
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताको अनौपचारिक प्रस्ताव गरेको छ ।
समान बिचार भएका राजनीति दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नको लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट प्रस्ताव गरेका हुन् ।
लिङ्देन निवास ललितपुरको लामाटारमा आज बिहान भएको भेटघाट र छलफल सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणका बारेमा गम्भीर छलफलका साथ समान बिचार भएकाहरू बिचको सहकार्य र एकताको आवश्यकता बारे गहिरो चर्चा परिचर्चा भएको समेत उनले बताए ।
‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ, पार्टी भित्र छलफल गरी पुनः चाडै नै छलफलमा बस्ने भन्नुभएको छ’ लिङ्देनको भनाई उद्धृत गर्दै बर्तौलाले भने ।
लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए ।

Leave a Reply