
काठमाडौं । चन्द्रसूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।
पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा पदम खतिवडा र सौरमराज तुलाधरलगायतले आज संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झण्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।
उनीहरूले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, डकैती, चोरीलगायत घटनामा पक्राउ परेकाले राष्ट्रिय झण्डा ओढेर झण्डाको दुरुपयोग गरेका भन्दै यसरी दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने मागसमेत गरे ।
राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आह्वान गर्दै अपिलमा लेखिएको छ, ‘राष्ट्रिय झण्डा हाम्रो एकताको प्रतीक हो, आफ्ना विचार तथा मुद्दा स्थापित गराउन राष्ट्रिय झण्डा प्रयोग गर्नु किमार्थ झण्डाको सम्मान गरेको र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ राखेर राष्ट्रिय झण्डाको प्रयोग गर्ने कार्यलाई निषेध गरिनुपर्छ, आफ्नो निहित मुद्दा स्थापित गर्न राष्ट्रिय झण्डा देखाएर, झण्डा अगाडि सारेर जनतालाई भावनात्मक रूपमा बहकाउमा पार्नु अनैतिक हो ।”

Leave a Reply