
काठमाडौं । फ्लाई नेपा ट्राभल्सले गायिका एलिना चौहानलाई अनावश्यक अफवाह नफैलाउन र अन्याय महसुस भएको भए कानुनी बाटो अपनाउन अनुरोध गरेको छ । विज्ञप्तिमार्फत् फ्लाई नेपाले अन्यायमा परेको भए उचित माध्यमबाट निकास निकाल्न एलिनालाई अनुरोध गरेको हो ।
‘अब गाउँछ अमेरिका’ कार्यक्रमअन्तर्गत कलाकारसँग सहकार्य गरेको तर करारका सर्तहरुविपरीत एलिनाले कार्यक्रम गरेकाले उनीसँगको करार रद्द गरिएको फ्लाई नेपाले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कलाकार पक्षले करारमा रहेबमोजिम साथ दिनुपर्ने र आयोजकले पनि करारमा रहेबमोजिम सेवा सुविधा दिनुपर्ने दुवै पक्ष जानकार हुँदै लगभग धेरै कार्यक्रम सफल भइसकेको थियो । तर केही स्थानमा कार्यक्रम बाँकी हुँदा कलाकार एलिना चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको भेटिएपछि बाँकी कार्यक्रम रद्द भएर नेपाल फर्किनु परेको हो ।’
यदि करार रद्द भएको विषयमा चित्त नबुझेको भए कानुनी उपचारमा जान एलिनालाई आग्रह गरिएको छ । अमेरिकामा रहेकी एलिना केही दिन अघि आयोजकसँगको विवादका कारण आफैं टिकट काटेर नेपाल फर्केकी थिइन् ।
आफूलाई नोकर झैं व्यवहार गर्दै आयोजकले दुर्व्यवहार गरेको एलिनाको आरोप थियो । साथै आयोजकले महँगोमा टिकट बेचेर आफूहरुलाई २० प्रतिशत मात्रै दिएर ८० प्रतिशत रकम आफैं राखेको उनको दाबी थियो ।
तर, आयोजकले भने एलिनाको आरोपलाई ‘अफवाह’ को संज्ञा दिएको छ । यो बीचमा एलिनाले राप्ती सेवा समाज, न्युयोर्कमा गएर निजी तवरबाट कार्यक्रममा सहभागी भएको र २५०० डलर लिएको रिसिप सार्वजनिक भएको छ ।
आयोजकसँग समन्वय नगरी एलिना राप्ती सेवा समाजको कार्यक्रममा गएपछि फ्लाई नेपासँग मनमुटाव सुरु भएको बताइएको छ । यसपछि एलिना नेपाल फर्केकी थिइन् । फ्लाई नेपाका सञ्चालक विनोद अधिकारी हुन् ।

Leave a Reply