
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा तथा पूर्व उप तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल जेन-जी आन्दोलनपछि मंगलबार पहिलोपटक रुपन्देही आए । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला उनी उप तथा अर्थमन्त्री रहेका थिए तर भदौ २४ मा प्रधानमन्त्रीले राजीनामा दिएसँगै सरकारबाट बर्हिगमन भयो । त्यसयता पौडेल पार्टीको औपचारिक बैठक बाहेकका कार्यक्रममा देखिएका छैनन् भने मिडियामा पनि खासै केही बोलेका छैनन् ।
पार्टी बैठकसहितका विभिन्न कार्यक्रम लिएर मंगलबार रुपन्देहीमा आएर उनले के बोल्छन् र महाधिवेशन एवम् नेतृत्वका विषयमा कुनै आधार दिन सक्छन् भन्ने अपेक्षा एमाले नेताकार्यकर्ताहरुले गरेका थिए । पार्टीको जिल्ला कमिटीको बैठक भनिएपनि यसमा रुपन्देहीमा रहेर केन्द्र, प्रदेश, जिल्ला तथा विभिन्न विभागमा रहेका नेताहरु तथा निकट रहेका पत्रकारहरु पनि बोलाइएका थिए ।
सधैंका बैठक र कार्यक्रममा निकै कम उपस्थित हुने भए पनि मंगलबार हलमा टेक्ने ठाउँ थिएन भने बाहिर उत्तिकै सङ्ख्यामा नेताकार्यकर्ताहरु उभिएर चासोका साथ सुनिरहेका थिए । विशेषगरी यो बैठकमा पुराना पुस्ताका अधिकांश नेताहरु सहभागी देखिन्थे । अन्य बैठक तथा कार्यक्रमहरुमा नेताहरु यसो अनुहार देखाएर फर्कने गरे पनि मंगलबार सुरुदेखि अन्तिम समयसम्म बसेका थिए अधिकांश नेता कार्यकर्ताहरु ।
जेनजी आन्दोलनपछि निर्धारित समयअगावे पार्टीको महाधिवेशन नजिकै आइरहेकाले पनि आफ्नो क्षेत्रका नेताले नेतृत्वको विषयमा के बोल्छन् र अब कसरी अघि बढ्छन् भन्ने चासो राख्नु स्वभाविक हुने सहभागीले बाहिर आएर बताइरहेका थिए । तर पौडेलले यो विषय प्रवेश त गरे तर कूटनीतिक रुपमा यसको जवाफ दिए । उनले केही नेताहरुले बोलेजस्तै केपी ओली महाधिवेशनबाट दोहोरिनुपर्छ भनेर पनि बोलेनन् र आफनो उम्मेदारीका विषयमा पनि मुख खोलेनन् ।
उनले यतिमात्रै भने–‘नेतृत्वको टुंगो लगाउने महाधिवेशनले हो, विधान महाधिवेशनले नीति तय गरेको छ, अबको महाधिवेशनले नेतृत्व टुंग्याउने हो, त्यसका लागि प्रतिनिधि छानिएर जाने हो र ती प्रतिनिधिको निर्णयका आधारमा नेतृत्वको टुंगो लाग्ने हो, अहिले मेरो उम्मेदारी कहाँ, कुन पदामा भन्ने विषयले अर्थ राख्दैन ।’
यसअघिको बैठकहरुमा समेत समानान्तर शक्तिमा रहन खोजेका उपाध्यक्ष पौडेल पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताका विषयमा भने नेतृत्वसँग विमति राख्दै त्यो विवाद समाधान गर्नुपर्ने राय राखेको विषय बाहिर आएको थियो ।
मंगलबार उनले पार्टी महाधिवेशनको विषयमा प्रष्ट सन्देश दिए कि अहिले नेतृत्वमा व्यक्तिको प्रचार गरेर समूह बनाउनु पार्टी हितमा छैन र त्यो महाधिवेशनका प्रतिनिधिको अधिकारमा निर्भर हुनुपर्दछ । ‘महाधिवेशनले नेतृत्व चयन गर्ने हो, प्रतिनिधिले त्यसको निधो गर्ने हो, विधानमा १५ जनाको पदाधिकारी, २५१ जना केन्द्रीय सदस्य बनाउने प्रस्तावित छ, त्यसमा को के हुन्छ प्रतिनिधिले छान्ने कुरा हो’ उनले भने –‘ पौडेल के पदमा उठ्छ अहिले निधो गर्ने कुरा होइन, लोकतान्त्रिक विधिमा जाने हो सकेसम्म सहमति नभए निर्वाचन, अहिले यो ठिक वा बेठीक भन्ने समय होइन ।
एकताको महाधिवेशन बनाउनुपर्ने छ, सबैतिरबाट पार्टीमाथि आक्रमण भएको बेला अहिले आन्तरिक एकता जरुरत छ, राष्ट्रिय शक्ति बनाउन अब व्यक्तिले होइन विधि र नीतिले काम गर्ने हो । ’ उनले नेतृत्वको निरन्तरता वा परिवर्तन महाधिवेशनबाट हुने भएकाले धेरै चासो नराख्न नेताकार्यकर्तालाई सुझाए ।
