
काठमाडौं । आइतबार बिहार विधान सभाको चुनावी माहोलको सरगर्मी निकै बढेको देखियो । भाजपा र कांग्रेसका वरिष्ठ नेता, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र लोकसभाका विपक्षी नेता राहुल गान्धी बिहार पुगे । चुनावी अभियानमा जनसम्पर्क र गतिविधि बढाए । बिहारमा पहिलो चरणको निर्वाचनका लागि मात्र तीन दिन बाँकी छ ।
प्रधानमन्त्री मोदीले राष्ट्रिय जनता दल (राजद) र कांग्रेस नेतृत्वको महागठबन्धनमाथि कटाक्ष गरे । उनले ‘कनपट्टीमा कट्टा’ राखेको प्रसंगदेखि राहुल गान्धीले बेगूसरायमा माछा मार्नेहरूसँग हिलाम्मे तलाउमा पौडिएको प्रसङ्गमाथि व्यङ्ग्य गरे ।
आइतबार राजनीतिक र्याली र नेताहरूका महत्वपूर्ण अभियान आयोजना गरियो ।
बिहार विधान समभा चुनावका लागि ६ नोभेम्बर र ११ नोभेम्बरमा दुई चरणमा निर्वाचन हुँदैछ । १४ नोभेम्बरमा मतगणना हुने छ । निर्वाचनमा जेडीयू–बिजेपी नेतृत्वको एनडीए र विपक्षी इन्डिया ब्लक मुख्य दावेदार छन् । चुनावी रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीको आगमनलाई समेत बलियो प्रवेशका रुपमा लिइएको छ ।
नरेन्द्र मोदीको कनपट्टीमा कट्टा टिप्पणी
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको नवादामा राजदका नेता तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार बनाउने विषयमा टिप्पणी गरेका थिए । उनले कांग्रेसको कन्चटमा कट्टा राखेपछिमात्रै उनले मुख्यमन्त्रीको उम्मेदवारी पाएको बताएका थिए ।
मोदीले आइतबार भोजपुर र नवादा जिल्लामा लगातार र्याली निकालेका थिए । र पटनामा वृहत कोणसभा आयोजना गरेका थिए ।
प्रधानमन्त्री मोदीले विपक्षी गठबन्धनमा दुई ठूला घटक बीच तिक्तता रहेको बताएका थिए । जसले ‘इतिहासको सबैभन्दा नराम्रो हार’ तर्फ डोर्याउने र एनडीएले कीर्तिमानी जित निकाल्ने मोदीको दाबी थियो ।
दशकौंदेखि भाजपाको गढ रहेको पटनामा प्रधानमन्त्री सहभागी कोणसभमा अपेक्षाभन्दा बढी भीड देखिएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्पसले उल्लेख गरेको छ । मोदीले सामाजिक सञ्जाल एक्समा उपस्थितलाई ‘स्नेह र आशिर्वाद’ का लागि धन्यवाद दिएका थिए । यद्यपि विपक्षीले कोणसभामा मुख्यमन्त्री र जेडी (यु) अध्यक्ष नीतीश कुमारको अनुपस्थितिका विषयमा प्रश्न उठाएका थिए । गत वर्ष भने लोकसभा चुनावका क्रममा नीतीश कुमार मोदीको कार्यक्रममा उपस्थित थिए ।
यसैबीच गृहमन्त्री अमित शाहले मुजफ्फरपुर र वैशाली जिल्लाको भ्रमण गरेका छन् । उनले एनडीए र इन्डिया ब्लकका बीच अन्तर देखाउने प्रयास गरेका थिए । राजद नेतृत्वको गठबन्धन सत्तामा आयो भने अराजकता फर्किने र सरकारले ‘हत्या’, ‘अपहरण’ र जबरजस्ती असुलीजस्ता तीन नयाँ विभाग बनाउनुपर्ने आरोप लगाए ।
बेगूसरायमा राहुल गान्धीको पौडी
प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहद्वारा भारत ब्लकमाथि आलोचनाका बीच कांग्रेस सांसद राहुल गान्धीले बेगूसराय र खगडिया जिल्लामा र्यालीलाई सम्बोधन गरेका थिए । उनले प्रधानमन्त्री मोदीमाथि तीखो प्रहार गरेका थिए ।
