जेनजी फ्रन्टले माग्यो एन्फा पदाधिकारीको राजीनामा, फुटबलविरोधी निर्णय गरेको जिकिर

काठमाडौं । रक्षा बमको संयोजकत्वमा रहेको नेपाल जेन–जी फ्रन्टले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ’ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

फ्रन्टका सूचना सञ्चार समितिका यतिष ओझाले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै एन्फा र क्लबहरुबिचको सहमति नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र एन्फाको अधोगति भएको जनाएको छ ।

यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबलमाथि गरेको भ्रष्टाचार भएको फ्रन्टको ठहर छ । फ्रन्टले एन्फाको फुटबल विरोधी निर्णयविरुद्ध आवाज बुलन्द गर्न नेपाली फुटबल समर्थकलाई आव्हान गरेको छ ।

‘नेपाली फुटबल समर्थकलाई आह्वान गर्दछौंः अब चुप लागेर बस्ने समय छैन १ एन्फाको यो फुटबल विरोधी निर्णय विरुद्ध आवाज बुलन्द गरौँ । नेपाली फुटबल बचाउन एकजुट होऔँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलबाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत नेपाल जेन–जी फ्रन्टले माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *