सञ्चारमन्त्रीलाई एक शिक्षकको खुला पत्र- तपाईँको कुर्सी ‘हट सिट’ होइन, जेन-जीको रगतको आहालमाथि छ

माननीय सञ्चारमन्त्री जगदीश खरेलज्यू,

नमस्कार ।

देश नै आइसोलेसनमा परेको यस अवस्थामा तपाईँलाई सन्चो-बिसन्चो सोधेर समय बर्बाद गर्न चाहन्नँ । ‘जेनजेड’को आन्दोलनपछि परिवर्तन भएको तपाईँको आसनले नै सबै कुरा पुष्टि गरिसकेको छ । प्रश्न सोध्ने व्यक्ति सधैँ प्रश्नकर्तामात्र हुँदैन रहेछ ।

आज तपाईँको पनि भूमिकामा परिवर्तन आएको छ । त्यो कुर्सी इमेज टेलिभिजनको ‘हट सिट’ होइन: यो कुर्सी जेनजेड को रगतको आहालमाथि छ । माटो र रगतको अवमूल्यन गर्ने जो–कोही भस्म हुन्छन्, कृपया ख्याल गर्नुहोला ।

तपाईँ नेपाली पत्रकारिताको सुन्दर नक्षत्र हुनुहुन्छ भन्ने कुरामा कुनै दुईमत छैन । ‘हट सिट’का कुनै पनि अन्तर्वार्ता म नछुटाई हेर्ने मध्ये एक हुँ । म तपाईँको समर्थक मात्रै होइन, समालोचनात्मक चेत भएको सचेत नागरिक पनि हुँ । मन्त्रीज्यू, म सिधै मुद्दामा प्रवेश गर्ने अनुमति चाहन्छु ।

तपाईँ मन्त्री हुँदा देशका प्रमुख सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने निर्णय गर्नुभयो । यस कार्यमा कुनै आपत्ति छैन । विश्व अहिले विज्ञान–प्रविधिको युगमा तीव्र गतिमा दौडिरहेको छ । हामी पनि निजी, गैरसरकारी, सरकारी कार्यालय र विशेष गरी युवापुस्तालाई प्रविधिसँग जोड्दै अघि बढ्नै पर्छ । तपाईँ पत्रकारिताको पृष्ठभूमिबाट आएको हुनाले देश बुझ्नुहुन्न भन्ने सोच्दिनँ । तर मन्त्रीज्यू, अहिले पनि देशका थुप्रै गाउँमा सञ्चारको साधनका नाममा केवल रेडियो मात्रै छ भन्ने कुरा आश्चर्य मान्नु पर्ने छैन ।

तपाईँको सहरमा निःशुल्क वाइफाइ चलिरहेको छ, तर थुप्रै आमा अझै आफ्ना सन्तानलाई फोन गर्न दुई–तीन घण्टा उकालो चढेर पहाडको टुप्पोमा पुग्न बाध्य छन् । रुखको टुप्पोमा पुगेर एक हातले मोबाइल र अर्को हातले हाँगो समातेर फोन गरिरहेका दृश्य कति पटक देख्नुभएको छ ? परदेशमा रगत–पसिना बगाएका आफ्ना सन्तानको स्वर सुन्नै नपाई देह त्याग गरेकी आमाको कथा कति सुन्नुभएको छ ?

देशका धेरै ठाउँमा बनेका नेपाल टेलिकमका टावर जीर्ण अवस्थामा छन् । सेवा मात्र भएर हुँदैन, जनतालाई गुणस्तरीय सेवा चाहिएको हो । पचासौँ पटक फोन गर्दा पनि नलाग्ने, झुक्किएर लागे पनि आवाज नबुझिने अवस्था कति कष्टकर छ ? यो पहाड र हिमालको जनजीवनले भोगिरहेको यथार्थ हो । शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र यातायातको अभावका कारण गाउँबाट सहरतिर बसाइसराइको ओइरो लागेको छ ।

म पेशाले शिक्षक हुँ । राज्यले ‘शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ’ भन्छ, तर अधिकांश हिमाल र पहाडका विद्यालयमा फोन नै लाग्दैन । कसरी जोड्ने शिक्षालाई प्रविधिसँग ? विश्व बजारसँग प्रतिस्पर्धा गर्ने कुरा पछि गरौँ, पहिले तपाईँका सहरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने ग्रामीण विद्यार्थी कसरी उत्पादन गर्ने ?

मन्त्रीज्यू, तपाईँ अहिले प्रश्न होइन, कामका आधारमा जवाफ दिने ठाउँमा हुनुहुन्छ । तपाईँको एउटा निर्देशनले धेरै समस्या समाधान हुन सक्छ । बस, यति बिन्ती छ:

१.जीर्ण अवस्थामा रहेका नेपाल टेलिकमका टावरको मर्मतसंभार गरी गुणस्तरीय सेवा दिन निर्देशन गर्नुहोस् ।

२.देशभर आवश्यकताका आधारमा नेपाल टेलिकमको सेवा विस्तार गर्दै फोरजी सेवा सुनिश्चित गर्नुहोस् ।

३.शैक्षिक संस्था र शिक्षकलाई निःशुल्क फोरजी सेवा उपलब्ध गराउन पहल गर्नुहोस् ।

४.सस्तो र सुलभ दूरसञ्चार सेवा प्रदान गर्न व्यवस्था गर्नुहोस् ।

यी कार्य गर्नुभयो भने सुशासनको प्रत्याभूति दिलाउन आइतबार पर्खिनु पर्दैन । मन्त्रीज्यू, अहिले नगरे कहिले गर्ने ? एक छिन शान्त दिमागले सोच्नुहोस्, तपाईँ भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध उठेको जनताका छोराछोरीको बलिदानबाट मन्त्री बन्नुभएको हो । तपाईँलाई असफल हुने छुट छैन ।
धन्यवाद ।

हिक्मत रावल
अछाम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *