
काठमाडौं । सेन्सर बोर्डले केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘कोसेढुंगा’ लाई पूर्णरुपमा रोक लगाउन निर्णय गरेको छ । सेन्सरको निर्देशन पालना नगरेको भन्दै बोर्डले आज सो निर्णय लिएको हो ।
गत भदौ ११ गते बोर्डले चलचित्रको विभिन्न स्थानमा बोलिएका ‘अश्लिल अर्थ लाग्ने’ संवादहरु हटाएर प्रदर्शनका लागि अनुमति दिएको थियो । तर, हटाउन भनिएका संवादहरु नहटाइकन प्रदर्शनमा ल्याइएको भन्दै गत भदौ १९ गते सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गर्यो । चलचित्र प्रदर्शनको अनुगमन गरी सेन्सरबमोजिम प्रदर्शनको व्यवस्था मिलाउन र प्रतिवेदन पेश गर्न मन्त्रालयले बोर्डलाई भनेको थियो । तर, अनुगमनका क्रममा सेन्सर बोर्डको निर्देशन पालना नभएको पाइएपछि प्रदर्शन स्थगनको निर्णय लिइएको हो ।
यसैगरी आज बसेको बोर्ड बैठकले हाल प्रदर्शनमा रहेको चलचित्र ‘जेरी अन टप’ लाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । सो चलचत्रिमा धुम्रपान र मद्यपानको दृष्यमा नियमबमोजिम कुनै सन्देशहरु नराखिएको तथा ‘फ…’ जस्ता शब्दहरुमा विप नलगाइएकाले स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको पत्र आजै पठाइएको बोर्डका सदस्य सम्पूर्ण श्रेष्ठले बताए । पत्रकार जवाफ आएपछि थप निर्णय लिइने उनको भनाइ छ ।

Leave a Reply