बैठकमा सहभागी एक नेताले भने–‘नयाँ पुस्ता त जिम्मेवारीमा रहेका आउने नै भए, पुराना पुस्ताका धेरै नेताहरुको सहभागिता देखियो, पार्टीलाई संकटमा साथ दिनुपर्छ भन्ने भावनाका नेताहरु धेरै सहभागी भए, नेतृत्वमा समस्या नभए कार्यकर्ता तहमा समस्या छैन पार्टीमा तर जुंगाको लडाईमा माथि नेताहरुले ग्रुप बनाएर समस्या भइरहेको छ, यस्तो अवस्थामा एमालेमा आउनलाई बन्देज लगाउने, शर्त राख्ने अनि विद्या भण्डारीको सदस्यता रोक्ने जस्ता विषयले अनावश्यक प्रवेश पाएर समस्या भयो । ’
भदौ २३ र २४ गतेका घटनाको गम्भीर छानबिन हुनुपर्छ
एमालेका धेरै नेताहरु र तत्कालीन सरकारमा रहेका धेरै मन्त्रीहरुले जेनजी आन्दोलनको घटनाको विषय आउँदा २४ गतेको घटनाको छानविन हुनुपर्ने विषय जोडतोडले उठाउँछन् तर पौडेलले मंगलबार २३ गते भएको घटनाको गल्ती स्वीकार गरेका छन् र यसको छानविन हुनुपर्ने विषयमा प्रष्ट धारणा राखे ।
‘भदौ २३ गतेको घटनाको गहिरा छानबिन हुनुपर्छ, निर्दोष बालबालिका मरेका छन् नि, उनीहरुको के दोष थियो ? सँगै २४ गते देशव्यापीरुपमा भएको अर्बौंको नोक्सानीका अपराधी कठघरामा ल्याइनुपर्छ । अहिले कुनै कारणले उम्के पनि कुनै दिन कठघरामा आउँछन्’ उनले भने ।
जेनजीका माग जायज थिए, हाइज्याक भएर विध्वंसकारीको हातमा पुग्यो
सम्बोधनका क्रममा नेता पौडेलले तत्कालीन समयमा जेनजीले उठाएका मागहरु जायज भएपनि विभिन्न शक्तिबाट हाइज्याक भएकाले विध्वंसमा परिणत भएको जनाए ।
‘जेनजीका माग जायज थिए, हामीले पनि उठाइरहेका, उठाउनुपर्ने थिए, उनीहरुले शान्तिपूर्ण आन्दोलन घोषण गरेका थिए तर उनीहरुले आन्दोलन सकिएको घोषणा गरेपनि पनि जेनजीको नाममा अनेकौं किसिमका मान्छे छिरे। जेनजीको आन्दोलन हाईज्याक गरेर हिंसात्मक बनाए, ठूलो विध्वंशले देशलाई कति घाटा लाग्यो भन्ने अहिलेसम्म आधिकारिक तथ्य आउन सकेको छैन ।’
संसद पुनःस्थापना भनेपनि एमाले चुनावबाट भाग्दैन
नेता पौडेलले अहिलेको निकास संसद पुनःस्थापनाबाटै हुने र त्यसपछि संविधानअनुसार अघि बढन्पर्ने तर त्यसको नेतृत्व एमालेले नै गर्नुपर्छ भन्ने नभएको प्रष्ट्याए । ‘मुलुक संविधानको पाटोबाट लाग्नुपर्छ, संसद पुनःस्थापन नै यसको विकल्प हो, त्यसबाट नयाँ सरकार बन्ने हो, हामीले मानेका छौं आन्दोलनबाट आएको सन्देशअनुसार त्यसरी पुनःथापना भएको सभा बाहिरबाट पनि ल्याएर अनुमोदन गराउन सकिन्छ, नेतृत्व दिन सकिन्छ त्यसपछि त्यो सरकारले गर्ने नयाँ निर्वाचन नै विकल्प हो’ उनले भने । उनले अहिलेको सरकार संविधानभन्दा बाहिर रहेको र यसले निर्वाचन गराउनै नसक्ने उनको तर्क थियो ।
‘पुनःस्थापन भनेर एमालेले चुनाव बहिष्कार भनेको होइन, यो सरकारले नै चुनाव चाहेको छैन, फागुनमा हुने चुनावको अहिलेसम्म कुनै तयारी छैन । हाम्रो दल निश्चित हुने चुनावी तयारीमा छ, सरकारले चुनाव गराइरहेको छैन’ उनले भने –‘अब लाखौं मान्छे सडकमा उतारेर प्रतिनिधि सभा पुनःस्थापन गरेर चुनाव गराउने हो । त्यसका लागि सबै नेता कार्यकर्ता तयारीमा रहनुपर्छ ।’ ‘राजनीतिक पार्टीमाथि प्रतिशोध गरेर निर्वाचन हुनै सक्दैन, यो प्रणाली हुने विधिमा आउनुपर्यो पार्टी र पार्टीका नेताहरु किनारा लगाएर चुनाव हुन सक्दैन, उनले भने । नेता पौडेलले आन्दोलनमा एमालेमाथिको आक्रमण, राष्ट्रिय सम्पतिको नोक्सानी र अन्य शक्तिको चलखेलको विषयमा वास्तविकता जनतालाई बुझाउन जरुरी रहेको र त्यो अभियान लुम्बिनीबाट सन्देश दिनुपर्ने जनाए ।
‘राजाले कु गरेको समयमा देशभर मान्छे सडकमा नआएको बेला लुम्बिनीमा त्यसमाथि बुटवलमा एमालेले गरेको विशाल प्रदर्शनी एेतिहासिक थियो । कार्यक्रममा आउनेहरुलाई सबैतिर रोक्दा सहभागिताको त्यो अवस्था थियो । अब पनि त्यसरी नै लाग्नुपर्छ’ उनले भने–‘नेताहरूले काम गर्न नसके पार्टीबाट बिदा गरौ तर पार्टीलाई जोगाउने काम कार्यकर्ताको हो । कुनै व्यक्तिले गरेका त्रुटि केलाउने हो, कमजोरी सच्चाउने हो त्यो नभए हटाउने हो । रूपन्देही सुस्ताउन सक्दैन, हुदैन । लुम्बिनीबाट देशव्यापी सन्देश दिने हो ।’

Leave a Reply