मोदीले आफ्नो ५६ इञ्चको छाती रहेको भने पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन सिन्दुरका क्रममा उनलाई फोन गर्दा ‘डराएको’ गान्धीले टिप्पणीगरे । मोदीले त्यसैक्रममा पाकिस्तानसँग अचानक सैन्य संघर्ष रोकेको गान्धीले आरोप लगाएका थिए ।
सरकारले ठूला व्यापारिक घरानाको हितमा काम गरेको राहुलले आरोप लगाए । सरकारले बिहारमा ‘औने–पौने’ दाममा जमिन बिक्री गरिरहेको उनको आरोप थियो । गृहमन्त्री अमित शाहको भनाइ ‘जमिनको कमीका कारण औद्योगिक विकासमा बाधा उत्पन्न भइरहेको’ लाई गम्भीरतापूर्वक लिन राहुलले जनतालाई आग्रह गरे ।
हिन्दुस्तान टाइम्सका अनुसार बेगूसरायमा र्यालीपछि उत्तर प्रदेशको रायबरेलीमा रहेको हिलाम्मे तलाउमा राहुल गान्धीले माछा मार्ने मछुआरा सहभागी कार्यक्रममा सहभागी भएका थिए । तलाउमा छातीसम्म आएको पानीमा हिंडिरहेको देखिएका थिए । उनले आफ्नो कपडा फोहोर भएको समेत वास्ता गरेनन् ।
खगडियास्थित कोण सभामा राहुलले भने, ‘मैले जे गरेँ, गरेँ किनभने म चाहान्छु किसान, माछा मार्ने जाति र उनीहरुले महसुस गरुन राहुल गान्धी उनीहरुको साथमा उभिएको छ ।’
‘यदि कोही ठूला व्यवसायका मालिकले मलाई वैवाहिक कार्यक्रममा आमन्त्रित गर्छन् भने म त्यसलाई अस्वीकार गर्छु, तर यदि कोही गरिब गाउँका किसानले मलाई आमन्त्रण गर्छन् भने म त्यहाँ अवश्यै जान्छु,’ गान्धीले भने, ‘जसको परिवारमा तीन पूर्व प्रधानमन्त्री छन् र जसलाई उनीहरुका आलोचकले व्यङ्ग्यात्मक रुपमा युवराज भन्छन् ।’
तेजस्वी यादव मैदानमा
राजद नेता तेजस्वी यादवले पनि आइतबार आफ्नो अनवरत यात्रा जारी राखे । जित निश्चित भएको भन्दै उनले पत्रकारसँग भने, ‘१४ नोभेम्बरमा चुनावको परिणाम घोषणा हुनेछ । १८ नोभेम्बरमा शपथ ग्रहण समारोह हुनेछ । त्यसपछि २६ नोभेम्बरदेखि २६ जनवरीका बीच तेजस्वीले सुनिश्चित गर्नेछ, सबै अपराधी चाहे उनकै जाति र धर्म जेसुकै होस् ती सबै जेलमा हुनेछन् ।’ उनले अनन्त सिंहको गिरफ्तारीका विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै थिए ।
अनन्त सिंह एक विवादास्पद पूर्व विधायक हुन् । जो केही समयका लागि ‘राजद’ मा थिए । तर आसन्न निर्वाचनमा मोकामादेखि जदयूको टिकटमा चुनाव लड्दैछन् ।
एनडीएको चुनावी सभामा नीतीश कुमारको अनुपस्थिति आश्चर्यजनक नरहेको तेजस्वी यादवले सोमबार बताए । उनका अनुसार गठबन्धनले उनलाई मुख्यमन्त्री बनाउने योजना बनाएको छैन।
समाचार एजेन्सी एएनआईले तेजस्वी यादवलाई उद्धृत गर्दै भनेको छ, ‘यसमा आश्चर्यको के कुरा छ र ? सबैलाई थाहा छ कि भाजपाले नीतीश कुमारलाई मुख्यमन्त्री बनाउने छैन ।’
मोदीले टिप्पणी गरेको ‘कट्टा’ का विषयमा तेजस्वी यादवले समेत आलोचना गर्दै भनेका छन्, ‘कहीँ कतै कुनै प्रधानमन्त्रीले यस्तो भाषा बोलेको देखिएको छैन ।’ उनले भने, ‘जसको जस्तो सोच छ त्यस्तै भावना प्रकट हुन्छ, उनी त्यस्तै काम गर्छन् र त्यस्तै बोल्छन् । हुन सक्छ उनले कसैलाई एनडीएमा प्रवेश गराउन बन्दुक देखाएका हुन् । म यस विषयमा कुनै टिप्पणी गर्न चाहान्न । तर प्रधानमन्त्रीको भाषा सुन्नुहोस् । मैले अहिलेसम्म कुनै प्रधानमन्त्रीले यस्तो भाषा बोलेको सुनेको छैन ।’

Leave a Reply