
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा रहेका विभिन्न दलहरूले प्रदेश सभा बैठक यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको आह्वानमा बुधवार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले सामूहिक रूपमा आन्दोलनपछि ठप्प प्रदेश सभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने सहमति गरेको हो ।
सभामुख भीम भण्डारीले बैठकमा प्रदेश सभा बैठक सञ्चालन गर्न सहरी विकास कार्यालयको सहयोगमा मर्मत सम्भार गर्ने तथा विभिन्न दातृ निकायले प्राविधिक उपकरण सहयोग गर्ने जानकारी गराएका थिए । केही समयभित्र प्रदेश सभा भवन बैठक बस्नेगरि तयार हुने र त्यसलगत्तै बैठक आह्वान गर्न सबै दल एकमत भएका छन् ।
त्यस्तै प्रदेशमा मन्त्री र प्रदेश सभा सदस्यको सुविधा यथावत् राख्ने सहमति समेत गरिएको छ।
सङ्घीय सरकारले यसअघि स्वकीय सचिवालय र स्वकीय सचिव हटाउन निर्देशन दिएको थियो। प्रदेश मन्त्रीको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्रै राख्न सङ्घीय सरकारले परिपत्र गरेको थियो। तर, हिजो मात्रै यस विषयमा पुन अर्थ मन्त्रालयले मार्ग प्रशस्त गरेको छ । त्यसलगत्तै सबेको सर्वदलीय बैठकले पुरानो सुविधालाई निरन्तरता दिने सहमति गरेको हो ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा सभामुख भीम भण्डारी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्तिका घनश्याम चौधरी, काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, माओवादीका अक्कलबहादुर रावल, राप्रपाकी खेमादेवी विष्ट र काँग्रेसका पदमबहादुर शाही सहभागी बैठकमा स्वकीय सचिवको सुविधाको विषयमा सबै दल एकमत भएका हुन्।
यस्तै, बैठकले प्रदेश सरकारका काम कारबाही प्रदेश ऐन र कानुन बमोजिम कार्यान्वयन गर्ने, प्रदेशको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सुरक्षा सम्बन्धी २३ र २४ भदौभन्दा पहिला भएको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारले निर्देशन दिने र प्रदेश सुरक्षा समितिको बैठकबाट सुरक्षा सम्बन्धी निर्णय लिइने समेत निर्णय गरेको छ ।

Leave a Reply