
रुपन्देही ।नेकपा (एमाले) रुकुम पूर्वले जनपरिचालनसहित महाधिवेशन तयारीका निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष लीलामणि गौतमले रुकुमकोटमा सम्पन्न जिल्ला कमिटी सचिवालयको सातौँ बैठकबाट केन्द्रीय कमिटीको दसौँ बैठकले तय गरेको नीति अनुरूप प्रतिगामी गतिविधिलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ उन्मुख गराउने उद्देश्यले जिल्लाभर जनपरिचालन कार्यक्रम गर्ने निर्णय गरेको जनाए ।
कार्यक्रमअनुसार कार्तिक २२ गते ३१ वटै वडामा वडा स्तरीय जनभेला, कार्तिक २५ गते सिस्नेको पोखरा, भूमेको लुकुम र पुथा उत्तरगंगाको तकसेरामा पालिका स्तरीय जनसभा र कार्तिक २९ गते रुकुमकोटमा जिल्ला स्तरीय जनसभा गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
यसैगरी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट र तयारीका विषयमा पनि बैठकले निर्णय गरेको छ। मङ्सिर १३ गते रुकुमकोटमा प्रतिनिधि छनोट हुने र त्यस क्रममा पार्टी सदस्यता नवीकरण, जिम्मेवारी पूरा गर्ने अवस्था, बैठकमा उपस्थिति, कार्यक्रम सहभागिता तथा जरा केन्द्रित अभियानमा प्राप्ताङ्कका आधारमा छनोट गरिने भएको छ।
बैठकमा कार्यालय सचिव हरिहर पौडेल, सिस्ने गाउँ कमिटी अध्यक्ष देवीलाल गिरि, भूमे गाउँ कमिटी अध्यक्ष धनकुमार पुन र पुथा उत्तरगंगा गाउँ कमिटी अध्यक्ष लक्ष्मण बुढामगरले आफ्ना–आफ्ना क्षेत्रका रिपोर्ट प्रस्तुत गरेका थिए।
बैठकमा जिल्ला अध्यक्ष गौतमले पार्टी केन्द्रीय कमिटीबाट जारी अन्तरपार्टी निर्देशन १३ र २०८२ असोज २९ देखि ३१ गतेसम्म सम्पन्न केन्द्रीय बैठकका निर्णयहरू प्रस्तुत गर्दै तिनलाई रुकुम पूर्वमा कडाइका साथ कार्यान्वयन गर्ने जनाए ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल शर्मा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य चूडामणि गौतम, प्रदेश सचिवालय सदस्य निर्माण बुढा, सदस्यहरू टोपबहादुर ओली, रुजिधन घर्ती र सल्लाहकार बलबहादुर केसीले समेत वर्तमान राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण र आगामी कार्यदिशाबारे सुझाव दिएका थिए।
बैठकले कलबहादुर खड्का सिस्ने, विष्णु देवकोटा सिस्ने, चन्द्रकला खड्का सिस्ने र बिजुली बुढा पुथा उत्तरगंगालाई जिल्ला कमिटी सचिवालय सदस्यमा मनोनीत गरेको छ।

Leave a Reply