
काठमाडौं । भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा सबभन्दा बढी क्षति व्यहोरेको नेपाल प्रहरीले उक्त घटनाको जाँचबुझ गर्न गठित आयोगलाई कतिपय सन्दर्भमा बेवास्ता गरेको भन्दै आयोगका पदाधिकारी असन्तुष्ट भएका छन् ।
प्रहरी महानिरीक्षकको सचिवालयले २३ गते विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण दिन आनाकानी गरेपछि जाँचबुझ आयोगले प्रहरीका जिम्मेवार उच्च अधिकृतमाथि ‘मानहानी’ मुद्दा नै लगाउने चेतावनी दियो । त्यसपछि उक्त सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई कर्मचारीहरूको विवरण आयोगलाई बुझाउन सोमबार पत्राचार गरेको छ ।
प्रहरी स्रोतका अनुसार, आइतबार मुख्यमुख्य कमाण्डरका हकमा स्थानहद जारी गरेपछि पनि प्रहरीले खटिएका अन्य कर्मचारीको विवरण दिएन । आयोगलाई पठाइएको पत्रमा जेनजी आन्दोलनका बेला सिपाहीदेखि आइजिपीसम्म सकल दर्जा फिल्ड खटिएको जवाफ दिएको छ । देशभर सबै प्रहरीकर्मी खटिएकाले एकाधलाई भिक्टिम बनाउन नहुनेमा प्रहरी नेतृत्व चनाखो देखिएको छ ।
त्यसपछि सोमबार आयोगले २४ घण्टाभित्र नामावली बुझाउन अर्को चेतावनीयुक्त पत्राचार गरेको थियो । उक्त पत्र प्राप्त हुनासाथ महानिरीक्षकको सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको विवरण आयोगमा पेश गर्न पत्रसाथ आदेश दिएको छ ।
यसबारे जाँचबुझ आयोगका प्रवक्ता एवं पूर्वएआईजी विज्ञानराज शर्मासँग जिज्ञासा राख्दा प्रहरीलाई सचेत गराइएको बताए ।
‘उहाँहरूले नाम संकलन गर्दैछौँ भन्नुभएको छ, हामीले ती नाम पाइसकेका छैनौँ’, उनले भने । प्रहरीका नामावली प्राप्त भएपछि उनीहरुसँग गर्नुपर्ने सोधपुछका तालिका बनाउने तयारीमा आयोग थियो । नाम नआएपछि घटनाका दुवै दिनका सम्पूर्ण कमाण्डरको पहिचान आयोग आफैँले गरेर उनीहरूका हकमा स्थानहद जारी भएको हो । प्रवक्ता शर्माका अनुसार ती कमाण्डरसँग चाँडै नै बयान सुरू हुने भएको छ ।
‘हामीसँग कार्य अवधि पनि कम छ, त्यसैले गर्नुपर्ने कामका सम्पूर्ण कानूनी र व्यवहारिक प्रक्रियाअनुसार चाँडोभन्दा चाँडो काम सिध्याउँछौँ’, उनले भने ।
खटिएका कर्मचारीको नाम पठाउनुको अर्थ सबैमाथि उस्तै कारबाही हुन्छ भन्ने भय प्रहरीमा देखिएको आयोग स्रोत बताउँछ । तर, आदेश दिने कमाण्डर र आदेश पालना गर्नेका हकमा उस्तै व्यवहार नहुने स्रोतको भनाइ छ ।
‘२३ गतेको स्थिति नियन्त्रणमा लिन नसक्नुका दोषी को-को हुन् भन्ने कुराको अध्ययन आयोगले आफ्नै किसिमबाट गरिसकेको छ, २४ गते कार्यालय छोडेर हिँड्ने, ३ प्रहरी मारिने, हातहतियार लुट्पाट हुनेजस्ता घटनाका कारक कमाण्डरको पहिचान पनि भएको छ’, स्रोतले भन्यो ।
यद्यपि, कतिपय काम गर्नका निम्ति कानूनका विधिबमोजिम अगाडि बढ्नुपर्ने कारण प्रहरीसँग खटिएका कर्मचारी विवरण माग गरिएको हो ।
प्रहरी नेतृत्वले आयोगप्रति गरेको व्यवहारपछि आईजी चन्द्रकुवेर खापुङलाई पनि निगरानीमा राखिएको स्रोतले जनाएको छ । उनी २६ गते मध्यरात सेवा निवृत्त हुँदैछन् र त्यही रात उनको राहदानी रोक्काको औपचारिक सूचना जारी गर्ने आयोगको तयारी छ ।
यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको राहदानी रोक्का पनि सेवा निवृत्त भएकै दिन गरिएको थियो ।

Leave a Reply