
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्र र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकतालाई अनुमोदन गरेको छ।
बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सार्वजनिक गर्दै पार्टी अध्यक्ष नेपालले उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको जानकारी दिएका हुन्।
अध्यक्ष नेपालले बैठकमा पार्टी एकता, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीति सम्बन्धी बुँदागत प्रस्तावहरू प्रस्तुत गरेका थिए। उनका अनुसार, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित करिब ६० नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखे पनि, बहुमतले माओवादी केन्द्र र नेसपासँगको एकता अनुमोदन गरेको हो।
बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीभित्र अनुशासन, एकता र उदारताको महत्त्व जोड दिए। उनले भने– ‘बैठकको कुरा बैठकभित्रै राखौँ, बाहिर लेख्ने–बोल्ने काम नगरौँ। जे गर्दा पनि छुट दिने उदार पार्टी हाम्रो हो। राष्ट्र र पार्टीका सामु ठुला चुनौती छन्, तर हामीले सबैलाई राम्रोसँग बुझेका छौँ, नाडी छानेका छौँ।’
नेपालले विगतको राजनीतिक यात्राको स्मरण गर्दै भने, ‘राजतन्त्र फाल्न सकिँदैन भन्नेहरू थिए, तर हामीले आट गरेर राजतन्त्र फाल्यौँ। विगतमा नेताहरू लोकप्रिय छैनन् भन्ने हल्ला चलाइयो, तर हामीले लुम्बिनीमा ठूलो सभा गरेर त्यसको जवाफ दिएका छौँ।’
उनले जनतालाई निराश नहुन आग्रह गर्दै थपे, ‘अहिले पनि निराश हुनुपर्ने बेला छैन। जनताले साथ दिए शक्ति बढ्छ, जनताको विश्वास जित्नुपर्छ। दुई तिहाइ बहुमत पनि हामीले ल्याएका थियौं, तर नेतृत्व गलत भएर धेरै कुरा बिग्रियो।’
नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शासनलाई जनअसन्तुष्टिको कारण बताउँदै भने, ‘ओलीको कुशासनले जेन–जी आन्दोलन जन्मियो, त्यो विस्फोट भयो। मलाई त्यो आन्दोलनबारे थाहा पनि थिएन। पछि थाहा भयो, विदेशीहरूले लामो समयदेखि योजना बनाएका रहेछन्।’
उनले भने– ‘जेनजीले हामीलाई विदा होऊ भनेको छैन। तर नमरुन्जेल नेतृ्त्वमा बस्न दिने प्रणाली चाहिँ गलत हो, त्यो महाधिवेशनबाट परिवर्तन गर्नुपर्छ।’
नेपालले कम्युनिस्ट पार्टीहरूमा पनि नेतृत्वमा बस्ने मोह गहिरो रहेको उनले टिप्पणी गरे। उनले भने–‘जति अशक्त भए पनि नेतृ्त्वमा बस्नैपर्ने मोह मसालमा छ, नेमकिपामा छ, माओवादी केन्द्रमा पनि छ। तर उमेरले सबै कुरा तय गर्दैन, विचार गतिशीलता छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो।’
उनले आफ्नो र पार्टीको छवि एमाले र अन्य नेताहरूको भन्दा माथि रहेको दाबी गर्दै भने, ‘हाम्रो छवि एमाले र नेताहरूको भन्दा माथि छ।‘
अध्यक्ष नेपालले आफूविरुद्ध दायर पतञ्जलि जग्गा प्रकरणबारे प्रष्ट पारे। उनले भने, ‘पतञ्जलिको केस भ्रष्टाचारको होइन, आरोपपत्रमा त्यो कुरा छैन। मैले एक कठ्ठा सरकारी जग्गा तलमाथि गरेको छैन। भूमी ऐनले हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिन्छ। त्यो निजी जग्गा हो, कुनै छुट दिएको छैन, कर तिरेको छ।’
उनले थपे– ‘अख्तियारले छानबिन गरेर केही छैन भनेर तामेलीमा राखेको मुद्दा ओलीको स्पेशल आदेशमा जबरजस्ती ल्याइएको हो। ओलीको बदला भावले त्यो भएको हो।’ नेपालले आफूलाई समर्थन गर्ने कानुनी समुदाय र मधेसका नेताहरूलाई धन्यवाद दिँदै भने, ‘विभिन्न पार्टीका वकिल साथीहरूले ढाडस दिए, सिंगो मधेसका नेताहरूले मलाई साथ छन् भनेर हौसला दिनुभयो।’
उनले आफ्नो राजनीतिक स्थायित्वबारे स्पष्ट सन्देश दिँदै भने, ‘म मैदान छाडेर भागेको होइन। ओलीको चाहना मलाई धपाउने थियो, तर म नबिराएँ नडराएँ। मेरो शिर ठाडो छ। कुनै स्वदेशी वा विदेशी शक्तिले मलाई डोमिनेट गर्न सकेको छैन, सक्दैन पनि।’
अध्यक्ष नेपालले भ्रष्टाचारका आरोप अस्वीकार गर्दै भने, ‘मन्त्री बनाएको बापत, राजदूत बनाएको बापत वा अन्य कुनै कारणले पनि मैले एक पैसा घुस लिएको छैन। पदको मोह नभएको मान्छे हुँ म। विगतमा पनि मैले राजीनामा दिएको छु।’
उन भनेका छन् –‘माओवादी केन्द्रसँगको एकता अभियान अहिले होइन, धेरैअघिदेखि चलिरहेको हो। यो सुटुक्क वा व्यक्तिगत रूपमा भएको होइन, सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार, वार्ता टोली बनाएर बकाइदा अघि बढाइएको हो।’
नेपालले एकता दायरालाई फराकिलो बनाउने संकेत पनि दिए। उनले भने, ‘यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादवसँग पनि एकता हुन्छ। विप्लव समूहसँग पनि संवाद भइरहेको छ। जेन–जी आन्दोलनका केही प्रतिनिधिहरू पनि वार्तामा आउन खोजिरहेका छन्।’
अन्त्यमा उनले भने, ‘मैले प्रचण्डलाई ३६–४० वर्ष भयो, नेतृ्त्व छोड्नोस् भनेको छु। म पनि संसार घुम्न चाहन्छु, नेतृ्त्वमा बस्दिन। विप्लवलाई हाम्रो ढोका अझै पनि खुला छ। मैले उनलाई महासचिव हुनुस् भनेको थिएँ, उहाँले मान्नुभएन।’
नेपालले आगामी राजनीतिक अभियान एकता, जनविश्वास र राष्ट्रिय स्वाभिमानका आधारमा अघि बढ्ने संकेत गर्दै आफ्नो सम्बोधन टुंग्याए।

Leave a Reply