फिलिपिन्समा कालमेगी आँधीको बबन्डर

काठमाडौं । फिलिपिन्समा कालमेगी नामको आँधीबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । सबैभन्दा बढी प्रभावित प्रान्त सेबुका बासिन्दाले ठूलो विनाशको सामना गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारका अनुसार घरहरू भग्नावशेषमा परिणत भएका छन् । सडकहरू भग्नावशेषले भरिएका छन् र जनजीवन अस्तव्यस्त छ ।

मानवीय उद्धारका क्रममा मिन्डानाओ टापुको अगुसान डेल सुरमा हेलिकप्टर दुर्घटनाग्रस्त भएका ६६ जना सैन्य कर्मचारीमध्ये छ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । २६ जना बेपत्ता भएको र १० जना घाइते भएको स्थानीय प्रकोप एजेन्सीले जनाएको छ ।

स्थानीय भाषामा टिनो भनिने कालमेगी आँधीबाट आएको विनाश उत्तरी सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प गएको एक महिनापछि आएको हो । भूकम्पबाट दर्जनौंको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए ।

समाचार अनुसार ‘फिलिपिन्समा आइपुगेको २० औं आँधी कालमेगी दक्षिण चीन सागर पार गर्दै भियतनाम जाँदै गर्दा थोरै तीव्र भयो, जहाँ शुक्रबार आँधी आउने अनुमान गरिएको छ र यसको पूर्वतयारी भइरहेको छ । मंगलबार बिहान जमिनमा पुगेपछि कमजोर बनेको कालमेगी दक्षिण चीन सागरमाथि पुनः बलियो हुने पूर्वानुमान राज्यको मौसम विज्ञान विभाग पगासाले आफ्नो पछिल्लो बुलेटिनमा जनाएको छ । घरहरू डुबानमा पार्ने र व्यापक बाढी र विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधी आउनुभन्दा पहिले दक्षिणी लुजोन र उत्तरी मिन्डानाओका केही भागहरू सहित भिसायास क्षेत्रभरि दुई लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सेप्टेम्बरमा सुपर टाइफुन रागासाले उत्तरी लुजोनलाई बगाएको थियो । जसले गर्दा तीव्र हावा र मुसलधारे वर्षा ल्याएकाले विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्नुपरेको थियो । राज्य मौसम एजेन्सी पागासाले कालमेगी र शियर लाइनको संयोजनले भिसाया र नजिकैका क्षेत्रहरूमा भारी वर्षा र तेज हावा ल्याएको बताएको छ। मंगलबार प्रभावित क्षेत्रहरूमा जाने र आउने १८० भन्दा बढी उडानहरू रद्द गरिएका थिए । समुद्रमा रहेकाहरूलाई तुरुन्तै नजिकको सुरक्षित बन्दरगाहमा जान र बन्दरगाहमै बस्न सल्लाह दिइएको थियो ।

भियतनामी सरकारले मंगलबार पनि कालमेगीको प्रभावको लागि तयार रहेको भन्दै सबैभन्दा खराब परिस्थितिको लागि तयारी गरिरहेको बताएको छ। भियतनामको मध्य क्षेत्रहरूमा बिहीबार राति समेत आँधी आउने पूर्वानुमान गरिएको छ । गत हप्तामा आएको बाढीका कारण कम्तीमा ४० जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन् ।

‘यो एकदमै शक्तिशाली आँधी हो, जुन पूर्वी समुद्रमा प्रवेश गरेपछि बलियो हुँदै गइरहेको छ,’ सरकारले दक्षिण चीन सागरलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ । प्रत्येक वर्ष औसत २० वटा उष्णकटिबंधीय आँधीबेहरीको चपेटामा पर्ने फिलिपिन्स हालैका महिनाहरूमा भूकम्प र गम्भीर मौसमी घटनाहरू लगायतका प्रकोपहरूको शृङ्खलाबाट मुक्त हुँदै गर्दा कालमेगी आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *