
रुपन्देही । ७५ प्रतिशत आयात विस्थापित गरेको नेपालमा उत्पादित फ्रेन्च फ्राइज अब अमेरिकी बजारमा पुगेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्रालिले उत्पादित ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु गरेपछि नेपालका उद्योगी र किसान दुवै उत्साहित भएका छन् ।
उद्योगका सञ्चालक कृष्ण पौडेलले मंगलबार मात्र ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेका दुई कन्टेनर भैरहवा भन्सार कार्यालयबाट कोलकातातर्फ प्रस्थान गरेको जानकारी दिए । यी कन्टेनर ५० दिनपछि अमेरिकी बजारमा पुग्नेछन् ।
‘यो केवल उद्योगको उपलब्धि होइन, किसानको पसिनाको सम्मान हो’ पौडेलले भने–‘नेपालका खेतमा पसिना बगाउने किसानको हातले फलाएको आलु अहिले अमेरिकाको बजारमा ‘मेड इन नेपाल’ लेखिएको फ्रेन्च फ्राइज बनेर पुग्दैछ ।’
पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले छोटो अवधिमै नेपालको फ्रेन्च फ्राइज बजारमा आफ्नो बलियो स्थान बनाएको हो । अहिले कम्पनीले नेपालमा खपत हुने कुल फ्रेन्च फ्राइजमध्ये करिब ७५ प्रतिशत बजार आयात प्रतिस्थापन गरेको र आगामी एक वर्षभित्रै सम्पूर्ण आयात विस्थापित गरेर नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने कम्पनीले लक्ष्य राखेको छ ।
दुई अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस उद्योगले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ । कम्पनीले आलु प्रशोधनका लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली पनि सञ्चालनमा ल्याएपछि यसको उत्पादनमा गुणस्तर पाएको जनाएको छ ।
फर्स्ट च्वाइस फुड्सले हालसम्म २६ जिल्लाका करिब ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ । किसानसँगको सहकार्यबाट कम्पनीले वर्षेनी हजारौं मेट्रिक टन आलु खरिद गर्दै आएको छ । पौडेलका अनुसार, गत वर्ष मात्र उद्योगले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट खरिद गरेको थियो ।
‘हामीले किसानसँग प्रत्यक्ष सम्बन्ध बनाएका छौं’ पौडेलले भने, ‘किसानलाई बीउ, मल, तालिम र प्रविधिक सहयोग उद्योगले नै गर्छ । उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’

कैलाली, नवलपुर, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, दाङ, र बारा–पर्सासम्मका किसान अहिले यस उद्योगसँग आवद्ध छन् । कम्पनीले किसानहरूलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन कृषिसँगै प्राविधिक सीप विकासमा पनि लगानी गरिरहेको छ ।
उद्योगी पौडेलका अनुसार कम्पनीको योजना वार्षिक ३० हजार मेट्रिक टन आलु प्रशोधन गरी विभिन्न परिकार उत्पादन गर्ने छ । अहिले फ्रेन्च फ्राइजसँगै कम्पनीले क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटी, पोटाटो वेजेस लगायत उत्पादन पनि गर्दै आएको छ ।
फ्रोजन पोटाटो प्रोडक्टको यो श्रृंखला नेपालमै पहिलोपटक युरोपियन प्रविधिबाट सञ्चालनमा आएको हो । कम्पनीको कारखाना करिब ५ बिघा क्षेत्रफलमा फैलिएको छ र यसमा ६० हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक संयन्त्र जडान गरिएको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले फ्रेन्च फ्राइज निर्यातलाई नेपालका लागि सुखद समाचार बताएका छन् । ‘अमेरिकामा पहिलोपटक नेपाली फ्रेन्च फ्राइज पुगेको छ’ उनले भने, ‘यसबाट करिब ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त भएको छ । यो सानो सुरुवात भए पनि व्यापार घाटा घटाउन यसले सन्देश दिएको छ ।’ उनका अनुसार, स्वदेशी कच्चा पदार्थ र किसानको उत्पादन प्रयोग गरी प्रशोधित वस्तु विदेशमा पठाउनु आफैंमा गर्वको विषय हो ।
नेपालमा अहिलेसम्म हरेक वर्ष धेरै ठूलो परिणामको फ्रेन्च फ्राइज भारत र अन्य मुलुकबाट आयात हुँदै आएको थियो । तर शुद्धोधनस्थित यस उद्योग सञ्चालनमा आएपछि अहिले देशभरको ७५ प्रतिशत बजार नेपाली उत्पादनले ओगटिसकेको छ । यसले आयात प्रतिस्थापनसँगै हजारौं युवालाई रोजगारी दिएको छ ।
पौडेलले भने, ‘नेपालमा उत्पादन भएको आलु स्वादिलो र गुणस्तरीय छ । हामीले त्यसैलाई प्रशोधन गरेर विश्व बजारमा पुर्याएका छौं । अब अमेरिकामा नेपाली फ्रेन्च फ्राइजको स्वाद पस्कने पहिलो उद्योग हामी नै हौं ।’ अमेरिकामा निर्यात अघि कम्पनीको उत्पादनको गुणस्तरको परीक्षण अमेरिकी एफडीएमार्फत गरिएको थियो । आवश्यक मापदण्ड पूरा भएपछि मात्र निर्यातको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ ।

