
काठमाडौं । चलचित्र ‘जेरी अन टप’ १० करोड क्लबमा प्रवेश गरेको उपलक्षमा एक कार्यक्रमको आयोजना गरेर निर्माण टिमले खुसी साट्यो । अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा आयोजित कार्यक्रममा अभिनेता अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, निर्देशक सुयोग गुरुङ लगायत कलाकार थिए ।
चलचित्र निर्माण टिमले केक काटेर १० करोड क्लबमा पुगेकोमा खुसियाली बनाए । केक काटिसकेपछि पत्रकारसँग साक्षत्कार कार्यक्रम भयो । यसवेला भने अभिनेता केसी आलोचकप्रति अलि कडा सुनिए । उनले आफ्नो चलचित्रले सबै खालका आलोचकहरुलाई स्पष्ट जवाफ दिएको बताए ।
उनले भने, ‘अरुको दुःखमा मान्छेहरु सबैभन्दा धेरै खुसी हुँदोरहेछ । मैले यो कुरा मेरो क्रिटिसाइज गर्नेहरुलाई भनेको हुँ । मैले अहिलेसम्म बोलेको थिइनँ, किनभने अहिलेसम्म मेरो कामले प्रुभ गरेको थिएन । आज म बोल्दैछु, किनभने मेरो कामले बोलिसकेको छ । फिल्मले बोलिसकेको छ ।’
उनले आफूले धेरै नबोले पनि आफ्ना दर्शकहरुले आलोचकहरुसँग बोल्ने समेत बताए । साथै दर्शकहरुलाई धन्यवाद पनि दिए । अन्त्यमा उनले भने, ‘भगवानसँग मेरो एउटै मात्रै इच्छा के छ भने म जति नै सफल किन नहुँ, ममा कहिल्यै पनि अहमता नआओस् ।’
‘जेरी अन टप’ अनमोलको करियरको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यसअघि केसीको ‘ए मेरो हजुर ३’ले सात करोड हाराहारी व्यापार गरेको थियो ।

Leave a Reply