
जेन-जी आन्दोलनपछि अहिले सबैको मनमा एउटा प्रश्न छ- अब जेन-जीले के गर्छ ? आन्दोलनको लहरले पुरानो राजनीतिक संरचना हल्लाइसकेको छ । तर अब त्यो ऊर्जा संस्थागत रूपान्तरणमा परिणत गर्न सकिनेछ कि सकिँदैन भन्ने नै मुख्य चुनौती हो । अहिले जनताले हरेक जेन-जी नेतृत्वको कदमलाई नजिकबाट हेर्दैछन् । यस्तो अवस्थामा जेन-जी नेतृत्वले बोलिने हरेक शब्द र चालिने हरेक कदममा गम्भीरता अपनाउन जरुरी छ । किनभने अलिकति पनि असावधानीले आन्दोलनको प्राप्ति गुम्ने सम्भावना हुन्छ । त्यसैले यो आन्दोलनले जितेको अवसरसँगै ठूलो जिम्मेवारी पनि बोकेको छ ।
जेन-जी आन्दोलन केवल काठमाडौंको प्रदर्शन मात्र होइन, देशभरका ७७ वटै जिल्लाका युवाको आक्रोश र अभिभावक पुस्ताको समर्थनको परिणाम हो । यदि यो आन्दोलनले सर्वव्यापकता बिर्सियो भने इतिहासमा अरू आन्दोलनले भोगेका जस्तै विफलता भोग्नुपर्ने हुन्छ । किनभने इतिहासले देखाएको छ- आन्दोलनले आफ्ना आधार र मूल उद्देश्य बिर्सिँदा अर्को आन्दोलनले त्यसको स्थान लिन्छ । त्यसैले जेन-जी आन्दोलनले सचेत, सावधान र व्यवस्थित यात्रातर्फ मोडिन जरुरी छ । यो आन्दोलन केवल केही युवाको क्षणिक आक्रोश थिएन, एक पुस्ता र एक युगको चेतनाको पुनर्जागरण थियो । र, हो पनि । यसले भ्रष्टाचार, असमानता, बेरोजगारी र बेथितिविरुद्धको सामूहिक आवाजलाई संस्थागत दृष्टिकोणमा रूपान्तरण गर्न खोजेको छ । त्यसैले अबको प्रश्न हो- सडकपछिको यात्रा कस्तो हुन्छ ? विद्रोहलाई दीर्घकालीन संस्थागत रूपान्तरणमा रूपान्तरण गर्ने समय यही हो ।
सडकमा आवाज उठाउन सजिलो हुन्छ । तर आवाजलाई नीति र प्रणालीमा बदल्न कठिन हुन्छ । अब जेन-जीले भावनात्मक विद्रोहबाट नीतिगत र संस्थागत यात्रातर्फ मोडिनुपर्छ । आन्दोलनले पुरानो राजनीतिक अभ्यासलाई हल्लायो । तर नयाँ शासन-दर्शनको रूपरेखा अझै स्पष्ट छैन । त्यसैले अब यसलाई एउटा योजना र कार्यबीचको पुल बनाउन जरुरी छ । जसले आन्दोलनको मूलभाव बोक्नेछ । आन्दोलन पीडा, भावना र क्रोधबाट जन्मिन्छ । तर स्थायी परिणाम रणनीतिले ल्याउँछ । त्यसैले जेन-जीले अब आफ्नो माग, उद्देश्य र कार्ययोजना स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ । अब प्रश्न ‘केका विरुद्ध लड्दैछौं ?’ होइन कि ‘केका लागि लड्दैछौं ?’ भन्नेमा हुनुपर्छ । आक्रोशले बाटो खोल्छ । विचारले दिशा दिन्छ ।