अबदेखि हरेक हप्ता अमेरिका पठाइने फ्रेन्च फ्राइज भैरहवा भन्सार हुँदै कोलकाता बन्दरगाह पुगेर समुद्री बाटोमार्फत अमेरिकी बजारसम्म पुर्याइनेछ । कम्पनीले अमेरिकासँगै छिट्टै बेलायत, दुबई, मलेसिया र साउदी अरेबियामा पनि निर्यात विस्तार गर्ने योजना बनाएको छ । नेपालमै आलु प्रशोधन उद्योग स्थापना गर्ने विचार पौडेलको दशकअघिको सपना थियो ।
उनी भन्छन्, ‘नेपालमा आलु उत्पादन प्रशस्त छ, तर किसानले बजार नपाएर घाटा बेहोर्छन् । त्यही समस्याको समाधान गर्न यो उद्योग स्थापना गरिएको हो ।’ आज यो उद्योगले किसान र उद्योगबीचको सहकार्यलाई नयाँ मोड दिएको छ । उद्योगले आलुको बीउ सुधार, माटो परीक्षण, मल वितरण, प्रविधिक प्रशिक्षण र आधुनिक खेती प्रवद्र्धनमा करोडौं रुपैयाँ खर्च गरेको छ ।
फर्स्ट च्वाइस फुड्समा अहिले सयौं नेपाली कामदारले रोजगारी पाएका छन् । प्रशोधन, प्याकेजिङ, कोल्ड स्टोर, गुणस्तर परीक्षण र वितरणमा दक्ष जनशक्ति परिचालित छन् । कम्पनीले आफ्नो उत्पादन काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगन्ज लगायतका शहरका ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट र १७१ मोडर्न मार्ट मार्फत उपभोक्तासम्म पुर्याएको छ ।

अमेरिकी बजारमा निर्यात सुरु भएपछि नेपाली उद्योगीहरूबीच नयाँ आत्मविश्वास आएको छ । देशका अन्य उद्योगीले समेत कृषिआधारित उत्पादनलाई प्रशोधन गरेर निर्यातयोग्य बनाउन प्रेरणा पाएका छन् । सञ्चालक पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्–‘“किसानको पौरख, हाम्रो गौरव, अब नेपालदेखि अमेरिकासम्म पुग्यो । यो केवल उत्पादन होइन, यो देशको सम्भावनामा विश्वास गर्नेहरूको सन्देश हो । नेपाली हातले बनेको उत्पादन विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाण हामीले देखाएका छौं ।’
सामाजिक सञ्जालमा पनि धेरैले यो समाचारलाई खुसीका साथ स्वागत गरेका छन् । कतिपयले लेखेका छन्, ‘यो खबर सुन्दा आफ्नै खल्तीमा डलर आएको जस्तो महसुस भयो ।’ नेपाली उद्योग संकट र निराशाको वातावरणमा रहेको बेला यो खबरले नयाँ आशा दिएको जनप्रतिक्रिया आएको छ ।
नेपालको फ्रोजन फुड उद्योग अहिले विस्तारको चरणमा छ । यस उद्योगको सुरुवातले केवल एक कम्पनीको सफलता मात्र होइन, सम्पूर्ण कृषि–उद्योग सहकार्यको नयाँ युगको सुरुवात गरेको छ । सञ्चालक कृष्ण पौडेल भन्छन्, ‘देश र किसानको लागि साँच्चिकै विकास गर्ने हो भने हामीले उत्पादनमुखी काममा लाग्नैपर्छ । कुरा मात्र गरेर हुँदैन । देशमा आलु, गोलभेडा, स्याउ, अदुवा, बेसारदेखि अम्बासम्म उत्पादन गर्ने सम्भावना छ । त्यसका लागि किसानलाई मल, बीउ, प्रविधि र बजार चाहिन्छ । त्यो सुनिश्चित गर्यौं भने नेपालले धेरै आयात विस्थापित गर्न सक्छ ।
नेपालमा प्रत्येक वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको फ्रोजन फुड आयात हुने गरेको अनुमान छ । त्यसको सट्टा यदि यस्ता उद्योगहरू देशैभर स्थापना भए, भने रोजगारी सिर्जना र विदेशी मुद्रा आम्दानी दुबैमा ठूलो फाइदा हुने देखिन्छ । शुद्धोधन गाउँपालिकामा बनेको यो उद्योगले देखाएको उदाहरण अब लुम्बिनी प्रदेशमै होइन, देशभरका युवाका लागि प्रेरणा बनेको छ ।
नेपाल सरकारको उद्योग विभागमा दर्ता भएर, अमेरिकाको एफडीएमा पनि स्वीकृति प्राप्त गरेको फस्र्ट च्वाइस फुड्स अहिले विश्वस्तरीय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएको पौडेलको दाबी छ । उनले भनेका छन्, ‘हामीले केवल उत्पादन गरेको होइन, हामीले नेपाली उत्पादनको इज्जत उठाएका छौं ।’ फस्र्ट च्वाइस फुड्सले निकट भविष्यमा थप उद्योग विस्तार गर्ने योजना पनि बनाएको छ । कम्पनीले प्रशोधन केन्द्रसँगै आलु भण्डारणका लागि ठूलो कोल्ड स्टोर हब बनाउने तयारी गरेको छ ।

नेपालमा प्रशोधनयोग्य आलुको सम्भावना निकै ठूलो छ । कृषि अनुसन्धान केन्द्रका विशेषज्ञहरूका अनुसार, नेपालमा हरेक वर्ष ३५ लाख मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुन्छ । त्यसको करिब १० प्रतिशत पनि यदि प्रशोधनमा प्रयोग गर्न सकियो भने, देशले हरेक वर्ष करोडौं रुपैयाँ बराबरको आयात घटाउन सक्छ ।
यस्तो अवस्थामा फर्स्ट च्वाइस फुड्सको पहलले कृषिमा मूल्यवृद्धि, रोजगारी सिर्जना र निर्यात बढाउने नयाँ दिशातर्फ संकेत गरेको छ । नेपालको उद्योग क्षेत्रमा लामो समयदेखि ‘उत्पादनमुखी अर्थतन्त्र’को कुरा त भइरहेकै थियो, तर व्यवहारमा फलदायी परिणाम देखिएको थिएन । तर यो सफलताले अब त्यो अवधारणा व्यवहारमै रूपान्तरण भएको देखाएको छ ।
पौडेल भन्छन्, ‘हामीले देखाएका छौं, नेपालमै विश्वस्तरीय उत्पादन गर्न सकिन्छ । नेपालमा बनाइएको फ्रेन्च फ्राइजले अहिले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न थालेको छ । यो देशका हरेक किसानको जित हो ।’ फस्र्ट च्वाइस फुड्सको यो सफलता केवल निर्यातको उपलब्धि होइन, एक आर्थिक मोडेलको अभ्यास हो, जसले किसान, उद्योग, बजार र विश्व उपभोक्ताबीच सन्तुलन कायम गरेको छ ।
नेपालमा आयात प्रतिस्थापन, स्थानीय स्रोतको सदुपयोग, र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी उत्पादन— यी तीन कुराको संयोजन भएको पहिलो सफल उदाहरणका रूपमा अब यो उद्योग स्थापित भएको छ । साँचो अर्थमा भने यो सफलता फ्रेन्च फ्राइज र फस्ट च्वाइसको नभएर होइन किसानको परिश्रमको, उद्योगीको लगानीको, र देशको सम्भावनामा विश्वास गर्नेहरूको भएको उद्योगीको भनाइ छ ।


Leave a Reply