ट्राफिक बिट भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने, बालेन किन गर्दैछन् जबर्जस्ती ?

काठमाडौं । थापाथलीस्थित राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन काठमाडौं महानगर प्रहरीको टोली डोजर लिएर पुगेको छ । तर, प्रहरीले उक्त भवन भत्काउन नदिने बताएको छ । मेयर बालेन साहले पनि प्रहरी बिटहरू भत्काउने विषयमा सम्वद्ध अधिकारीसँग कुनै समन्वय नगरेको ती अधिकारीले बताएका छ्न् ।

उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले यो ठाउँ गुठीबाट २०३२ सालमा पाएकाले भत्काउन नदिने बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो । त्यसै हामी बसेका हैनौं । अरु घर टहरा के हुन्छ मतलबको विषय भएन । तर, हाम्रो कार्यालय भत्काउन दिँदैनौं ।’

नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर बालेन साहको आदेश कार्यान्वयन गर्ने भन्दै जबर्जस्ती गरेको आरोप छ । यसअघि नगर प्रहरीले बालुवाटारको प्रहरी बिट पनि २४ घण्टाभित्र खाली गर्न अल्टिमेटम दिइसकेको छ । त्यो २४ घण्टा पनि आजै पुग्दैछ ।

काठमाडौं जिल्ला प्रह‍री प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले कुनै पनि समन्वय नगरेको बताए ।

सम्पदा क्षेत्रमा संरचना बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाउन लागेको हो । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *