
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १० का सरोज शर्मालाई सस्तोमा सुन बेच्ने बहानामा जङ्गलमा बोलाएर हत्या गरेको खुलेको छ ।
साथीले नै सुन किन्ने बाहानमा जङ्गलमा बोलाएर हत्या गरेको खुलेको हो । कार्त्तिक ९ गतेदेखि हराएका शर्माको शव हिजो बिहान बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाको बिचमा पर्ने बिरिंग खोला बगरमा गाडिएको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हिजो नै दुई जनालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले शर्माको हत्या सोही ठाउँका २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । हत्यामा संलग्न सुनिल सरोजका साथी हुन् ।
हत्यामा संलग्न राहुल भने सुनिलका भान्जा पर्छन् । शर्माको हत्यामा संलग्न अर्का एक जना भारतीयसमेत रहेको खुलेको छ । उनी फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शर्मा काठमाडौँ बस्दै आएका थिए । शर्माले केही महिना अघि सुनिललाई सस्तोमा सुन पाए आफूले पनि किन्ने बताएका थिए । यस्तै काठमाडौँमा चिने जानेका मानिसलाई पनि सुन किनाइदिने सुनिल साहालाई बताएका थिए ।
अनुसन्धानका क्रममा एक महिना अघि सुनिल साहलाई शर्माले सुन किन्ने बताएसँगै पैसा लुट्ने योजना बनाएर शर्माको हत्या गरेको खुलेको छ ।
पत्रकार सम्मेलन गर्दै झापा प्रहरीले शर्मालाई सुन बेच्ने बहानामा बोलाएर हत्या गरेको जनाएको छ । शर्मा कार्त्तिक ९ गतेबाट हराएका थिए । शर्मालाई सुनिलले बोलाएका थिए । उनले आफूहरूले सुन ल्याएको भन्दै देखाउनका लागि जङ्गलमा बोलाएको खुलेको प्रहरीले जनाएको छ । जङ्गलमा बोलाएर हथौडा प्रहार गरी हत्या गरेको देखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
उनले भने, शर्मालाई सुन देखाउने बाहानमा जङ्गलमा बोलाएर हतौडा प्रहार गरी हत्या गरेको खुलेको छ । हत्या पछि उनीहरूले शर्माकै गाडीमा शवको व्यवस्थापन समेत गरेको देखिन्छ ।सरोजले सुन किन्न ल्याएको पैसा लुट्नका लागि जङ्गलमा बोलाएको देखिन्छ ।
खड्काले भने, विवाद भएपछि सुनिल साहाका नाताले भान्जा पर्ने राहुल र अर्का एक भारतीय नागरिक मिलेर हत्या गरेको देखिएको छ । हत्या गरेपछि शर्माकै बा प्र ०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरेर उनको शव झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको प्रहरीले जनाएको छ ।
कात्तिक ९ गतेबाट हराएका शर्मा फेला नपरेपछि उनका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । खोजतलाशको क्रममा शर्माको गाडी कात्तिक १३ गते मेचीनगर १३, सिमसार क्षेत्रमा जलिरहेको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका सुनिलले शर्मालाई आफूले भारतबाट सुन ल्याएको र गाडेर राखेको भन्दै मृतक शर्मालाई अर्जुनधारा ४ स्थित दहिझोडा सामुदायिक बन पु¥याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

Leave a Reply