
काठमाडौं । एकीकृत समाजवादीसहित साना दल/समूहसँग पार्टी एकता गर्ने निर्णयले नेकपा माओवादी केन्द्र पनि विभाजनतर्फ अघि बढेको छ । आइतबार माओवादीको केन्द्रीय कार्यालयमा ८ दलबीच एकताको सहमतिमा हस्ताक्षर भएसँगै माओवादी केन्द्रमा विभाजनको रेखा कोरिएको हो ।
सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
आजै मात्रै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि एकता प्रक्रियामा समाहित भएको छ । उनीहरूले पार्टीको नाम अहिलेसम्म तय गरेका छैनन्। चुनाव चिह्न भने ‘पाँचकुने तारा’ रोजेका छन् ।
प्रचण्डले माओवाद छोड्दै ‘मार्क्सवाद-लेनिनवाद’लाई मात्र मार्ग निर्देशक सिद्धान्त मान्ने सहमति गरेपछि जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायत नेताहरूले यो एकता प्रक्रियामा सामेल नहुने घोषणा गरेका छन् ।
त्यसो त शनिबार बसेको सचिवालय बैठकमा उपमहासचिव शर्माले लिखित रूपमै आफ्नो फरक मत राख्दै एकता प्रक्रिया तत्काल रोक्न माग गरेका थिए । तर, प्रचण्डले शर्मानिकट नेताहरूलाई अन्तिम समयसम्म फकाउने नमाने एकता प्रक्रिया अघि बढाउने नीति लिएका छन् ।
यो एकताको निर्णयले नेकपा एकीकृत समाजवादीबाट सम्मानित नेता झलनाथ खनाल र घनश्याम भुसाल अलग भएका छन् । यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि फुट्यो। यो एकता प्रक्रियाबाट रुष्ट भएकाहरूले अलगै धार निर्माणको गृहकार्य गरिरहेका छन् ।
माओवादीले एकता प्रकियाबारे निर्णय लिन १८ गते बस्ने गरी विघटित केन्द्रीय समितिको बैठक पनि राखेका छन् । असन्तुष्ट पक्षहरूले त्यहाँ पनि आफ्नो कुरा राख्दैछन् ।
यद्यपि, प्रचण्डको पक्षमा स्पष्ट बहुमत भएकाले एकता प्रक्रिया नरोकिनेगरी अघि बढिसकेको छ । एकता प्रक्रियामा शर्मासँगै असहमति राखेका तत्कालीन सचिव राम कार्कीसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी:
– हिजोको पार्टी एकताको सहमतिलाई कसरी लिनुभएको छ ?
अहिले नेपालमा विद्यमान पार्टीहरूलाई कम्युनिस्ट पार्टी बनाउनै बाँकी छ । माओत्सेतुङ ले पहिले नै भन्नुभएको थियो, ‘कोही ४०, कोही ५०, कोही ६० प्रतिशत मात्रै कम्युनिस्ट छन्’ भनेर । सत प्रतिशत कम्युनिस्ट कोही छैनन् । अहिले भएका पार्टीहरूले त कम्युनिस्ट पार्टीका रूपमा आफ्नो औचित्य गुमाइसकेका छन् ।
नेपालका यी पार्टीहरूले पछिल्ला २० वर्षमा मजदुर, किसान, सुकुमबासीहरूको पक्षमा कुनै काम गर्न सकेका छैनन् । त्यसैले यी पार्टीहरूको सान्दर्भिकता सकिएको छ । पार्टीभित्रकै मानिसहरूले आँट गरेका थिएनन् तर भदौ २३ र २४ गते नवयुवाहरूले विद्रोह गरे । त्यो विस्फोटले पनि पार्टीहरूले आफ्नो सान्दर्भिकता गुमाइसकेको पुष्टि गर्यो ।
यो स्थितिमा पार्टीको पुनर्निर्माण आ-आफ्नो ठाउँबाट गर्न कोसिस गर्नुपर्ने हो । तर बिग्रेका, भत्किएर आफ्ना आदर्श गुमाउँदै गएका, राजनीतिक संस्कृति गुमाएका पार्टीहरू जम्मा भएर कम्युनिस्ट पार्टी बन्दैन बन्दैन । यो एकताले गर्छ ? यसको लक्ष्य के हो ? अहिलेसम्म थाहा छैन ।
– त्यसो भए अब यो एकता प्रक्रियामा तपाईँ सामेल हुनुहुन्छ कि हुन्न ?
म त यो एकता प्रक्रिया रोक्ने पक्षमा थिएँ । अस्ति पार्टी बैठकमा पनि यो कुरा मैले भनेको थिएँ । अब पार्टी पुनर्गठन गर्नुपर्छ भनेको थिए, त्यो कुराको खासै सुनुवाइ भएन । रङ्गीबिरङ्गी मान्छेहरूसँग धमाधम एकता प्रक्रिया सुरू गरे । राजनीतिक इतिहास र पृष्ठभूमि पनि थाहा नभएकाहरूसँगको एकताले पार्टीलाई कहाँ पुर्याउँछ ?
नवयुवाहरूले भ्रष्टाचारविरुद्ध ठूलो बलिदान गरे, नेपालमा भ्रष्टाचारविरुद्ध यति ठूलो बलिदान अहिलेसम्म कहिल्यै भएको थिएन । तर, भ्रष्टाचारको मुद्दा लागेका मान्छेहरूलाई सोरेर ल्याएर कसरी क्रान्तिकारी पार्टी बन्छ ? त्यो पार्टीको उद्देश्य के ? त्यो मजदुर, किसान, सुकुमबासीका निम्ति हो कि ? चुनाव जित्नको लागि मात्रै हो ? त्यो स्पष्ट नभएकाले त्यो एकता प्रक्रियामा म सामेल हुन्नँ, जान्नँ ।
– तपाईँले पनि सामेल हुन्न भन्नुभयो, जनार्दन शर्माको पनि त्यही कुरा छ। तपाईँहरूको बेग्लै तयारीमा हुनुहुन्छ ?
म, जनार्दन मात्रै होइन, थुप्रै साथीहरू सहभागी हुनुहुन्न । चर्चामा आएका, मन्त्री भएका केहीको मात्रै नाम अहिले चर्चामा छ । तर, धेरै पुराना मान्छेहरू जसले आफ्नो ठाउँमा बसेर काम गरेका, यो आन्दोलनलाई सघाएका मान्छेहरू नाखुस छन् । प्रसन्न छैन ।
हाम्रो धारणा भनेको अब एकीकृत कम्युनिस्ट पार्टीको निर्णय होस् भन्ने नै हो। त्यसका निम्ति आफ्नो ठाउँबाट काम गर्छौँ ।
– त्यो भनेको माओवादी केन्द्रलाई नै पुनर्गठन गर्नुहुन्छ कि अर्कै तयारी छ ?
एकीकृत पार्टी बनाउन त आ-आफ्नै बनाएर त कसरी हुन्छ र ? अब नेकपा क समूह, नेकपा ख समूह, नेकपा ग समूह बनाएर अब काम छैन । पार्टीको त कमी छैन नि यहाँ । खास मजदुर, किसान र जनताको आधारभूत हितको संरक्षण गर्ने पार्टी भएन । त्यो पार्टी निर्माणमा हामी जुट्छौँ । त्यसका लागि अस्वाभाविक रूपमा अभियान चलाउनुपर्छ, त्यो अभियानमा सामेल हुन्छौँ ।
– तपाईँले भन्नुभएको अभियान भनेको कस्तो हुन्छ ?
अहिलेको परिस्थितिमा आफ्नो पार्टी बनाउन थालियो भने त फेरि धेरै पार्टी बन्छ। त्यसैले हामीले एकीकृत अभियान नै चलाउने हो । त्यसको मोडिलाटी बन्दैछ।
– एकीकृत अभियानका लागि अहिले को-कोसँग संवादमा हुनुहुन्छ ?
अहिले हामीले प्रारम्भ गर्दैर्छौँ । उहाँहरूले हतार हतार एकता गर्नुभयो । हामीले त प्रारम्भिक रूपमा विभिन्न साथीहरूसँग छलफल गरिरहेका छौँ।
– भनेपछि एकतासँग माओवादी विभाजित पनि हुँदै छ ?
उहाँहरूले त विभिन्न समूह ल्याउनुभएको छ। तर हामीले विभाजन होइन, एकीकृत हुनको लागि अभियान चलाउन लागेका हौँ। त्यहाँ भएका धेरै मान्छेहरू बाहिर आउँदै हुनुहुन्छ। माओवादीभित्रबाट मात्रै होइन, विभिन्न समूहमा बसेकाहरू बाहिर आउनुपर्ने आवश्यकता छ, आउँदै हुनुहुन्छ पनि ।
– एमाले, नेकपा एसका असन्तुष्ट पक्ष सबैसँग संवादमा हुनुहुन्छ ?
अहिले हामी देखिएर चर्चामा छौँ। अस्तिको जेनजी आन्दोलन पनि अनुहारहीन नै थियो नि, नेतृत्व देखिएको थिएन । त्यस्तै थुप्रै मान्छेहरू अदृश्यमा छन्। उनीहरू एकीकृत अभियानमा आउँछन्, त्यही अनुसार हामीले तयारी गरिरहेका छौँ ।

Leave a Reply