युवामा दलप्रतिको अविश्वास बढ्नु स्वाभाविक हो । तर विरोधको अन्त्य वैकल्पिक प्रणाली निर्माणले मात्र हुन्छ । जेन-जीको लक्ष्य सत्ता कब्जा होइन, वैकल्पिक शासन-दर्शनको निर्माण हो । स्वतन्त्र युवासञ्जाल र नागरिक अभियन्ताहरूबीच एकता कायम गर्नुपर्छ । सामाजिक सञ्जाललाई व्यङ्ग्यको माध्यम होइन, राजनीतिक शिक्षा र बहसको मञ्चमा रूपान्तरण गर्नुपर्छ । तथ्य-आधारित संवाद, नागरिक प्रस्ताव र डिजिटल सचेतनाको संस्कृति विकास गर्नुपर्छ ।
जेन-जीको बल प्रविधि हो । तर त्यो डिजिटल प्रभाव सामाजिक रूपान्तरणमा परिणत हुनुपर्छ । फेसबुक वा टिकटक वा अन्य सामाजिक सञ्जालमा मात्र विरोधले ध्यान त आकर्षित गर्छ । तर स्थायी परिवर्तनका लागि गाउँ–गाउँसम्म पुग्नुपर्छ । अनलाइन अभियानसँगै भौतिक उपस्थितिलाई सशक्त बनाउने जिम्मेवारी पनि जेन-जीकै हो । स्वतन्त्र पत्रकारिता, तथ्य-जाँच र वैकल्पिक मिडिया निर्माण त्यसैको भाग हुन् ।
जेन-जी विद्रोहको मूल जरो बेरोजगारी र अवसरको अभाव हो । त्यसैले अबको केन्द्रीय एजेन्डा ‘शिक्षा र रोजगारी’ केन्द्रित हुनुपर्छ । युवाहरूको विदेश पलायन जसरी पनि रोक्नुपर्छ । स्वदेशमै रोजगारको ग्यारेन्टी गर्नुपर्छ जेन-जी सरकारले । हरेक शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउँदै, उद्यमशीलतालाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ । रोजगार खोज्ने होइन, सिर्जना गर्ने सोचलाई सामाजिक आन्दोलन बनाउनुपर्छ । यो कार्यभार जेन-जीले मात्र पुरा गर्न सक्छ ।
राज्यको नीति सुधारका लागि दबाब बढाउनुपर्छ । शिक्षा, अनुसन्धान र युवा-उद्यममा लगानी बढाउने माग निरन्तर उठाउनुपर्छ । साथै यो आन्दोलनले सांस्कृतिक प्रश्न पनि उठाएको छ- के पुरानो मूल्य आजका युवाका लागि उपयुक्त छन् ? त्यसैले नयाँ सांस्कृतिक चेतनाको बीउ रोप्नुपर्छ । लैङ्गिक, जातीय र वर्गीय समानताको व्यवहारिक अभ्यास गर्नुपर्छ । जसले सबैखाले विभेदको अन्त्य र मानवीय मूल्यको निर्धारण गर्छ ।
आजको युगको प्रमुख युद्धभूमि सूचना र मिडिया पनि हो । दल-नियन्त्रित मिडियाले आवाज दबाउने अवस्थामा जेन-जीले वैकल्पिक मिडिया नेटवर्क बनाउने बेला आएको छ । स्वतन्त्र अनलाइन पोर्टल, नागरिक पत्रकारिता र अनुसन्धान केन्द्रहरू स्थापना गर्नुपर्छ । विचार नेतृत्वको अभ्यास र सार्वजनिक जबाफदेहिताको संस्कार युवामार्फत नै स्थापित हुनुपर्छ । यसमा जेन-जी नेतृत्वले पहलकदमी लिनुपर्छ ।
परिवर्तन संसदबाट मात्र होइन, गाउँ र वडाबाट सुरु हुन्छ । किनभने जनसंख्या तल्लो स्तरमा छन्, पुरानो दल र नेताको विकृत रूप तल्लै दृष्टिगोचर छ । त्यसैले जेन-जी आन्दोलन, संगठन र परिवर्तन पनि त्यही केन्द्रित गर्न जरुरी छ । किनभने लोकतान्त्रिक व्यवस्थामा जनताको मत नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यो मत जेन–जीले कब्जा गर्न सक्नुपर्छ । हरेक स्थानीय तहमा नागरिक सचेतना र खबरदारी कार्यक्रम सञ्चालन, स्थानीय बजेट निगरानी समूह र भ्रष्टाचारविरुद्ध पारदर्शिता अभियान सुरु गर्नुपर्छ । साँचो लोकतन्त्र जनता जहाँ छन् त्यहीँबाट सशक्त हुन्छ, राजधानीबाट होइन ।
विद्रोहले पुराना र नयाँ पुस्ताबीच दूरी बढाएको छ । तर स्थायित्वका लागि संवाद अपरिहार्य छ । पुरानो पुस्ताका इमानदार नेतासँग नीति र मूल्यमा सहकार्य सम्भव छ । अन्तरपुस्तीय सहकार्य बिना कुनै पनि आन्दोलन दीर्घकालीन हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय सञ्जालमा पनि जेन–जीको सहभागिता जरुरी छ । दक्षिण एसियाली युवासञ्जाल र प्रवासी नेपाली समुदायसँग नीति, लगानी र विचारको सहकार्य गर्न सक्नुपर्छ ।
आन्दोलनले आत्म–समीक्षा नगरेसम्म दीर्घकालीन सफल हुन सक्दैन । जेन–जीले निरन्तर मूल्यांकन गर्नुपर्छ—के आन्दोलन जन–केन्द्रित छ वा नेतृत्व–केन्द्रित ? के सन्देश स्पष्ट छ ? के गलत सूचनाले आन्दोलन कमजोर बनाइरहेको त होइन ? नेतृत्वहरू त्याग, समर्पण गर्ने खालको छ कि अति महत्वकांक्षी र अवसरवादी खालको छ ? यी प्रश्नका जवाफ खोज्दै स्वच्छ, अनुशासित र दीर्घकालीन अभ्यासको बाटो रोज्नुपर्छ । जसले जेन–जी आन्दोलनको जीवन निर्धारण गर्छ । र, दीर्घकालीन बनाउँछ ।
अन्ततः जेन–जी बलियो बन्न, दलभन्दा माथि नागरिक शक्ति निर्माण गर्न जरुरी छ । युवाद्वारा सञ्चालित नीति अनुसन्धान संस्था, सामाजिक समस्या निगरानी र प्रतिवेदन प्रणाली, दीर्घकालीन नागरिक नीति आन्दोलन- यी नै आगामी यात्राका स्तम्भ हुन् । यदि विद्रोहको ऊर्जा संस्थागत नागरिक आन्दोलनमा रूपान्तरण गर्न सकियो भने त्यो स्थायी शक्ति हुनेछ ।
किनभने अब भनिनुपर्छ-हामी पीडित होइन, देश पीडित छ । देशलाई न्याय चाहिएको छ । जेन-जीको लक्ष्य व्यक्तिगत असन्तुष्टि होइन, सामूहिक पुनर्जागरण हो । त्यसैले यतिबेला जेन–जी आन्दोलनको भविष्य तीन शब्दमा निर्भर छ- संगठन र दर्शन, दृष्टि र निरन्तरता, परिवर्तन र आन्दोलनको निरन्तरता । संगठनले ऊर्जा दिन्छ, दर्शनले दृष्टि बदल्छ, दृष्टिले दिशा दिन्छ र आन्दोलन र आन्दोलनको निरन्तरताले परिवर्तनलाई स्थायित्व दिन्छ । यदि यो पुस्ताले आफ्नो आक्रोश र सपना दुवैलाई नीति र संस्थामा परिणत गर्न सक्यो भने भविष्यका इतिहासले लेख्नेछन्- नयाँ युगको नाम थियो- जेन-जी विद्रोह ।

Leave a Reply