अति आवश्यक परेकालाई अर्को साताबाट लाइसेन्स, छपाइका लागि रकम भने अपुग

काठमाडौं । यातायात व्यवस्था विभाग अब सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने भएको छ । जेन-जी आन्दोलनमा आगजनी र तोडफोडबाट विभागको प्रिन्टरमा क्षति भएपछि लाइसेन्स छपाइ रोकिएको थियो ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच आउने साताबाट लाइसेन्स छाप्ने सहमति भएको विभागका आईटी डाइरेक्टर केशव खतिवडाले बताए ।

उनले भने, ‘आउने साताबाट अति आवश्यक परेकाहरूलाई दैनिक रूपमा ५ सय लाइसेन्स छपाइ गरेर वितरण हुनेछ । सुरक्षण मुद्रण केन्द्रले प्रति लाइसेन्स छाप्दा कर बाहेक १९५.१७ पैसा लाग्ने भनेको छ । हामीलाई मन्त्रालयले २७ करोड ६० लाख बजेट दिएको छ । त्यो बजेटले करिब १२ लाख लाइसेन्स छपाइ हुन्छ ।’

३० लाख लाइसेन्स छाप्न बाँकी भए पनि अहिले बजेट पर्याप्त नभएकाले १२ लाखमात्रै छपाई गर्ने विभागको तयारी छ ।

विभागले छाप्दै आएको लाइसेन्समा भएको १९ वटा फिचरमध्ये ४ वटा फिचर मुद्रण केन्द्रको छपाइमा हुँदैन । विभागले छापेको लाइसेन्समा प्वाल जस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने, लेखाइमा फरकपन भने थियो । अब त्यो केन्द्रले छापेको लाइसेन्समा त्यो हुने छैन ।

चिप्सको ठाउँमा क्यूआर कोर्ड प्रयोग हुनेछ । हाल लाइसेन्समा भएका केही फिचर हट्ने छन् । भने केही थप हुने छन् । विभागले प्रिन्ट गरेको लाइसेन्समा १९ वटा फिचर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *