
काठमाडौं । विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
बुधबार आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ ।
घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ ।
राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ । जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ ।
पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ । सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ ।

Leave a Reply