बिहार निर्वाचन : भाजपा सांसद तिवारीमाथि आक्रमण

काठमाडौं । भारतीय जनता पार्टीका सांसद मनोज तिवारीमाथि शनिबार बिहारको बक्सरमा आक्रमण भएको बताइएको छ । बिहार विधानसभा चुनाव लक्षित सडक र्‍याली गरिरहेका अवस्थामा उनीमाथि आक्रमण भएको हो ।

तिवारीका अनुसार उनीमाथि राष्ट्रिय जनता दल (राजद) का समर्थकले आक्रमण गरेका हुन् । राजदका कार्यकर्ताहरू र्‍यालीलाई पछ्याउँदै आएको बताएका छन् । तिवारीले भने, ‘हामीले बक्सरको डुुमराँवमा एउटा कार्यक्रम गरेका थियौं । राजदका कार्यकर्ताले ममाथि आक्रमण गरे, म हैरान छु । पहिले त उनीहरुले हाम्रा लागि हुटिङ गरे र कसैले हाम्रो गाडीमा राजदको झण्डा लगाउने प्रयास गरे ।’

उनले भने, ‘जब हामीले विरोध गर्‍याैँ,  उनीहरुले हामीलाई कुल्चने प्रयास गरे र तथानाम गाली गर्न थाले । घटना स्थलबाट बच्नका लागि हामीले सवारीलाई चाँडो अगाडि बढाउन अनुरोध गर्‍याैँ । तर उनीहरुले हाम्रो गाडीमाथि लाठी बर्साए र हामीलाई त्यहाँबाट भाग्न बाध्य बनाए ।’

सांसद तिवारीले घटनामा संलग्नलाई कारबाही गर्न चुनाव आयोग समक्ष अपिल गरेको टाइम्स  अफ इण्डियाले उल्लेख गरेको छ । सांसद तिवारीले भने, ‘म चुनाव आयोग र प्रशासन साथै महागठबन्धनका नेताहरुसँग अपिल गर्छु, चुनावी कार्यक्रममा यो कस्तो व्यवहार हो ? यो एउटा गम्भीर अपराध हो । हामीले उजुरी गरेका छौं, एसपीसँग पनि कुरा गरेका छौं, आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्छ ।’

पटनाका वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) कार्तिकेय शर्माका अनुसार प्रहरीले मोकामा निर्वाचन क्षेत्रबाट जनता दल (युनाइटेड) का उम्मेदवार अनन्त कुमार सिंहलाई शनिबार राति पक्राउ गरेको बताएका छन् । पक्राउ परेका सिंहमाथि जन सुराज समर्थक दुलारचन्द यादवको हत्यामा संलग्न रहेको आरोपपछि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

गत ३० अक्टोबरमा बिहार विधान सभा प्रचारका क्रममा मोकामामा दुई गुटबीच गोली हानाहान भएको थियो । उक्त घटनामा जन सुराज समर्थक दुलारचन्द यादवको मृत्यु भएको थियो । प्रहरीका अनुसार अनन्त सिंहसँगै उनका दुई साथी माणिकान्त ठाकुर र रन्जित रामलाई समेत नियन्त्रणमा लिइएको छ । तीनै जनालाई मजिस्ट्रेटसामु पेश गरिने छ ।

बिहारमा २४३ सिटका लागि विधान सभाको चुनाव हुँदैछ । दुई चरणमा हुने मतदान ६ नोभेम्र र ११ नोभेम्बरमा हुने छ । मतगणना १४ नोभेम्बरमा हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *