
बझाङ। भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेपछि रवीन्द्र ढाँट एकाएक चर्चामा आए । यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर हुन् ।
बझाङ वित्थडचिर गाउँपालिका–४ का रवीन्द्र काठमाडौं हुँदै भारत पुगे । त्यहाँ प्रशिक्षण गरे र उपाधि जिते । यता गाउँमा रहेका उनका बुवा हरे ढाँट छोरोको प्रगति र सङ्घर्षदेखि निकै प्रफुल्ल छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर, प्रदेश सभा सदस्य दमन भण्डारी लगायत रवीन्द्रको घर पुग्दा पनि बुवाले छोरोको सफलता र सङ्घर्षका कथा सुनाएका थिए ।
भेटका क्रममा महरले पनि रवीन्द्रको उपलब्धि र साहसप्रति प्रशंसा व्यक्त गरे । ‘रवीन्द्र देश र राष्ट्रको छोरा हुन्, उनी हाम्रो सम्पत्ति हुन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो पारेका छन् । उनी अझ राम्रो गर्छन् भन्ने विश्वास छ’ महरले रवीन्द्रको बुवालाई भने ।
महर र रवीन्द्रको पनि काठमाडौंमा पनि संवाद र भेटघाट भएको थियो । उनले खेलकुदको माध्यमबाट देशलाई चिनाउनेहरूलाई प्राथमिकता दिँदै थप प्रशिक्षणको लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए ।
‘उनी आफ्नै गाउँ ठाउँको भाइ हुन् भन्नेमा मलाई गर्व छ । रवीन्द्र जस्ता प्रतिभाशाली युवाको साथ र समर्थनमा हामी सधैँ रहन्छौँ ’ महरले भने ।
‘रवीन्द्रको प्रयासमा देशभरबाट साथ र माया मिलिरहेको छ । तपाईँहरू जस्ता नेताले पनि सधैँ हौसला र साथ दिनुहुने छ भन्ने अपेक्षा छ’ घरमै पुगेका महरलाई धन्यवाद दिँदै उनका बुवाले भने ।

Leave a Reply