
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ का जन्मिएका टिकाराम घिमिरे दृष्टिविहीन छन् । तर उनको देख्न नसक्ने आँखाले कहिल्यै जीवनका सपनालाई रोक्न सकेन ।
बरु, जो–कोही सामान्य अपाङ्गता वा कठिनाइका कारण जीवन निराश देख्छन् वा बाटो छोड्छन्, उनीहरूको लागि टिकाराम एक प्रेरणादायी उदाहरण बनेका छन् । दृष्टिविहीन भएर पनि उनले रेडियोमा १२ वर्षसम्म कार्यक्रम चलाए, समाचार लेखे, साहित्य पढे, प्रविधिको प्रयोग गरे, देशका प्रमुख पत्रपत्रिका पढेर अपडेट भए । अनि जब सञ्चार कर्म मात्रले गुजारा चलाउन सकेन, उनले शिक्षक सेवा आयोगको कठिन परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक बन्न सफल भए ।
उनको सङ्घर्ष, धैर्य र आत्मविश्वास साँच्चिकै अभूतपूर्व छ । एक दृष्टिविहीन व्यक्ति दैनिक आठ किलोमिटर पैदल यात्रा गरेर उच्च शिक्षा हासिल गर्छ भन्ने कुरा आफैँमा प्रेरणादायी हो । उनले यसरी स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे । पढाइमा मात्र नभई जीवनका हरेक क्षेत्रमा चुनौतीलाई अवसरमा बदल्ने उनको शैली अरूका लागि ‘झापड’ जस्तै छ ।
जो मानिस स–साना कठिनाइलाई बहाना बनाएर अगाडि बढ्दैनन्, उनीहरूलाई टिकारामले आफ्नो जीवनमार्फत देखाएका छन्, कठिनाइलाई जित्न सकिन्छ, सङ्घर्षले लक्ष्य पूरा गर्न सकिन्छ ।

टिकाराम घिमिरे सञ्चारकर्मीका रूपमा परिचित थिए । रेडियो लुम्बिनीसहितका रेडियो स्टेसनमा उनी १२ वर्षसम्म सक्रिय रहे । समाचार वाचनदेखि बहस–विचार सञ्चालनसम्म उनले सहजतापूर्वक गर्न सक्थे । देख्न नसक्ने आँखाले रोक्न नसकेको उनको आत्मविश्वासले उनलाई सञ्चारकर्मीको क्षेत्रमा कुशल बनायो । रेडियो कार्यक्रम सञ्चालनका क्रममा उनले कला, साहित्य, समाज, राजनीति र वातावरणजस्ता गम्भीर विषयमा गहिरो तयारीसहित प्रस्तुत गर्न सक्थे । उनले तिलोत्तमा एफएममा स्टेशन म्यानेजर बनेर डेढ वर्ष चलाए ।
पढाइ र तयारीका लागि उनले प्रविधिको प्रयोगलाई विशेष माध्यम बनाए । दृष्टिविहीन भएकाले पुस्तक पढ्न सक्दैनन् भन्ने सामान्य सोचलाई उनले गलत साबित गरे । ‘मोबाइल, कम्प्युटर र सफ्टवेयरको भरपुर प्रयोग गरेँ, पुस्तक खोजी खोजी आफ्नो शैलीले पढ्थेँ, समाचार सुन्थे, विभिन्न सामग्री पढ्थेँ । यसरी देश–विदेशका राजनीतिक घटनाक्रमदेखि साहित्यिक गतिविधिसम्म अपडेट रहन सकेँ ।’ उनले आफ्नो सङ्घर्ष स्मरण गर्दछन् ।
तर सञ्चार कर्मले मात्र जीवन धान्न गाह्रो भयो । रेडियोमा निरन्तर काम गरे पनि पर्याप्त पारिश्रमिक नपाएपछि उनले अर्को विकल्प खोजे । यसरी उनले शिक्षक सेवा आयोगको कठिन प्रतिस्पर्धात्मक परीक्षा दिए र सफल पनि भए । अहिले उनी रुपन्देहीकै दक्षिण मर्चवारस्थित विद्यालयमा स्थायी शिक्षक छन् । मर्चवारीको बगौली माध्यमिक विद्यालयमा उनले अध्यापन गर्दछन् ।
तर, उनको चुनौती अझै समाप्त भएको छैन । उनको घर तिलोत्तमामा हो भने विद्यालय दक्षिण मर्चवारतिर परेकाले उनलाई दैनिक १०० किलोमिटरभन्दा बढी दूरी तय गर्नुपर्छ । दृष्टिविहीन भएकाले यो यात्रा सहज छैन । सहकर्मी ज्ञानसिंह राणाको सहयोगमा मोटरसाइकलमा यात्रा गर्ने गर्छन्, जसले उनलाई विद्यालयसम्म पुर्याउँछन् र फर्काउँछन् ।
दैनिक यति लामो यात्रा गर्नु आफैँमा ठूलो साहस हो । यो सोच्दा नै थकाइ लाग्छ तर टिकारामलाई भने आफ्नो पेशाप्रतिको प्रतिबद्धताले नै अघि बढाउँछ । ‘मेरो यो पीडा कसैगरी व्यक्त गर्न सकदैन, गर्मी, चिसो, धुलो सबै झेलेर १ सय किलोमिटर यात्रा गर्नुपर्छ त्यो पनि अरुको सहायतामा । आफ्नो साधन सम्भव नहुँदा राणा सरले मलाई यसरी साथ दिनुभएको छ’ उनले भने–‘पत्रकारिता गर्दा सबैका पीडाका विषयमा, अन्यायको विषयमा लेखियो, बोलियो तर आफ्नो पीडा कसलाई भन्ने ?’

उनले भनेका छन्–‘जान्न र सिक्न कहिले थाक्नुहुन्न म थाकेको छैन म एक वर्षदेखि मर्चवारीमा शिक्षण पेशामा संलग्न छु । त्यहाँको समाज समुदाय शिक्षाको अवस्थालाई नजिकबाट बुझ्ने सिक्ने अवसर प्राप्त गरिरहेको छु । घरबाट आउन जान अप्ठ्यारो भएपछि म १९ दिन मर्चवार बसेँ । नानी सानो र बुवा घरमा एक्लै हुनुभएकाले परिवारलाई लगेर जान सकिन त्यही दिनबाट ममा पेटको समस्या देखियो । तत्कालै उपचारका लागि चारवटा सुई लगाउनुपर्यो ।’
‘म भाग्यमानी भन्नुपर्छ मेरो विद्यालयमा शङ्खनगरबाट जाने आदरणीय ज्ञानसिंह राणा सर हुनुहुन्छ जसले मलाई दिनहुँ १०० किलोमिटर मोटरसाइकलमा पछाडि राखेर ल्याउनुहुन्छ मेरो दिनहरु कति कठिनका हुन सक्थे तपाईँ कल्पना मात्रै गर्नुहोस्’ घिमिरेले भने– ‘ज्ञान सर नहुनुभएको भए तपाईँ कल्पना गर्नुहोस् एउटा दृष्टिविहीनलाई मोटरसाइकलमा पछाडि राखेर जाँदा ५० र आउँदा ५० किलोमिटर मोटरसाइकल चलाउँदा ज्ञान सरको हालत के भइरहेको होला समाजमा मानवताको खडेरी परिरहेका बेला सरले ममाथि देखाउनुभएको सहयोगी भावनाको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यसैले समस्या सबैलाई सुनाइसकेको छु । अब सुनुवाइ हुने नहुने मेरो बसको विषय होइन । म कर्म गरिरहनेछु । तपाईँ मलाई आशीर्वाद दिइरहनुस् है ।’
टिकारामको संघर्षबारे बुटवलका शिक्षक युवराज कँडेलले भनेका छन्, ‘सामान्य शारीरिक अपूर्णतालाई पनि बाधा ठान्नेहरूको लागि टिकाराम प्रेरणा हुन् । उनले दैनिक ८ किलोमिटर पैदल यात्रा गरेर स्नातकोत्तर तहसम्म पढे । कुशल सञ्चारकर्मी भएर १२ वर्ष रेडियोमा कार्यक्रम चलाए । प्रविधि प्रयोग गरेर पढाइ गरे । किताब सुने, समाचार बुझ्ने गरे । उनी कला, साहित्य, राजनीति, वातावरण, समाज सबै विषयमा अपडेट छन् ।’
युवराज कँडेलको भनाइले स्पष्ट हुन्छ- टिकाराम केवल शिक्षक वा सञ्चारकर्मी मात्र होइनन्, उनी एउटा उदाहरण हुन् । उनले आफ्ना आँखाले संसार देख्न सकेनन्, तर हृदय र बौद्धिक क्षमताले संसार बुझ्न सके ।
टिकारामको सङ्घर्षले राज्यलाई पनि गहिरो प्रश्न सोधेको छ । एक दृष्टिविहीन शिक्षकलाई सरकारले सहज ठाउँमा नियुक्त गर्न सक्दैन भने राज्यको सामाजिक न्याय र समानताको दाबी कत्तिको यथार्थ छ भन्ने प्रश्न उठ्छ । उनले नियुक्ति पाउनुअघि नै बारम्बार माग गरे, आफूलाई सहज ठाउँमा राखिदिन आग्रह गरे, तर सुनुवाइ भएन । अब उनी स्थायी शिक्षक भइसकेका छन्, तर अझै पनि दिनहुँ कठिन यात्रा गर्न बाध्य छन् ।

‘यो स्थितिमा राज्यले टिकारामजस्ता शिक्षकलाई सहज र उपयुक्त स्थानमा काम गर्ने व्यवस्था मिलाउनु पर्छ । उनीजस्ता अपाङ्गता भएका नागरिकलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । किनकि, उनीहरूको चुनौती सामान्य नागरिकको भन्दा धेरै गुना बढी हुन्छ भनेर सुझाव दिनेहरू धेरै छन् तर कार्यान्वयन निकायमा रहेकाहरूले यो विषय बुझ्न सकेको देखिएन’ कँडेलले भने ।
टिकारामको जीवन कथा हामीलाई के सिकाउँछ भने— अपाङ्गता कुनै पनि काममा अवरोध होइन, अवरोध त केवल सोचाइ हो । उनले दृष्टिविहीन भएर पनि सञ्चारकर्मी, शिक्षक र समाजका सचेत नागरिकको भूमिका निर्वाह गरिरहेका छन् । उनले अरूलाई प्रेरित गरिरहेका छन् ।‘ अपाङ्गता कमजोरी होइन, साहस र दृढताले जीवनको बाटो सजिलो बनाउँछ ।’ घिमिरेले भने ।
टिकारामजस्ता व्यक्तिलाई सहज र सम्मानजनक वातावरण दिन राज्य र समाज कतिसम्म उत्तरदायी हुन्छन् ? यदि उनीहरूलाई सहयोग गरियो भने उनीहरूले समाजलाई अझ धेरै दिन सक्छन् । तर, यदि बेवास्ता गरियो भने उनीहरूलाई अझै कठिन जीवन बिताउन बाध्य पारिन्छ।
यस कारण, हामी सबैले टिकारामको सङ्घर्षलाई बुझ्नुपर्छ । समाज, राज्य र नागरिक सबै मिलेर उनलाई सहज वातावरण सिर्जना गरिदिनुपर्छ । सकेसम्म उनको कार्यक्षेत्र नजिकै बनाउनुपर्छ, सहयोग गर्नुपर्छ । किनकि टिकाराम केवल एक दृष्टिविहीन शिक्षक होइनन्, उनी असङ्ख्य अपाङ्गता भएका नागरिकहरूको सपना र आशा हुन् ।

Leave a Reply