन् । सुशासन र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने छ।

अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनु पर्नेछ । जेन–जेडको आन्दोलनलाई संस्थागत स्वरूप दिनुपर्ने छ । प्रवासी नेपालीलाई दीर्घकालीन साझेदारको रूपमा समेट्नुपर्ने छ । यसरी मात्र नेपालले ‘समृद्ध, स्थिर र न्यायपूर्ण समाज’ तर्फको यात्रामा वास्तविक प्रगति गर्न सक्ने छ। प्रवासी नेपालीको दृष्टिमा, आजको मुलुकमा भएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने कडी भनेकै जवाफदेही नेतृत्व र सक्रिय युवा पुस्ता हो ।

(लेखक गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *