
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग आफूले संवाद गर्ने बेला अझै नभएको प्रष्ट पारेकी छन् ।
प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले ती शीर्ष नेताले चुनावअघि नै आफैँ दलको नेतृत्वबाट बहिर्गमन भइदिए हुन्थ्यो भन्ने आशय प्रकट गरिन् ।
प्रधानमन्त्रीले शीर्ष नेतासँग संवाद नगरी कसरी चुनावको वातावरण बन्छ भन्ने प्रश्नमा कार्कीले उनीहरूले नै दलभित्र निकास दिएर समयको आवाज बुझ्नुपर्ने बताइन् । कार्कीले शीर्ष नेतासँग भेट्न आफूलाई मन पनि नभएको र जेनजीहरुको अंकुश रहेको समेत प्रष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले आन्दोलन के भनेर भएको थियो र युवाको माग के थियो भन्ने नेतृत्वले बुझ्नुपर्ने र दलहरूभित्र पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताइन् । यद्यपि शीर्ष नेताले भेट्न चाहेमा स्वागत नै गर्ने उनको भनाइ छ । यद्यपि उनीहरूलाई भेट्न जेनजीहरुबाट अवरोध रहेको भने उनले स्वीकार गरिन् ।

Leave a Reply