
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको दाबी गरेका छन्।
जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा बोल्ने अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा धारणा राखेको जिकिर गरे।
उनले भने, ‘सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्छ। अहिले १५ औँ महाधिवेशनमा चुनावअघि कि पछि गर्ने भन्नेमा मतभिन्नता हो। त्यसमा सम्पूर्ण पार्टी केन्द्रित होऔँ। त्यसपछि महाधिवेशन जाने कुरा गर्नुभएको छ।’
उनले विशेष महाधिवेशनको कुरा उठेपछि महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको विषयमा केही प्रश्न उठेको बताए।
आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा राखेका थिए।
बैठक भोलि दिउँसो १ बजेबाट पुनः बस्नेछ।

Leave a Reply