कृषि थोक बजारको भवनमा कोशी प्रदेश सभा राख्ने तयारी

विराटनगर । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालय ध्वस्त भएपछि कोशी प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको छ ।

आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारको भवनमा प्रदेश सभा राख्ने तयारी गरेको हो ।

सङ्घीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका-१ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा बनेको सो भवनमा विराटनगरको तरकारी बजार सार्ने तयारी सहित कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण भए पनि सो भवनमा गुद्री नसरेपछि प्रयोगमा आउन सकेको थिएन । प्रदेश सरकारको आफ्नै भवन भएकाले सो स्थानमा प्रदेश सभा सार्ने तयारी भएको हो । यसका लागि बिहीबार प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले भवनको निरीक्षण र अनुगमन गरेका छन् ।

‘कृषि थोक बजारमा प्रदेश सभा सार्ने तयारी भए पनि निर्णय भने भइसकेको छैन । भदौ २३ र ३४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा पूर्ण रूपमा ध्वस्त भएको छ । सचिवालय भवन पनि ध्वस्त भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा स्थापनाको तयारी गरेको हो ।’ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले भने ।

प्रदेश सरकारले यस अघि विरेन्द्र सभा गृहमा प्रदेश सभा सार्ने तयारी गरेको थियो । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहको भाडा महँगो हुने भएपछि आफ्नै संरचनामा प्रदेश सभा राख्ने तयारी थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *