
काठमाडौँ । युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ । आइतबार राति ब्ल्याक सीस्थित रुसको तुआप्से पोर्टमा ठूलो असर परेको बताइएको छ । आगलागीबाट रुसी तेल टर्मिनल ठूलो असर परेको छ । रुसी हवाइ सुरक्षा दलको दावी अनुसार उसले १६४ वटा युक्रेनी ड्रोनलाई हावामा नष्ट गरिदिएको छ ।
रुसी समाचार एजेन्सीको रिपोर्टअनुसार आइतबार राति युक्रेनबाट गरिएको आक्रमणका क्रममा सो परिमाणको ड्रोन रुसले नष्ट गरेको हो ।
युक्रेनी ड्रोन आक्रमणले रातभरि रूसको प्रमुख कालो सागर (ब्ल्याक सी) बन्दरगाह टुआप्सेको एक प्रमुख तेल टर्मिनलमा रहेको ट्याङ्कर र पूर्वाधारमा क्षति पुर्याएको र आगजनी गरेको दक्षिणी क्षेत्र क्रास्नोडारका अधिकारीहरूले आइतबार बताएका छन् । रोयटर्सका अनुसार रूसको कच्चा र परिष्कृत उत्पादनहरूको दक्षिणी आउटलेटमा आक्रमण गरिएको हो । जसले रुसको निर्यात प्रवाहमा धक्का दिने खतरा बढाएको छ ।
क्रास्नोडार प्रशासनले टेलिग्राम म्यासेजिङमा उल्लेख गरेअनुसार तुआप्सेमा यूएवी (मानवरहित हवाई वहान) को जवाफी आक्रमण गरिएको छ ।
यो आक्रमण युक्रेनको सैन्य रसदमा बाधा पुर्याउने तीव्र अभियानको एक अङ्ग हो । मानवीय क्षतिको कुनै रिपोर्ट आइसकेको छैन । कुन बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको हो भन्ने पनि स्पष्ट जानकारी आएको छैन ।
क्रास्नोडार क्षेत्र प्रशासनले ड्रोनको भग्नावेशेष खस्दा बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको र आगलागी भएको बताएको छ । बन्दरगाहमा टुआप्से तेल टर्मिनल र रोसनेफ्ट नियन्त्रित टुआप्से तेल रिफाइनरी रहेको छ । यस वर्ष युक्रेनी ड्रोनहरुले दुवै साइटहरुलाई धेरै पटक निशाना बनाएका छन् ।
रुसी पावर ग्रिडमा भएको आक्रमणको बदला लिन किभ (युक्रेन) ले रुसी रिफाइनरी, डिपो र पाइपलाइनहरूमा आक्रमणहरु तीव्र पारेको छ । यी आक्रमणहरु इन्धन आपूर्तिमा दबाब दिन, सैन्य रसदमा बाधा पुर्याउन र रुसको युद्धकालीन खर्च बढाउने उद्देश्यले गरिएको बताइएको छ ।
क्रास्नोडार प्रशासनका अनुसार ड्रोनको भग्नावशेषले टुआप्से बाहिरको सोस्नोभी गाउँमा रहेको एउटा अपार्टमेन्टमा क्षति पुर्याएको छ । यद्यपि त्यहाँ कुनै चोटपटक लागेको रिपोर्ट गरिएको छैन ।

Leave a Reply