
रूपन्देही । ने.क.पा. (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजनीति नेतृत्वको लागि उमेर हदको विषय विश्वमा कतै नभएको बताएका छन् ।
शुक्रबार बुटवलमा पत्रकारले सिंहलाई प्रश्न गरे– कहिलेसम्म तपाईं नेतृत्वमा रहने ? ८३ वर्षका चित्रबहादुर केसीलाई राष्ट्रिय जनमोर्चाको अध्यक्ष कहिलेसम्म बनाइरहनुहुन्छ ?
जवाफमा सिंहले तर्क गरे, ‘त्यो त व्यक्तिको कृयाशीलतामा निर्भर रहन्छ । विश्वका धेरै देशहरूमा वृद्ध उमेरसम्म पार्टीको नेतृत्वमा रहेको उदाहरण छन् । अस्वस्थ भए काम गर्न नसके वा अन्य नेता कार्यकर्ताले नपत्याए फरक कुरा हो तर सकृय रहँदासम्म छाड्नुपर्ने कतै उदाहरण छैन । नेतृत्व गर्न नसक्ने, जिम्मेवारी पूरा गर्न नसक्ने र कार्यकर्ताले पत्याउन नसक्ने भए छिटो छाड्ने हो ।
सिंहले उमेरलाई मात्र आधार बनाउने सोच गलत भएको बताए । उनले नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारिता नै मुख्य मापदण्ड हुनुपर्ने बताए ।
नेता सिंहले बाम एकता अहिलेको आवश्यकता भए पनि अहिले त्यो वातावरण बनिनसकेको बताए । माओवादीसहितका विभिन्न कम्युनिस्टहरू एकताको अभियानमा लागेको बेला विचार मिल्नेहरूसँग सहकार्य गरेर जान सकिने भए पनि सिंहले हाल वातावरण बन्न नसकेको बताए ।
उनले आगामी निर्वाचनमा एकल उम्मेदवारी दिने रणनीति पार्टीको रहे पनि आवश्यकताको आधारमा सहकार्य हुने बताए ।
९० वर्षीय मोहनविक्रम सातौंपटक मसालको महासचिव चयन, ५२ वर्षदेखि निरन्तर नेतृत्वमा
सिंहले अमेरिकी रणनीतिमा जेन–जी आन्दोलन हिंसात्मक भएको आरोप लगाए । देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकता उनले प्रश्न उठाए ।
इमानदार र निश्कलंक नेतृत्व रोज्न उनले नागरिकलाई आग्रह गरे । केही समयअघि सार्वजनिक भएका नेता सिंहले शुक्रबार बुटवलमा प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष्कर्षसहितका विषय सार्वजनिक गरे । पार्टीले पास गरेका नीतिसहित उनको लिखित अभिव्यक्ति अन्य नेताले पढे पनि पत्रकारले सोधेका प्रश्नको जवाफ महामन्त्री सिंहले दिएका थिए ।
देश अहिले गम्भीर राजनीतिक सङ्कटको अवस्थामा रहेको बताउँदै उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो सङ्कटमा धकेलेको बताए ।
महामन्त्री सिंहले भने, ‘देशमा फैलिएको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले जनतामा असन्तोषको विस्फोट निम्त्याएको छ ।’
सिंहले भाद्र २३ गतेको जेन–जी आन्दोलनमाथि सरकारले गरेको बल प्रयोगलाई ‘नरसंहार’ को संज्ञा दिए । उनले भने, ‘ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको छ, त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक छ ।’
उनका अनुसार आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेन–जी आन्दोलनका युवाहरूले होइन, बाह्य तत्त्वहरूले गराएका हुन् । उनले बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि भएको आक्रमणलाई पनि ‘पूर्वनियोजित षड्यन्त्र’ भएको बताए ।
सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको आरोप लगाए । उनले भने, ‘अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ।’ उनले दलाइ लामाको वक्तव्यलाई समेत त्यसको प्रमाणको रूपमा व्याख्या गरे ।
सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणालीले देशमा अस्थिरता बढाउने बताए । उनका अनुसार नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुर्याउँछ ।
सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भने, ‘देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छविका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार नेताको समर्थन हुनुपर्छ ।’
महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चालाई इमानदार र निष्कलङ्क पार्टी भएको बताए । उनले भने, ‘जबसम्म भ्रष्ट तत्त्वहरू पैसा बाँडेर चुनाव जित्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म देशको विकास सम्भव छैन ।’

Leave a Reply