
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूले पौने ३ अर्बको भुक्तानी गरेका छन् । हालसम्म परेको कूल बीमा दाबी २३ अर्ब २३ करोड ३७ लाखमध्ये २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिब १९ अर्ब १ करोड ९४ लाख दाबी परेको थियो । जसमा २ अर्ब २७ करोड ११ लाख भुक्तानी गरिएको छ ।
यस्तै, मोटर बीमातर्फ २ हजार २७० दाबीको ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको ३६ करोड ७९ लाख दाबी रकममध्ये ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको ३८ करोड ७२ लाख दाबी रकममध्ये २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम १ करोड ६६ लाख रहेको छ ।
प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये ३१ करोड ८४ लाख भुक्तानी गरिएको छ ।
मधेश प्रदेशमा ३६७ वटा दाबीको ७० करोड ४ लाख दाबी रकममध्ये ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।
गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको ४७ करोड ४४ लाख दाबी रकममध्ये ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको ९ करोड ९९ लाख दाबी रकममध्ये ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको ३२ करोड ६० लाख दाबी रकममध्ये २ करोड ७२ लाख दाबी भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम २३ अर्ब २३ करोड ३७ लाख रहेको छ ।
जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा २ हजार ८६८ वटा पुनर्बीमा दाबीको १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी परेको छ ।

Leave a Reply