रूकुमपूर्वमा अटो दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

रूपन्देही । रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिवार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिवार साँझ लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । अटो चालक भूमे-१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेकोमा आज बिहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काक्री र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली खटिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भनिने सबिता घर्तीको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

दुर्घटनामा परेर घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्तीको भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *