
कैलाली। कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सन्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।
गाउँका सबैले कठरियालाई स्नेहपूर्वक ‘रामदास डाक्टर’ भनेर सम्बोधन गर्छन् । तर उनी डाक्टर होइनन्, वैद्य पनि होइनन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् ।
हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, ‘यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।’ त्यसपछि उपचार गर्छन्। आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन ।
त्यसो त उनको यो सीप संयोगले प्राप्त गरेको भने होइन । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए। बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दाहेर्दै उनीमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो ।
‘हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्नुहुन्थ्यो । त्यही क्रममा हातमा सीप बस्दै गयो’ उनले भने । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरेको बताउँछन्। अहिले त्यही सीप उहाँको परिचय बनेको हो ।
४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको। उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।
कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो ।
बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउनु उनको शैली हो ।
उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी बनेको छ । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन्। बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् ।
‘मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ’ भजनीका भागिलाल चौधरीले आफ्नो अनुभव सुनाउँदै भने ।
हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।
उपचारमा उहाँ प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन्। उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् । ‘ यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो ।
‘मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,’ उनी भन्छन्, ‘उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठुलो खुसी हो ।’
उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् ।

Leave a Reply