क्यारेबियन सागरमा अमेरिकाको सैन्य कारबाही, लागूऔषधविरुद्ध भएको ट्रम्प प्रशासनको दावी

काठमाडौं । अमेरिकी सेनाले क्यारेबियन सागरमा अर्को एउटा सैन्य हमला गरेको छ । हमलामा परी तीन जना लागूऔषध तस्कर मारिएको रक्षा मन्त्री पीट हेगसेथले सोसल मिडियामार्फत जानकारी दिएका छन् ।

उनका अनुसार अमेरिकाले आतंककारी घोषित गरेको संगठन उक्त जहाजमा थिए । तर उनले कुन चाहिँ संगठन हो भन्ने खुलाएका छैनन् । सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले लागूऔषध तस्करविरुद्ध पूर्वी प्रशान्त क्षेत्रमा पर्ने क्यारेबियन सागरमा गरेको यो १५औं हवाई आक्रमण हो ।

रक्षा मन्त्री हेगसेथले मादक पदार्थको तस्करीमा संलग्न उक्त जहाजका बारेमा गोप्य जानकारी प्राप्त भएको बताएका छन् । उनका अनुसार तस्करीका लागि कुख्यात मार्गबाट नाउ अगाडि बढेको जानकारीपछि कारबाही गरिएको हो । उक्त नाउमा ठूलो मात्रामा लागूऔषध रहेको थियो ।

हालसम्म अमेरिकी कारबाहीमा न्युनत्तम ६४ व्यक्तिको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमण जायज भएको बताएका छन् । यो कारबाही अमेरिकामा लागूऔषधको आपूर्ति रोक्न आवश्यक रहेको उनको भनाइ थियो । ‘अमेरिकका ड्रग कार्टेल्सका विरुद्ध सशस्त्र संघर्षमा छ ।’ ट्रम्पले कानूनी अधिकार प्रयोग गरेर कारबाही चलाएको बताएका छन् । ट्रम्प प्रशासनले उक्त क्षेत्रमा युद्धपोतको सङ्ख्या बढाएको छ । अमेरिकाले लागूऔषधविरुद्धको कारबाही तीव्र गतिमा अघि बढाएको उल्लेख गरेको छ ।

भेनेजुएलाको विरोध

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सैन्य कारबाहीको विरोध गरेका छन् । उनले यो सैन्य अभियान ट्रम्पको अस्थिर प्रशासनको गोप्य उदाहरण भएको बताएका छन् ।

उनका अनुसार हालसम्म ट्रम्प प्रशासनले आक्रमण गरिएको नाउ ड्रग कार्टेलसँग सम्बन्धित भएको प्रमाणित गर्न सकेको छैन । साथै मारिएका व्यक्तिको पहिचानसमेत खुलाउन सकेको छैन ।

ट्रम्प प्रशासनको सैन्य अभियानका विरुद्ध विरोध बढ्दै गएको छ । डेमोक्रेटिक सांसदहरुले कंग्रेसको सहमतिबिना नै ट्रम्पले कारबाही गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो । सिनेटको सशस्त्र बल समितिका सदस्य रिचर्ड ब्लुमेन्थलले यस प्रकारको सैन्य कारबाहीको विस्तार गरिनु लापरवाही हो भनेका छन् । उनले अमेरिकी सेनाको राजनीतिक उपयोग गरिएको बताएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले युद्धको घोषणा नगरेको स्पष्ट पारेका छन् । उनले भन्दै आएका छन्– ‘जसले अमेरिकामा ड्रग्स भित्र्याउँछ, उनीहरूलाई हामी सिध्याइदिन्छौं ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *