डराउँदै गुण्डु पुगेपछि अनि मैले सम्झिएँ एमालेका ‘तरमारा’

काठमाडौँको बागबजारबाट कोटेश्वरसम्मको यात्रा तय गरिरहँदा मनमा एक प्रकारको पीडा र आँतेसको बाडुल्की मडारिइरहेको थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) जस्ता महत्त्वपूर्ण निकाय आगोका लप्काले बिटुल्याएको दृश्य उराठलाग्दो थियो ।

जेन-जी आन्दोलन पछि भएका वर्षाले धेरै पटक पखालिएको भएपनि मनको अन्तर- कुन्तरमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको सडक कलिला विद्यार्थीको रगतका टाटाले कटकटिए झैँ लागिरहेको थियो ।

तिहारको टिका लगतै उराठिला परिदृश्यको सम्मुखबाटै मनमा उद्वेलित तरङ्गलाई जोड्दै- जोड्दै म भक्तपुरको गुन्डुमा रहेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदै थिएँ ।

माहौल यस्तो बनाइएको छ कि, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु अपराध हो । काठमाण्डौका सडकमा कटकटिएका रगत र भग्नावशेष भवनहरूको एक मात्र कारक केपी शर्मा ओली हुन् । प्रहरीको हातै समाएर केपी शर्मा ओलीले गोली हान्न लगाएका हुन् । भवनहरूमा आगो झोस्ने पनि केपी ओली नै हुन् ।

दोष जति केपी शर्मा ओलीलाई थोपरेर सत्ता साझेदारी गर्ने, अवसरको दुरुपयोग गर्ने, शक्तिमा हुँदा ढोके र हुक्के बन्दै अघिपछि गर्ने पृष्ठ भूमिका सुन्ड– मुसुन्डहरु चाहिँ सरक्क पन्छिन् मिल्छ ? यो त राजनीतिक बैमानीमात्र हो ।

यी र यस्ता बेतुकका आरोपको भाष्य स्थापित गर्न फरक पार्टी मात्र हैन एमालेकै असली भनिने कतिपय नेता– कार्यकर्ता पनि उद्धत छन् ।

०००

भदौ २३ र २४ गतेको जेन- जी आन्दोलनको क्रममा भएका हत्या र आगजनीको नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीले पनि लिनुपर्छ भन्ने कुरामा म स्पष्ट छु । केपी शर्मा ओलीको केही स्वभाव– शैलीसँग मेरो पनि असहमति छ । तर जेन- जी आन्दोलनको दोषी केपी शर्मा ओली मात्र हैनन् ।

मुलुकको विकास र समृद्धिको सपना अनि योजना भएका नेता केपी शर्मा ओली नै हुन भन्ने कुरामा म स्पष्ट छु । राष्ट्रियताको सवालमा केपी शर्मा ओलीको चट्टानी अडानसँग म नतमस्तक छु ।

भदौ २३ र २४ गतेको जेन- जी आन्दोलनमा भएका विध्वंसको सबै दोषजति केपी शर्मा ओलीलाई थोपरेर सत्ता साझेदारी गर्ने, अवसरको दुरुपयोग गर्ने, शक्तिमा हुँदा ढोके र हुक्के बन्दै अघिपछि गर्ने पृष्ठ भूमिका सुन्ड- मुसुन्डहरु चाँहि सरक्क पन्छन मिल्छ ? यो त राजनीतिक बैमानी मात्र हो । अहिले त्यही राजनीतिक बेइमानीकै कारण जेन- जी आन्दोलनको चक्रब्युहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोडेर अरू सबै पाखा लागेका छन् ।

सत्य, तथ्य र निष्पक्षको अकाट्य सिद्धान्तका अनुयायी पत्रकार र केही ठूलो भनिएका मिडिया हाउसहरू पनि छानबिन आयोगको प्रतिवेदन समेत पर्खन नसक्ने तहमा पुगेर भीडको आस वा त्रासमा केपी शर्मा ओलीलाई नै पूर्ण रूपमा दोष दिई रहेका छन् ।

जेन– जी आन्दोलनका अभियन्ताहरूले उठाएको मुख्य माग सुशासन हैन ? मुलुकलाई भ्रष्टाचारको दलदलमा होम्ने काम कहिले देखि भएको हो ? यसको कारक नेता, कार्यकर्ता, कर्मचारी, सामाजिक अभियन्ता को को छन् ? खोजी हुनुपर्छ कि पर्दैन ? भदौ २३ र २४ गतेको विध्वंसात्मक विस्फोटनको पृष्ठभूमिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी, रास्वपा, राप्रपा सबै समावेश छन् ।

०००

राणा शासन र पञ्चायती व्यवस्थालाई छोड्ने हो भने पनि २०४६ सालपछिका हरेक सरकारमा अहिलेका दरिएका दलमा आबद्ध नेता- कार्यकर्ताले नै तर मारेको देखिन्छ । पृष्ठभूमिमा कर्मचारी, पत्रकार, गैर सरकारी संघ- संस्था, उद्योगी- व्यवसायीहरूको समेत प्रतिनिधित्व भएकै हो ।

अनि मुलुकमा सुशासन कायम गर्न अघिल्ला सरकारले गरेको गैर कानूनी कामको छानबिन हुनुपर्छ कि पर्दैन त ? कि केपी शर्मा ओली र रमेश लेखकलाई दोष थोपरेर बाँकी सबैलाई शुक्राचार्य ऋषिको कुण्डमा रहेको अमृत छर्किएर आजाद गरिदिने हो ? सवाल त अहिलेको जेन- जी आन्दोलन पछि बनेको सरकारका मन्त्रीहरूको बारेमा पनि उठेको छ !

०००

अहिले केपी शर्मा ओलीलाई दोषारोपण गर्ने हुलमा जेन- जी अभियानका अभियन्ता पछि एमालेकै केही नेता- कार्यकर्ता मिसिएका छन् । अन्य राजनीतिक दल र जेन- जी उमेर समूहका केही युवाहरूले समेत राष्ट्रिय अखण्डता र विकासका लागि केपी शर्मा ओली समेतको सहमति र सहकार्यमा राजनीतिक कोर्ष अघि बढ्नुपर्छ भनिरहँदा एमालेका यी तरमारा नेता- कार्यकर्ताको आरोप सहितको तर्क, बहस र विवादको तुक कति ? भन्ने मापनको बेला भएको छ ।

केपी शर्मा ओलीलाई दोषी र निरङ्कुश देख्ने एमालेका नेता– कार्यकर्तालाई थाहा छ, पार्टीको सचिवालयमा कति जना नेताले ओलीको गतिविधि र कार्यशैलीको विरोध गरे वा असहमति जनाएर राजीनामा गरे ? कति जनाले गल्ती– कमजोरी औँल्याउँदै आलोचना र सुझाव दिए ?

समय क्रममा मुलुक राजनीतिक खिचातानी, भ्रष्टाचार, नातावाद- कृपावाद, शक्तिको दुरुपयोग जस्ता बेथितिको अवस्थामा पुगेकै हो । धेरै नेपालीले विश्वास र भरोसा गरेको मुख्य राजनीतिक दलका नेताहरूले यो कुरालाई मलजल पुग्ने गरी गतिविधि गरेकै हुन् । तर यसको दोषी केपी शर्मा ओली मात्र हैनन् ।

केपी शर्मा ओलीलाई दोषी र निरंकुश देख्ने एमालेका नेता– कार्यकर्तालाई थाहा छ, पार्टीको सचिवालयमा कति जना नेताले ओलीको गतिविधि र कार्यशैलीको विरोध गरे वा असहमति जनाएर राजीनामा गरे ? कति जनाले गल्ती- कमजोरी औँल्याउँदै आलोचना र सुझाव दिए ? ओली शक्तिमा हुँदा विरोधको बोली नफुटाउने, बरु आफ्नो दुनो सोझो पार्न थप उत्तेजित बनाउने नेताजनले अहिले चाहिँ ओरालो लागेको मृगलाई खेदेझै सामाजिक सञ्जालमा तथानाम फुँदा-टुक्का अलाप्नुको कुनै अर्थ रहँदैन ।

०००

भदौ २३ र २४ गतेको जेन- जी आन्दोलन र त्यसबाट उत्पन्न दुःखद सङ्कटको दोषी, ओलीलाई खेद्ने नाममा सामाजिक सञ्जालमा फुँदा-टुक्का अलाप्ने र परिस्थितिलाई थप उत्तेजित बनाउने एमालेकै धेरै नेता-कार्यकर्ता पनि हुन् । आफूलाई अब्बल ठान्ने पत्रकार र केही ठूला मिडिया हाउसहरू पनि हुन् । नेपाली भनाई हेक्का राखौँ- एउटा औँलाले अरूलाई देखाउँदा चारओटा औला आफैतिर तेर्सिएको हुन्छ ।

२०४६ यताका हरेक घट्नाको र भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ । दोषी देखिए केपी ओली पनि सजायको भागीदार हुनुपर्छ, हैन भने धमिलो पानीमा माछा मार्न छोडेर म र मेरो स्वभाव कस्तो छ, यसले सुशासन र विकास अभियानमा फाइदा- बेफाइदा के छ स्व-मूल्याङ्कन गरौँ । असल स्वभावलाई निरन्तरता दिँदै, खराब स्वभाव परित्याग गरौँ । सुशासन कायम गर्न अरू केही गर्नै पर्दैन ।

०००

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग तिहार लगतै भएको भेटमा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश पाण्डे र युवा व्यवसायी श्यामसुन्दर सिवाकोटी पनि सँगै थिए । भेटमा मैले राजनीतिक कुरा गरिन, जेन– जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा पनि छलफल भएन ।

सत्तामा भएका बेला जसले भेटे, जसले स्वार्थ पुरा गरे, उनीहरूले नै ओलीको सार्वजनिक आलोचना गरे । आगोमा घिउ थपे । त्यतिबेला जसले भेटेनन् वा भेट्न पाएनन्, उनीहरू अहिले भेटिरहेका छन् । पछिल्लो परिघटनामा ओली मात्र दोषी हैनन् भनेर प्रतिरक्षा गरिरहेका छन् । यही हो सत्यको लडाई !

किनभने म यो विषय केपी शर्मा ओलीसँग मात्र जोड्न चाहन्न । यो विषयको बहस हामीले मुख्य दलका शीर्ष नेतृत्वसँग गर्न जरुरी छ । घट्नाको पृष्ठभूमिमा केपी शर्मा ओली देखिएको भए पनि पानीको मुहान धमिलो पार्न नेता-कार्यकर्ता, हामी सबै संलग्न छौ ।

मैले अध्यक्ष ओलीसँग दोलखाको सांस्कृतिक पर्यटकीय केन्द्र भीमेश्वर, कालिञ्चोक, महाङ्काल भगवती, देउलाङ्गेश्वर महादेव, गाईखुरा महादेव, त्रिपुरासुन्दरी लगायतको बारेमा चर्चा गरेँ, प्राकृतिक केन्द्र चरिकोट, जिरी, शैलुङ, ऐतिहासीक दोलखा सहर, च्छो- रोल्पा हिमतालको विषयमा बहस गरेँ, चीनसँगको फलाक र लप्ची नाका, हाईड्रोपावर, बन पैदावारको विषयमा कुराकानी गरेँ । किनभने उनले राजनीति भन्दा विकासको बारेमा चासो दिएका थिए ।

मैले ओलीसँगको भेटको फोटो सामाजिक सञ्जालमा राखेको छु । धेरैले भेटलाई सकारात्मक ठानेका छन् । केहीले आलोचना पनि गरेका छन् । म दुवै कुराको सम्मान गर्छु । मेरो भेट कुनै स्वार्थ प्रेरित हैन । उनी प्रधानमन्त्री भएको बेला मैले भेट्न चाहिन । भेट्न चाहेको भए पनि त्यो बेला सायद मेरो पहुँच पुग्दैन थियो होला ।

भेट्न किन चाहिन भने मलाई कुनै स्वार्थ लिनु नै थिएन । सत्तामा भएका बेला जसले भेटे, जसले स्वार्थ पुरा गरे, उनीहरूले नै ओलीको सार्वजनिक आलोचना गरे । आगोमा घिउ थपे । त्यतिबेला जसले भेटेनन् वा भेट्न पाएनन्, उनीहरू अहिले भेटिरहेका छन् । पछिल्लो परिघटनामा ओली मात्र दोषी हैनन् भनेर प्रतिरक्षा गरिरहेका छन् । यही हो सत्यको लडाई !

म जेन– जी पुस्ताको कदर गर्छु । उनीहरूले उठाएको सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक सुरक्षा जस्ता विषयको सम्मान र समर्थन गर्छु । भदौ २३ र २४ को अत्यासलाग्दो घट्नाको आलोचना र भर्त्सना गर्छु । मानवहत्या र सरकारी तथा सार्वजनिक निजी सम्पत्तिको नोक्सानी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने विषयमा एकमत छु । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै दोष थोपरेर घट्नाको निष्पक्ष छानबिन हुन्छ र परिणाममुखी नतिजा आउँछ भन्ने कुरामा म सहमत छैन ।

पछिल्लो बेथितिको सटिक र सत्य नतिजा खोज्ने हो भने राज्यको सबै तह, राजनीतिक दलको नेतृत्व तथा विभिन्न सामाजिक संस्था, सार्वजनिक जिम्मेवारीमा रहेका हरेक नागरिकलाई केन्द्रमा राखेर छानबिन गर्नुपर्छ भन्ने मेरो अकाट्य मत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *