
काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको एकता विवादका कारण विभाजित भएको नेकपा एसको झलनाथ–घनश्याम पक्षमा विघटित प्रतिनिधिसभाका चार सांसद खुलेका छन् । त्यसमध्ये दुई जना अहिले धुम्बाराही, सुकेधारामा जारी भेलामै उपस्थित छन् ।
पार्टीको पुस्तान्तरणसहित पुनर्गठनको अडानका कारण माओवादी केन्द्रसँगको एकतामा सरिक नभएको उक्त समूहको भेलामा बाराका सांसद कृष्णबहादुर श्रेष्ठ (किसान) र दैलेखका अम्बरबहादुर थापा उपस्थित भएका छन् ।
कार्यव्यस्तताका कारण डोटीका सांसद प्रेम आले पार्टीको बैठकदेखि आजको भेलासम्म उपस्थित हुन नसकेको भनी खबर पठाएका छन् । शुक्रबारको बैठकमा एकतामा सरिक नहुने पक्षमा खुलेका बाजुराका सांसद भानुभक्त ढकाल अस्वस्थ्यताका कारण आजको भेलामा छैनन् । तर, आले र जोशी उक्त समूहमै रहेको दावी एक नेताले गरेका छन् ।
दुबैतिर नखुलेकामध्ये डोल्पाका सांसद धनबहादुर बूढा मगरले व्यक्तिगत व्यस्तताका कारण भेला, बैठकमा सहभागी हुन नसकेको बताएका छन् । नेपाल प्रेसले सम्पर्क गर्दा आफू कतातिर लाग्ने भन्नेबारे केही निर्णय नलिएको र धेरै साथी जता जान्छन्, त्यतै जाने बताए । ‘म अहिलेसम्म माधव नेपालको पार्टीको सांसद हो, भोलि के हुन्छ, भन्न सकिँदैन’, उनले भने ।
नेपालतिर रहेका पूर्वसांसदमध्ये स्वयं नेपालसहित धादिङका राजेन्द्र पाण्डे, सल्यानका प्रकाश ज्वाला, अछामका शेरबहादुर कुँवर, दाङका मेटमणि चौधरीले प्रष्टसँग नेपाललाई साथ दिइरहेका छन् । बीचमा प्रतिनिधिसभा पुन:स्थापना भइहालेमा आउनसक्ने समस्यालाई दृष्टिगत गर्दै झलनाथ–घनश्याम पक्षले ती सांसद सुरक्षित राखेको हो ।
विद्यमान कानूनी व्यवस्थाअनुसार संसदीय दल विभाजनका निम्ति ४० प्रतिशत सांसद आवश्यक पर्छ । झलनाथ–घनश्याम पक्षले संसदीय दल विभाजन हुने स्थितिलाई अहिल्यै सुरक्षित गरेको उक्त समूहका एक नेताले बताएका छन् ।

Leave a Reply