विद्यालय व्यवस्थापन समितिको बैठकमै अध्यक्षले प्रधानाध्यापक कुटे

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै कुटपिट गरेका छन्।

बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै दौरान तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेको सहभागीहरूले बताए।

“म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौँ। अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो,” बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले भने, “प्रअलाई निर्णय लेख्न केही असहज भएको देखिएपछि म सिकाइरहेको थिएँ, तर अध्यक्ष किन रिसाए बुझ्न सकिएन।”

कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ। घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो। घाइते भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको थियो।

यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *