
रूपन्देही । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको र आमालाई गम्भीर चोट लागेको छ ।
प्रहरीका अनुसार म्यालका २३ वर्षीय भोटबहादुर विकले आफ्नै बुवा करिब ५० वर्षीय धनबहादुर बिक र आमा करिब ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रो प्रहार गरेका हुन् । सो क्रममा बुवा धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जनाएका छन् ।
घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी अर्खवाङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा अर्को टोली समेत खटिएको गुल्मी प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपी छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ती युवकको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घाइते आमाको अवस्था गम्भीर रहेको छ ।
धनबहादुरका छिमेकीसमेत रहेका वडा सदस्य सूर्यबहादुर थापाका अनुसार त्यो घरमा ९० वर्षकी हजुरआमासहित रहेका थिए । धनबहादुर र दिलमायाका दुई छोरामध्ये जेठो छोरा हुन् भोटबहादुर । अर्को भाइ घरमा थिएनन् ।
‘मानसिक रूपमा बिरामी थिए, तर चार दिनयता अलिक बढी मात्तिएका थिए, शनिवार यस्तो घटनाले गाउँमै त्रास बढायो, घरमा बुवाआमालाई हानेर पल्टाएपछि नजिकै रहेको दिदीको घरमा पुगेर भान्जा र ससुरालाई मार्ने भन्दै पुगेका रहेछन्, भान्जालाई हाने पनि धेरै लागेन ससुरा भनी भागेर जोगिए’ उनले भने –‘यस्तो वितण्डा भएपछि गाउँका सबैलाई त्रास भयो, म आफै घाइतेलाई बोकेर तम्घास पुगेको हुँ, आज बुटवलको अस्पतालमा टाउकोको उपचार गराउने कुरा छ, आमा खतरामुक्त रहेको सूचना पाएको छु ।’

Leave a Reply