
चितवन । नेपाली किसानले उत्पादन गरेका महले नेपाली बजारको मागलाई धान्ने हुँदा स्थानीय बजार प्रवर्द्धन गर्न डेढ वर्षदेखि गरिएको मह आयात रोक वर्तमान सरकारले खुलाएको छ ।
मह बिक्रीको सिजन आएलगत्तै कृषि मन्त्री डा.मदनप्रसाद परियारले बैठक बसेर बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्नेगरि आयात खुला गरेका हुन् ।
कात्तिक २७ गते मन्त्री डा. परियारको अध्यक्षतामा बैठक बसेर कृषि विकास सचिव डा। गोविन्दप्रसाद शर्मा, पशुपंक्षी विकास सचिव डा। कुमार खराल तथा सम्बन्धित कार्यालयका व्यक्ति र नेपालमा मह भित्र्याउन बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जली नेपाल र नेपाल मौरीपालक महासंघका कोषाध्यक्ष समेत सहभागी थिए ।
उक्त बैठकले आर्थिक वर्ष २०८२ र ०८३ को दोस्रो त्रैमासिक कोटा भन्दै १२५ मेट्रिक टन डाबर नेपाल र ४० मेट्रिक टन मह पतंजली नेपाललाई उपलब्ध गराउने निर्णय गरेको प्रतिलिपी सार्वजनिक भएको छ ।
मौरीपालक महासंघका कोषाध्यक्ष जनकबाबु तिवारीले बैठकको लागि भनेर मन्त्राालयबाट बोलाइएपनि पछि मह आयात गर्न स्वीकृति दिने निर्णय गरिएपछि आफूले उपस्थितिमा मात्रै हस्ताक्षर गरेर निर्णय नमान्ने भनेर फर्किएको बताए ।
नेपाल प्रेससँग कुरा गर्दै कोषाध्यक्ष तिवारीले महासंघसँग मह पर्याप्त हुँदाहुँदै डाबर नेपालले पर्याप्त मह नदिएको भन्दै आयात गर्न पाउनुपर्ने बताएपछि मन्त्राालयले स्वीकृति दिएको गुनासो गरे ।
मन्त्रालयले मह खरिदको अनुमति दिएसँगै मह किसानहरुले विरोध गरेका छन् । मौरीपालक महासंघका किसानहरुसहित उनीहरुले नेपालमा नै पर्याप्त मह उत्पादन भएकोले आयात निर्णय रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
नेपालमा महको वर्षिक उत्पादन करिब ५ हजार मेट्रिक टन हुने गरेको छ । जसमा १ हजार मेट्रिक टन सेरेना प्रजाति र ४ हजार मेट्रिक टन मेलिफेरा प्रजातिको मह उत्पादन हुने महासंघका पूर्व अध्यक्ष शिव पौडेलले बताए । नेपालमा अहिले व्यवसायिक मह उत्पादनमा १२ हजारको हाराहारीमा किसान आवद्ध छन् ।
पूर्व अध्यक्ष पौडेलले १० मेट्रिक टन तोरीको मह किन्ने बाहनामा कृषि मन्त्रीले नै चलाखीपूर्वक बहुराष्ट्रिय कम्पनीलाई मह आयात गर्न स्वीकृति दिएको गुनासो गरे । महासंघमा आवद्ध भएकासहितका किसानले आज चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई मह आयात रोक्न ध्यानाकर्षण गराएका छन् ।



Leave a Reply